काठमाडौँ । लिग २ काे अन्तिम म्याचमा नेपालले ओमानलाई पराजित गरेर छैठौ स्थान सुरक्षित गरेको छ । सोमबार ओमानको अल अमेरतमा भएको निर्णायक खेलमा नेपालले घरेलु टोलीलाई १० रनले पराजित गरेको हो ।
नेपालले प्रस्तुत गरेको २ सय ८१ रनको लक्ष्य पछ्याएको ओमान ५० ओभरमा ६ विकेट गुमाउँदै २ सय ७० रनमा सीमित भयो । ओमानका लागि जतिन्दर सिंहले ८९ र हम्माद मिर्जाले ८७ रन बनाए पनि टोलीको हार टार्न सकेनन् ।
अन्तिम ओभरमा ओमानलाई २३ रन आवश्यक थियो । बलिङको जिम्मेवारी सम्हालेका दीपेन्द्रसिंह ऐरीले दबाब नियन्त्रण गर्दै नेपाललाई रोमाञ्चक जित दिलाएका थिए ।
नेपालका लागि ललित राजवंशी र दीपेन्द्रसिंह ऐरीले समान २/२ विकेट लिए । कप्तान सन्दीप लामिछानेले कसिलाे बलिङ गर्दै १० ओभरमा ३७ रन खर्चेर १ विकेट हात पारे । यस्तै, नन्दन यादवको नाममा १ विकेट रह्यो ।

यसअघि टस जितेर पहिला ब्याटिंग गरेको नेपालले ५० ओभरमा अल आउट हुदै २ सय ८० रन बनाएको थियो । नेपालका लागि रोहित पौडेलले सर्बाधिक ८० रन बनाए भने दिपेन्द्र सिंह ऐरीले ६९ रन, देव खनालले ५७ रन र इशान पाण्डेले २९ रन बनाएका थिए ।
बासिर अहमदले आक्रामक ब्याटिङ गर्दै ६ बलमा अविजित १७ रन बनाएका थिए । यस्तै, करण केसीले ९ रन तथा गुलशन झाले ५ रन बनाएका थिए । ओमानका लागि शाह फैसलले सर्बाधिक ५ विकेट लिए । जय ओडेड्रा ३ विकेट र समाय श्रीवास्तवले २ विकेट लिएका थिए ।
यो जितपछि नेपालले ३६ खेलमा ३० अंक हासिल गर्दै छैठौं स्थान सुरक्षित गरेको छ । त्यसैगरी ओमान भने ३२ खेलमा ३३ अंकसहित चौथो स्थानमा छ । एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता जोगाउने सम्भावनाका दृष्टिले पनि नेपालको यो सफलता महत्त्वपूर्ण मानिएको छ ।