दोलखा जिल्लामा जन्मघर भएपनि सानैदेखि काठमाडौंमा बस्दै आएका राप्रपा (संयुक्त)का केन्द्रीय सदस्य मोहन कृष्ण गुरुङ परिवारमा बाजे, बुबाहरु आर्मी भएकाले नै आफू पनि २० वर्षको उमेरमा सेकेण्ड लेप्टनमा लडेर जागीर खाएको बताउछन् । अहिले गुरुङले जागीरबाट अवकास पाएको २२ वर्ष भयो । राप्रपा (संयुक्त)ले हिन्दु राष्ट्र र राजसंस्थाबारे जनमासलाई बुझाउन नसकेको र अर्कोतर्फ हिन्दु धर्म, राजसंस्था, राप्रपा (संयुक्त)का बारेमा अनेक नचाहिने कुरा नेता, पत्रकारलगायतले बोलिराखेकोमा चित्त नबुझेको बताउने गुरुङ जागीरबाट अवकाश पाएको धेरैपछि पार्टीमा लागेका हुन् । उनी पहिला नेता कमल थापाको पार्टीमा आवद्ध थिए । हिन्दु धर्म, राजसंस्थाको समर्थनको ओकालात गर्न पार्टीलाई घच्घच्याइ राख्ने बताउने उनै केन्द्रीय सदस्य गुरुङसँग गरिएको कुराकानी :
- तपाईंले राप्रपा पार्टी नै किन चुन्नु भएको ?
राप्रपामा यो जुनिमा पनि फाइदा हुने र अर्को जुनिमा पनि फाइदा हुने भएकोले हो । किनभने हिन्दु धर्मको, राजाको र अखण्ड नेपालको चर्चा गर्नु मन शुद्धि गर्नु अर्थात् चित्त शुद्धि गर्नु पनि हो र जसले समाजलाई समेत राम्रो हुन्छ । यसको चर्चा गर्नु भनेको देश र आत्माशुद्धि दुबैलाई फाइदा हुने भएकाले यो पार्टीमा लागेको हुँ ।
- देश संघीयतामा जानुभन्दा अगाडि हिन्दु राष्ट्र, राजतन्त्रलाई जनमत संग्रहमा लानुपर्छ भनेर तपाईंको पार्टीले आवाज उठाएन, अनि अहिले खोजेर पूरा होला त ?
खास गरी तपाईंहरुलाई थाहा छ कि छैन, गणतन्त्रको बारेमा राजसंस्थाले कहिले पनि जनतालाई विवादमा ल्याउन खोजेन । पक्ष विपक्ष राजतन्त्रले खोज्दैन । समष्टिगत रुपमा राजतन्त्र हुनुपर्छ भन्ने मात्र राजतन्त्रको धारणा हो । जनताले खोजेको राजतन्त्र नेताहरुले मान्दैनन भन्ने पनि स्वत देखियो । किनभने २०७२ सालमा संविधान बन्दाखेरी राय संकलन गर्न दुई दिन समाजमा बुझ्न जाँदाखेरी करिब ९० प्रतिशत मान्छेहरुले हिन्दु राष्ट्र हुनुपर्छ भनेकै थिए । नेताहरुले मानेको खोई त ? जनताले चाहेको हिन्दु राष्ट्र र राजतन्त्रलाई एउटा टोकरीमा लगेर फालिदिए । त्यसबेला जनताले चाहेको कुरालाई नेताहरुले बेवास्ता गरिदिए र हाम्रो पार्टीले पनि त्यसलाई बुलन्द तरिकाले आवाज उठाउन सकेन ।
- चुनावताका जनताले चाहेको हिन्दु राष्ट्रको बारेमा अहिले उठाइरहेको जत्तिको पनि आवाज नै नउठाई राप्रपा चुनावमा होमियो, आखिर अहिले चाहिँ किन पार्टीले हिन्दु राष्ट्र, राजतन्त्रको आवाज उठाइराखेको ?
