नेपाली खेलकुद विकासका लागि आवश्यक पक्ष, एसियाडको तयारी, र नेकपा अन्तर्गतको खेलकुद महासंघको एकीकरणको तयारीलगायतका समसामयिक खेलकुद विषयको बारेमा सदैब खेलकुदसँग जोडिन चाहने तत्कालीन नेपाल कम्युनिष्ट पार्टी माओवादीका नेता तथा वर्तमान नेपाल कम्युनिष्ट पार्टीको खेलकुद महासंघका इन्चार्ज एक खेलप्रेमी नेता टोप बहादुर रायमाझीसँग लिइएको अन्तर्वार्ताको संक्षेप। उनी यस अघिको केपी शर्मा ओली नेतृत्वको सरकारमा २०७२ देखि २०७३ सम्म उर्जा तथा उप–प्रधानमन्त्री रहेका थिए ।
सदैब खेलकुद प्रति आबद्ध रहँदै आउनु भएको छ, आफू स्वयम् पनि खेलाडी हुनुहुन्छ, राज्यको खेलकुद पक्षले आशा गरेको व्यक्ति हुनुहुन्छ र अहिले सरकारको नेतृत्व गरिरहेको पार्टी नेकपाको खेलकुद महासंघको इन्चार्ज पनि, आगामी दिनमा राष्ट्रिय खेलकुद विकासका लागि खेलकुदलाई माया गर्ने टोपबहादुर रायमाझी र समस्त नेकपाका योजनाहरु के कस्ता रहेका छन्?
– खेलकुदलाई कुनैपनि व्यक्ति विशेष, परिवार विशेष र समुदाय विशेष भन्दा पनि आम नेपालीहरुको जन सरोकार, आम चासोको विषय तथा एकताको विषय बनाउँदै, राष्ट्र विशेष बनाइनु पर्दछ भन्ने कुरालाई मध्यनजर गर्दै नेपाल कम्युनिष्ट पार्टीसँगै त्यस निकटको खेलकुद महासंघ पनि अगाडी बढी रहेको छ । समस्त खेलकुद क्षेत्रको सर्वा्ङ्गिण विकासका लागि केन्द्रीय र स्थानिय स्तरमा मात्र नभई विद्यालय स्तरसम्म खेलकुदको प्रत्येक खेलविधाको व्यापक रुपमा पूर्वाधार विकास गरिनु पर्छ ।
त्यस्तै, विद्यालय स्तरमा पनि प्रत्येक विद्यालयमा खेलशिक्षक अनिवार्य गराउनु पर्छ । त्यतिमात्र नभई खेलाडी राष्ट्रका गहना हुन्, र तिनीहरुलाई व्यवस्थापन र प्रोत्साहन गर्नका लागि राज्यले योजना बनाउन जरुरी छ । खृेल एउटा राष्ट्रको पहिचान हो, इज्जत हो र राष्ट्रिय एकताको प्रतिक हो । खेल कुनै पनि पार्टी, संघसंस्था र समुदाय विशेष हुनु हुँदैन, यो त आम नागरिकको विशेष हुनु पर्छ । यसै अनुसार नीति निर्माण गरेर राज्यले ठूलो परियोजना बनाई खेलकुदलाई पर्याप्त बजेट विनियोजन गरेर आगमी योजनाहरु बनाई यो क्षेत्रको नेतृत्व गर्ने तयारी नेकपाले गरिरहेको छ ।
यस अघि नै उप–प्रधान तथा उर्जामन्त्री सम्हालिसक्नु भएको छ, तर किन आफूले नजिकबाट अंगाल्न र त्यसैमा भिज्न चाहेको विधा खेलकुदमा आउन चाहनु भएन?
