सिन्धुली । दोस्रो शिखर ढकाल स्मृति यू–१७ टी–वान महिला तथा पुरुष राष्ट्रिय रग्बी प्रतियोगिताको उपाधि कटारी नगरपालिकाले जितेको छ । सोमबार सिन्धुलीको फिक्कल गाउँपालिकास्थित खाङसाङमा सम्पन्न फाइनल खेलमा आयोजक फिक्कल गाउँपालिकाको महिला र पुरुष टिमलाई हराउँदै कटारीले दुवैतर्फको उपाधि जितेको हो ।
महिलातर्फको फाइनल खेलमा कटारीले फिक्कललाई १–० ले हराउँदा पुरुषले पनि फिक्कलकै टिमलाई २–१ ले हरायो । उपाधिसँगै कटारीले ३० हजारसहित च्याम्पियन ट्रफी जित्यो भने उपविजेता फिक्कलले २० हजारमा चित्त बुझायो ।
यस्तै, महिलातर्फ बुढानिलकण्ठ नगरपालिकाले टोखा नगरपालिकालाई १–० ले हराउँदै तेस्रो भयो । भने पुरुषतर्फ बुढानिलकण्ठलाई अतिरिक्त समयमा पुगेको खेलमा फलको आधारमा ३–० ले हराउँदै तेस्रो भयो ।
निर्धारित समयमा दुवै टिमबाट कुनै पनि स्कोर हुन नसबेपछि अतिरिक्त समयमा धकेलिएको थियो। तेस्रो भएको दुवै टोलीले १० हजारसहित ट्रफी हात पारे । प्रतियोगितामा च्याम्पियन टिम कटारीकी सानामिका मगर महिलातर्फ उत्कृष्ट तथा पुरुषतर्फ उपविजेता फिक्कलका शिशिर ढकाल उत्कृष्ट खेलाडी घोषित हुँदै दुवै जनाले ट्रफी पाए ।
प्रतियोगितामा विजेता तथा उपविजेता खेलाडीलाई समापन समारोहका प्रमुख अतिथि नेपाल रग्बी सङ्घका अध्यक्ष दीपक देवकोटा, फिक्कल गाउँपालिकाकी अध्यक्ष तथा सङ्घकी बोर्ड सदस्य पार्वती सुनुवार, रग्बी संघको महासचिव गोविन्द घिमिरे, पालिकाका उपाध्यक्ष राजु बराल, प्रमुख प्रशासकीय अधिकृत डम्बरबहादुर राजनमगर, मधेस प्रदेश खेलकुद परिषद्का बोर्ड सदस्य निशेषकुमार श्रेष्ठ, स्वर्गीय शिखर ढकालका पिता खगेन्द्र ढकाल, सुनकोसी माध्यमिक विद्यालयका प्रधानाध्यापक लक्ष्मी घिमिरे तथा बागमती प्रदेश रग्बी सङ्घका बोर्ड सदस्य प्रकाश बराललगायतका अतिथिहरुले ट्रफी मेडल र प्रमाणपत्र वितरण गरे ।
पहिलो सेमिफाइनलमा महिला र पुरुष दुवै टिमले बुढानिलकण्ठलाई पराजित गर्दै फिक्कल फाईनलमा प्रवेश गरेको थियो । यस्तै, कटारीले महिलातर्फकै अर्को सेमिफाइनल खेलमा टोखा नगरपालिकालाई २–१ ले हरायो भने पुरुष टिमले गोलबजार नगरपालिकालाई हराउँदै फाइनलमा प्रवेश गरेको थियो । समान समारोहमा पालिकाकी प्रमुख पार्वती सुनुवारले सहभागी सबै टिमलाई धन्यवाद दिँदै यो प्रतियोगितालाई निरन्तरता दिने विश्वास ब्यक्त गरिन् ।