पहिले म कमल थापाको पार्टीमा थिए । कमल थापा पहिले हिन्दु राष्ट्र र राजतन्त्रसम्बन्धमा लागि परेकै हो, नगरेको भने होइन । पशुपति शम्शेर जबरा र प्रकाश चन्द्र लोहनी त गणतन्त्रवादी नै थिए । पछि मात्रै उनीहरुले हिन्दु राष्ट्र चाहेको हो । कमल थापा नारामा मात्रै सिमित भए व्यवहारमा आएनन् । यदि अहिले कमल थापाले व्यवहारमा उतारेको भए, संविधानमा सहि नगरेको भए र उता सांसदहरु पारदर्शी ढंगले छानिदिएको भए अहिलेसम्म कमल थापा प्रधानमन्त्री बनिसक्ने थिए । किनकि त्यसबेला जनताले कि गाई कि दाई भनेर भोट हालेकै थिए । कमल थापा खाली नारामा मात्रै सिमित भइदिए, व्यवहारमा लागू भएनन । त्यतिबेला सांसदहरु खल्तीबाट निकालेर राखियो, कुनै पारदर्शी ढंगबाट सांसद छानिएन । एमाले र कांग्रेसले संविधान उत्कृष्ट भनेका थिएनन तर कमल थापाले उत्कृष्ट भन्न थाले । र, जनताले पनि उनलाई रुचाएनन, जनताले नरुचाएको पार्टीमा हामी लाग्नु पनि बेकार नै भयो ।
राजसंस्था मान्छेले बनाएको होइन, यो भगवानको पालादेखि चलेको हो । पृथ्वीनारायण शाह गोरखनाथ बाबा (गोरखकाली)सँग खेलेका मान्छे हुन् । गोरखकालीसँग खेलेको साथी नभएको भए पृथ्वीनारायणले २० वर्षको उमेरमा यत्रो ठूलो नेपाल अधिराज्य बनाउन सक्दैन थिए । राजसंस्थाले जहिले पनि जनता र देशलाई माया गर्नुपर्छ भावना राखेको हुन्छ । जनता र देशलाई माया गर्न राजसंस्थालाई कसैले सिकाउनु पर्दैन । अहिले पारस र ज्ञानेन्द्र सरकारको धेरै आलोचनात्मक कुराहरु हुने गर्छ । उहाँहरुको व्यक्तित्व जिवनमा जेसुकै होस तर देश र नेपाली जनतालाई माया गर्ने कुरामा २०६२/२०६३ सालमा जनताको इच्छानुसार राजसंस्था सर्लक्क छोडिदिएकै हो । त्यसकारण राजसंस्थाले नेपालको कुभलो चिताउँदैन । राजा त्रिभुवन, महेन्द्र, विरेन्द्रले गरेका क्रियाकलाप सबै जनताकै लागि हो । अहिलेसम्म राजसंस्था भएको भए नेपाल विश्वको १५ वटा धनि देशमा परिसक्थ्यो । २०४६ सालमा पनि नेपाल ६० नम्बरमा धनि देश थियो, अहिले १९५ मा पुगेको छ । अहिले विश्वको पाँचवटा गरिब देशभित्र नेपाल पर्छ । भनेपछि देश कहाँ पुग्यो ?
अहिले राम्रो भो भन्छन् तर के राम्रो भयो र ? पञ्चायत कालमा धेरै प्रगति भएको थियो, अहिले त्यहि भएको भए नेपालमा १५ हजार मेगाहर्जभन्दा बढी बिजुली, पेट्रोल खानी आदि निस्किसक्थ्यो । अरु उद्योग धन्दा कति हुन्थ्यो कति । अहिले ८० लाख नेपाली विदेशमा काम गर्न गएका छन्, उल्टो ८० लाख नेपालमा विदेशीहरु काम गर्न आउने वातावरण हुन्थ्यो र देश धनी भइसक्थ्यो । त्यसैले राजसंस्था आवश्यक छ । राजसंस्थाले मात्रै नेपालको भलो चिताउछ भनेर हाम्रो पार्टीले वकालत गरेको हो । त्यसैले राजसंस्थाको धेरै नै महिमा छ ।
- तपाईंहरु राजसंस्था, हिन्दुराष्ट्र आउनेमा विश्वस्त हुनुहुन्छ त ?