– खेलकुद विकासका लागि म आफैँ जानु पर्छ भन्ने होइन, राज्यको योजना तर्जुमा निर्माण गर्दा आफ्नो–आफ्नो तबरबाट मद्दत गर्नुपर्छ । र, म निरन्तर रुपमा, पहिले भन्दा पनि अहिले अझ सक्रिय ढंगले खेलकुद क्षेत्रको विकास र विस्तारका लागि प्राथमिकतामा राखेर, राष्ट्रको इज्जत र पहिचान बनाउँदै खेलकुदलाई राष्ट्रिय एकताको प्रतिकको रुपमा उभ्याउने लक्ष्यमा मैले हरदम योगदान दिँदै आएको छु ।
खेलकुद सम्बन्धी नीति नियमहरु निर्धारण गर्ने देखि लिएर बजेट विनियोजन गर्नेलगायतका पक्षमा मैले आफ्नो व्यक्तिगत क्षेत्रका साथै पार्टीगत ढंगले पनि जुन मन्त्रालयमा बसेपनि खेलकुदलाई विशेष प्राथमिकतामा राखि आफ्नो भूमिका निर्बाह गरेको छु । यसका साथै जुन मन्त्रालयमा म रहेपनि वियषगत क्षेत्रमा पनि आफ्नो स्थानबाट विकास र संमृद्धिको वातावरण सिर्जना गर्ने सक्दो कोसिस गरेको छु ।
सरकारको नेतृत्व गरिरहेको पार्टीको भातृ संगठनको इन्चार्जको हिसाबले हेर्दा खेलकुद विकासको लागि सरकारले अहिले के गरिरहेको छ?– खेलकुद विकासले सरकारले आफ्नो क्षेत्रबाट कार्य त गरिरहेकै छ, त्यसमा पनि म आफैं खेलाडी भएको र लामो समयसम्म आबद्ध रहेको हैसियतले भन्दा, हामीले पछिल्लो चरणमा अलग–अलग कम्युनिष्ट पार्टीहरु हुँदा पनि मैले व्यक्तिगत क्षेत्रबाट सक्दो प्रयास गरिरहेँ ।
र, यो पार्टी नेकपा एमाले र नेकपा माओवादीबीचको एकता भइसकेपछि बनेको समष्ठिगत स्वरुप नेपाल कम्युनिष्ट पार्टी नेकपा बनिसके पछि हामीले पार्टी एकता गर्ने सन्दर्भमा खेलकुद क्षेत्रलाई इन्चार्जका साथै खेल(खेलाडीको नाताले उच्च प्राथमिकता दिनु पर्छ भन्ने मान्यता राख्दै दुबै पक्षका अग्रज खेलाडीहरुको साथमा नेताहरुलाई पनि राखेर अन्तरक्रियात्मक छलफल गरायौं ।
त्यतिमात्र नभई पुन दुवै पक्षका खेलाडी र अग्रज तथा सिनियर नेताहरुको उपस्थितिमा अन्तरक्रियात्मक कार्यक्रमको आयोजना गरि खेलकुदको विषयमा व्याकप रुपमा सुचनाहरु संकलनका कार्यहरु भए, र, दुबै पार्टी भन्दा पर रहेका स्वतन्त्रका साथै अन्य राजनीतिक पार्टीमा आस्था राख्ने खेलाडी, अग्रज तथा विशेषज्ञहरुलाई समेटेर रोयल सिने होटलमा अन्तरक्रियात्मक कार्यक्रम गरायौं ।
जसमा नेपालका पूर्व प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष कमरेड प्रचण्डलाई पनि आमन्त्रण गरेर वहाँबाट पनि आवश्यक दिशानिर्देशन हामीले ग्रहण गरेका छौं । र, त्यसको आधारमा हामीले सरकारलाई र खेलकुदलाई मन्त्रालयका साथै, खेलकुद मन्त्रीलाई समेतलाई हामीले सल्लाह एवम् सुझाव दिएका छौं । सायद आगामी दिनहरुमा पहिले भन्दा अझ बढी खेलकुद क्षेत्रको विकास र विस्तार, उन्नती–प्रगति र समृद्धिको लागि वहाँले महत्वपूर्ण भूमिका खेल्नु हुनेछ भन्ने विश्वास हामीले लिएका छौं ।
पर्याप्त बजेटका बाबजुद पनि लक्ष्य अनुरुपको तयारी हुन नसकेको, उचित व्यवस्थापन तथा प्रशिक्षणको अभाव र जटिल कुरा राजनीतिक हस्तक्षेप जस्ता विषयहरुलाई लिएर आशन्न एसियाड खेलकुदको तयारीको सर्वत्र भइरहेको आलोचनाको विषयमा हजुरको व्यक्तिगत र पार्टीगत साथै एक सामान्य खेलकुदलाई माया गर्ने व्यक्तिको हिसाबले हेर्दा यस विषय प्रतिको धारणा के रहेको छ?