राजसंस्था नआएमा हाम्रो दुर्भाग्य हुन्छ । अहिले नेताप्रति जनताको वितृष्णाले कुनै पार्टीलाई विश्वास गर्ने वातारण छैन । कमसेकम पार्टीले देशको भलो चिताएको भए, राजसंस्था आउँदैन थियो होला । हुनत स्वयं राजाले नै राजसंस्था चाहेको होइन, राजसंस्था नेपाली जनताले चाहेको हो । राजसंस्था आउछ भन्ने भन्दा पनि वातारण बन्नु पर्यो र नेपाली जनताले आफ्नो भाग्य आफैले बनाउनु पर्यो भनेर हामीले नेपाली जनतालाई भनिराखेका छौं । राजसंस्थाबाहेक यो देशमा विकल्प छैन । अहिले नेताहरुले यो १२/१३ वर्षको अवधिमा नेपाललाई खत्तम बनाउन लागिसके । देश बिगार्न विदेशी हिसाबले संविधान नै बनाइदिए । जनताले गणतन्त्र, धर्मनिरपेक्ष र संघीयता मागेकै थिएनन् । आईएनजीओले हात हालेको कुनैपनि देश ध्वस्तै भएको छ, जुन आफगानिस्तान, इराक, सिरिया, सोमलिया आदिलाई हेर्न सकिन्छ । नेपालमात्रै कसरी बाच्यो, आश्चर्यजनक कुरा छ । मलाई लाग्छ यो पशुपतिनाथको कृपाले नै बाचेको छ । नभए यसरी बाच्ने सम्भवै छैन । देशको अहिलेको आर्थिक अवस्था हेर्ने हो भने हामी ९० प्रतिशत आयातमा निर्भर छौं, जबकि पञ्चायतको बेलामा ३० प्रतिशत मात्रै थियो । भनेपछि यसरी आयात गर्ने भएपछि नेपालले कसरी धान्छ । १६ खर्ब बजेटमा १५ खर्ब त आयातमै पैसा तिर्नुपरेको छ, यस्तो अवस्था छ । नेपाल धानेको भनेको बाउ, बाजेको इमानदारी, बफादारी नै हो नभए नेपाल सोमलियाभन्दा गए गुज्रिएको देश बनिसक्थ्यो ।
- तपाईंको पार्टीले बोकेको हिन्दु राष्ट्र र राजसंस्थाबारेको धारणाबारे प्रष्ट्याइदिनुस् न ?
म पार्टीभित्र एउटा विरोधि जस्तै छु । अहिले नेपालमा पशुपति शम्शेर र प्रकाशचन्द्र लोहनीजस्तो हाइप्रोफाइलका नेतै छैनन् । उनीहरुसँग प्रशस्त बुद्धि, धन दुबै छ । यस्तो औकात भएको मान्छेले सिद्धान्तनुसार काम गर्न सकिराखेका छैनन् । प्रकाशचन्द्र लोहनीले हिन्दु धर्म भनेको पहिचान हो, त्यसको लागि हामी लड्छौ भन्नुहुन्छ । तर म बारम्बर भन्छु जनतालाई पहिचानको मात्रै मतलब भएर हुँदैन, उनीहरुले त खान लाउन पनि खोज्छन् । हिन्दु धर्म भनेको तपाईंले जे चाहनु हुन्छ त्यहि पाउनु हुन्छ, यो जिवन पद्दती, जिवन्त हो भन्नुस अनि पो राम्रो हुन्छ भनेर पार्टीको धेरै मिटिङहरुमा आवाज उठाएको छु । उहाँहरुले राजसंस्थाको गुण गाउनु पर्यो नि ? कसैले आफ्नो सामान बेच्न चाहन्छ भने यसले यो यो फाइदा गर्छ भन्नु पर्यो नि ? अनि पो सामान बिक्छ । उहाँहरु राजसंस्था भनेको कहिले आलांकारिक संस्था, कहिले संसदले चुनेको, कहिले राजाबिनाको हिन्दु राष्ट्र भन्नुहुन्छ । अनि त्यसो भनेर कहि हुन्छ ? र, अर्कोतिर संघीयताको विरुद्धमा एकशब्द बोल्नु हुन्न । यस्तो भएपछि पार्टीले कसरी उत्थान गर्छ ? भन्ने चिन्ता लाग्छ मलाई ।
हिन्दु राष्ट्रका बारेमा सबैले जान्नुपर्ने कुरा भनेको सृष्टिको शुरुमा नेपालबाट नै धर्म प्रचार, समाज प्रचार भएको हो । हिन्दु धर्मको जतिजति ह्रास हुँदै गइराखेको छ संसारमा त्यति नै अशान्ति भइराखेको छ । हिन्दु धर्म बचाउन सक्यो भने मात्रै संसारमा शान्ति आउन सक्छ । हिन्दु धर्मले कसैलाई भेदभाव राख्दैन, सबैलाई स्वीकार्छ, सबैसँग सहकार्य गर्छ । संसारमा सबै धर्मको राष्ट्र हुने तर एउटा हिन्दु धर्मको राष्ट्र किन नहुने ? भन्ने चाहेको मात्रै हो हामीले, नभए त हिन्दु राष्ट्र हामीलाई आवश्यक छैन, हिन्दु राष्ट्रको व्यवहार मात्रै चाहिएको छ ।
- पार्टीभित्रको ढुलमुले सिद्धान्तबारे तपाईंहरु आवाज उठाउनु हुन्न त ?
पार्टीले केहि गरोस भनेर आवाज उठाइराखेको हो । पशुपति शम्शेर र प्रकाशचन्द्र लोहनी ८० वर्ष पुग्न लागिसके, राजनीति के का लागि गरेको अचम्म मान्नु पर्ने कुरा छ । देशको उन्नती, आफ्नो इतिहास लेखेर जाने कुरा त हुनु पर्यो नि, खाली एउटा पद ओगटेर मात्रै भएन । उहाँहरुको ढुलमुले नीति छ । उहाँहरुको सिद्धान्त स्पष्ट छैन र व्यवहार त झन शून्य छ । राजसंस्था, हिन्दु धर्म मान्ने भनेपछि, त्यसलाई लिएर व्यवहारमा पनि उत्रिनु पर्यो । राप्रपा(संयुक्त) व्यवहारमा उत्रिने, सिद्धान्तमा स्पष्ट हुने भयो भने यसले अब आउने चुनावमा बहुमत ल्याउछ । तर यिनीहरु डराएका छन् । अहिले पार्टीका धेरै कार्यकर्ताहरु निराशा छन् । घच्घचाएर उनीहरुको घैटोमा घाम लाग्ला कि भनेर हामी लागिपरेका छौं ।
पार्टीले अहिलेको जेनेरेशनलाई हिन्दु राष्ट्रबारे बुझाउन सक्नु पर्यो । अहिले नेता लगायतले हिन्दु राष्ट्र, राजसंस्थाबारे जतिपनि विरोधी कुराहरु गरिराखेका छन्, त्यसको चिरफार गर्न सक्नु पर्यो। असली प्रजातन्त्र राजतन्त्रमा थियो, अहिले त्यस्तो छैन । गलत प्रवृत्तिविरुद्ध कारवाही हुनु पर्यो । पञ्चायतको बेलाको एउटा उदाहरण आइजीपी डीभी लामाको कान्छी श्रीमतीले ठमेलमा एउटा साहुको घर मन पराइछन् । त्यो घर साहुलाई जत्तिनै फकाए पनि उसले त्यो घर बेच्न मानेनछन् । पछि आईजीपीले त्यो घर हडपी दिए । त्यो साहुले हारगुहार जति गरेपनि हुँदै भएन । पछि एकजनाले पत्रकारसँग गएर भन्नु न हुन्छ कि भन्ने सल्लाह दिएकाले त्यो साहुले नयाँ सन्देश भन्ने पत्रिकाका सम्पादकलाई भनेछन् । त्यसपछि ती पत्रकारले त्यो कुरा पत्रिकामा छापिदिए । पत्रिकामा समाचार छापिएपछि त्यो कुरा राजाको दरबारमा पुग्यो र राजाले तुरुन्तै आईजीपीलाई कारवाही गरेकाले साहुँको त्यो घर जग्गा फिर्ता पाए । अब अहिले हेर्नु त यहाँ सरकारी जग्गा सबै खाएकै छन् । अहिले बोलेर लेखेर कसैले न्याय पाएका छन् त ? उल्टै पत्रकारलाई मारिदिएका छन् । यस्तो अवस्था छ । त्यसकारण अहिलेको यो प्रजातन्त्र प्रजातन्त्रै होइन । राष्ट्रियता, प्रजातन्त्र, समाजवाद भनेको त पञ्चायत र राजसंस्थामा थियो । त्यसलाई राम्रो बनाएकाले राष्ट्र बलियो थियो तर अहिले त्यसलाई बिगारिदिए । त्यस्तै, त्यसबेला पनि तातोपानीको बाटो कोदाली राजमार्ग बनाउँदाखेरी भारतले बिरोध गरेको थियो । जवाहरनेरुले राजा महेन्द्रलाई फोन गरेर बाटो नबनाउ, कम्युनिष्ट आउछ भनेका थिए । राजाले कम्युनिष्ट भनेको गाडी चढेर आउने होइन त्यसै आउछ नि भनेर फर्काएपछि नेहरु बोल्न सकेनन् । यसरी सम्झाउन सक्नु पर्यो नि । राजसंस्थामा राष्ट्रियता जोगिएको थियो, प्रजातन्त्र फलेको फुलेको र जनताको निर्वाहमा थियो । समाजवाद राम्रो तरिकाले चलेको थियो । अहिले त एउटै क्षेत्रमा राम्रो काम भएको छैन ।
- संघीयतामा गइसकेको देश पुनः हिन्दु राष्ट्र होला त ?
संघीयता धेरै देशहरुमा छ, अरु देशमा संघीयता आवश्यक थियो । जस्तो अमेरिका, भारतमा संघीयता भएन भने त्यहाँ देश टुक्रिने सम्भावना थियो । संघीयता भएका धेरै देश बिग्रिसके । त्यहि दुई चारवटा देश मात्रै बाँकी छ । संघीयता भएका नाइजेरिया, सुडानलगायतका देश खत्तम भएका छन् । हाम्रोमा संघीयता देश बिगार्ने धारणा हो । संघीयता, धर्मनिरपेक्षता, गणतन्त्र घोषणा गरेपछि हाम्रो देशमा आन्दोलन हुनुपथ्र्यो । कुनै चेतनशील देश भएको भए यहाँ त्यसबेला मारामार, पिटापिट हुन्थ्यो । अज्ञानता, सहनशीलता भएर पनि हामी बाचेका हौ कि ?
अर्कोतिर संघीयता चलाउन सरकारले तीन अर्ब रुपैयाँ लोन लिएको छ । लोन लिएर कहिलेसम्म चल्छ देश, यो घाडो भइसक्यो । २०४६ सालमा प्रतिव्यक्ति ऋण सात हजार थियो, अहिले ३५ हजार पुगिसक्यो । अब देशले यस्तो थाम्छ ? कहाँ पुग्नुपर्ने देश कहाँ पुगिसक्यो । विश्वको धनि देश भएर अरुलाई लोन दिनसक्ने अवस्थाको हामीसँग के चिज छैन यहाँ ? संघीयता देश विखण्डन गर्न ल्याइएको हो । हुनत साइन्टिफिक तरिकाले देशमा संघीयता भएको छैन । संघीयतामा आर्थिक अवस्था, सेक्युरिटी बलियो हुनुपर्छ अनिमात्रै संघीयता चल्न सक्छ तर अहिले यहाँ आर्थिक, सुरक्षा दुबै बलियो छैन । बगेको खोला कहिल्यै फर्किदैन भन्ने गरिन्छ तर त्यहि खोला समुन्द्रमा जान्छ, समुन्द्रमा पानी आएर फेरि खोला बन्छ, भन्ने प्रक्रिया धेरैलाई थाहा नभएको मात्रै हो ।
- स्वयं राजाले नै चाहिँ तपाईंको पार्टीलाई के भनिराख्नु भएको छ ?
के ले हो हामीले बुझ्न सकिराखेका छैनौं, राजावादी संस्था दुई सयवटा भन्दा बढी छन् । यि संस्थाहरु राजाले उत्पादन गरेका होइनन् । राजाबाट ती संस्थाहरुलाई तिमीहरु मिलर जाऔ भन्ने चाहिँ भइराखेको छ । राजाले सक्रिय देखाउने कुरा छैन । एकपटक धनगढीमा राजाले बाढीपीडितलाई हिमानी ट्रष्टबाट सामान बाड्न जाँदाखेरी त बाड्न नदिएर सीडीयोलाई दिन भनियो । त्यतिबेला राजाले त्यो राहत सर्लक्कै दिए । राजगद्दी त छोड्ने मान्छेले त्यो एउटा सानो कुरा नमान्ने त कुरा आएन । नेपालका राजामा ज्ञानेन्द्र सरकार यस्ता धैर्य छन, त्यो धैर्यता त महापुरुषहरु अर्थात भगवानहरुमा नै हुने गर्छ । किनकि अहिलेसम्म नेपाल सरकारविरुद्ध उहाँले कहिल्यै नचाहिने कुरा बोलेको पनि छैन, धार्मिक कार्यक्रममा पनि हिडेकै छन् । कमल थापाले त्यो बेलामा राम्रो काम गरेको भए यि सबै पार्टी एक ठाउँमा आइसक्ने थिए । अब यो सरकार, नेताको क्रियाकलापले नै हिन्दु सम्भव हुन्छ ।
- भारतले चायो भने नेपालमा हिन्दु राष्ट्र आउछ भन्ने पनि गरिन्छ नि ?
भारतको कुरा गर्नु भयो, नेपाललाई बिगार्न चाहिँ उनीहरुले तन, मन, धन लगाएर तुरुन्तै गर्ने तर नेपाल सपार्न चाहिँ केहि गर्दैनन् । उनीहरुले जनता उठ, केहि गर हामी मद्दत गर्छौ भन्दैनन् । राजा महेन्द्रले बीपीको भूमिसुधार योजनालगायतका कतिपय कार्यक्रमहरु लागू गरे । त्यो बेला भारतीय सेनाहरु नेपालमा बस्थे, त्यसलाई हटाइदिए । हुनत राजासंस्था भारतले नै फालेको हो । भारत र नेपालको एउटा संस्कृति भएका हुनाले नेपालको रक्षा गरे उसलाई पनि फाइदा हुन्छ । हामीलाई १० रुपैयाँ फाइदा भयो भने उसलाई हजार रुपैयाँ फाइदा हुन्छ । मोदीले नेपालको हित गरे भने उनको भलाई हुन्छ र उ विश्वको शक्तिशाली, धनी देश बन्न सक्छ । नेपाल सानो देश राम्रो हुँदैमा उसको के बिग्रिन्छ र ? भारतले नेपालको ६० हेक्टर जमिन खाएको छ, नदीनाला खाइदिएको छ, आफ्नो बोर्डरमा अन्तर्राष्ट्रिय नियम तोडेर बाँध बनाउँछ । त्यस्तो अन्याय गर्नु त भएन नि ? हाम्रो दुई नम्बर प्रदेशका मान्छे बोर्डरमा गयो भने त्यहाँको एसएसपीले कुट्छ, लुट्छ, ठग्छ, बलात्कार गर्छ, यस्ता कुरा रोकिनु पर्यो । भारतले यति अन्याय गरेको छ, कुरा गरेर साध्य छैन । यि सब नगरे त उसैको भलाई हुने हो । मान्छेमा कु–भावना भएपछि उसलाई पनि भलो कहिल्यै हुँदैन ।