– खेलकुद क्षेत्रमा स्वच्छता, र सक्षमताको पारदर्शीता हुनु अत्यन्त आवश्यक छ । यसको विषयमा हामीले इमान्दारिता पूर्वक लाग्नु पर्दछ । राजनैतिक हस्तक्षेप जस्ता कुराहरुबाट खेलकुद क्षेत्रलाई पृथक बनाउन जरुरी छ । जहाँसम्म एसियाली खेलकुदको तयारीको कुरा छ, यो कुरालाई केन्द्रविन्दुमा राख्दै आशन्न एसियाली खेलकुद मात्र नभई जुनसुकै राष्ट्रिय तथा अन्तर्रा्ष्ट्रिय जुनसुकै प्रतियोगिताको तयारीमा पनि यो कुरामा विशेष ध्यान दिँदै विकृति र विस्ंगति प्रति घोर आपत्ती जनाउनु आवश्यक छ ।
जसका लागि हामीले आफ्नो ठाउँबाट सरकारका साथै जिम्मेवार पक्षलाई व्यापक सुझाव दिनुका साथै सहयोग गर्ने कोसिस पनि गरेका छौं । यद्यपी कतिपय ठाउँहरुमा पावर, राजनीतिक हस्तक्षेप तथा पहुँचको आधारमा अनियमितता गर्न खोजिएको पाएमा त्यसको प्रत्यक्ष रुपमा आलोचना गर्नेछौं, र कडा रुपमा चेतावनी दिँदै गल्ती सुधार्नका लागि सुझावका साथै दबाब पनि दिनेछौं ।
तर, अहिलेसम्म हामीलाई यस्तो सूचना आएको छैन, यदि आयो भने आवश्यक कदम चाल्नको लागि पार्टीका साथसाथै महासंघ र व्यक्तिगत तर्फबाट म पनि कटिबद्ध रहेको छु । वर्तमान परिप्रेक्षलाई हेर्दा सरकारलेृ गर्नुपर्ने कार्य भनेको खेलकुद क्षेत्रको विकास र समय–समयमा हुने राष्ट्रिय एवम् अन्तर्रा्ष्ट्रिय प्रतियोगिताहरुको छनौट देखि लिएर, केन्द्रीय मात्रै नभइ स्थानिय स्तरबाट पनि खेलकुदलाई स्वच्छ र स्वतन्त्र बनाउनमा जोड दिनु आवश्यक रहेको छ । जसको लगातार हामीले निरन्तर रुपमा पहल गरिरहेका छौं ।
नेपाली खेलकुद जगतमा नातावाद् एकदमै हावी भएको कुरा बारम्बार उठ्ने गरेको छ, उक्त विषय सोचनीय रहेको आलोचना तथा चर्चाको विषय बन्ने गरेको छ, यसमा तपाईको धारणा के छ?
– राजाको निरंकुस शासन व्यवस्थाको समयमा नेपाली खेलकुद क्षेत्र एउटा सम्रान्त परिवारको लागि मात्र समर्पित थियो, जतिबेला खेलकुदलाई जनताको चासोको विषयको रुपमा लिइँदैन थियो । सम्रान्त परिवार र हुने खाने वर्गको लागि मात्रै खेलकुद एउटा चासोको, चिन्ता र आवश्यकताको विषय ठानिन्थ्यो, त्यो समय देखि नै नातावाद तथा कृपावादबाट पूर्ण रुपमा स्वच्छ नरहेको कुरा एक तीतो यथार्थ हो । तत्कालीन समयमा जसको पहुँच, प्रभाव र पेशीको आधारमा आफ्नो स्वार्थपूर्ती गर्ने साधनको रुपमा प्रयोग गरिन्थ्यो ।
जब–जब बहुदल हुँदै गणतन्त्रको उदय पश्चात पनि त्यस तीतो यथार्थका अवशेषहरु हुनसक्छन् । किनकी हामी पनि त्यही संस्कृतिमा हुर्केको हुनाले केही त्यस विसंगतिका अवशेषहरु हुन सक्छन्। त्यसलाई हामीले व्यापक रुपमा परिवर्तन गर्न जरुरी छ । र, आमूल रुपमा परिवर्तन ल्याएर हामीले खेलकुद क्षेत्रलाई नातावाद, क्रिपावाद, पैसा, पहुँच, सोर्स फोर्स जस्ता विकृतिहरुबाट मुक्त गराउँदै राष्ट्र, जनता, राष्ट्रिय पहिचान, नाम तथा प्रतिष्ठा, राष्ट्रको समृद्धी र राष्ट्रको इज्जतको रुपमा हामीले खेलकुदलाई केन्द्रविन्दुमा राखेर अगाडी बढाउनु पर्दछ । जुन विषय तर्फ हाम्रो लक्ष्य केन्द्रीत छ, यसमा केही कमी कमजोरी रहेभने सच्याउन तत्पर रहँदै समग्र खेलकुदको विकास र विस्तारका लागि अगाडी बढ्न आवश्यक छ ।
अन्त्यमा समस्त खेलकुद पक्षलाई सकरात्मक बाटोबाट उज्यालो तर्फ डोर्याउनका लागि आफ्ना समर्थक र संगठनका साथीहरुलाई के भन्न चाहनु हुन्छ?
– खेलकुनै पनि समुदाय, व्यक्ति र पक्षसँग सम्बन्धित हुनु हुँदैन, यो विचारधारालाई मनन गरी राष्ट्रको इज्जत, इमान, गौरव र सम्मानको पर्याय खेलकुद र राष्ट्रका गहना खेलाडीहरुलाई राजनीतिक हस्तक्षेप, नातावाद, क्रिपावाद र सोर्सफोर्स जस्ता दुर्ग्न्धित विसंगतिबाट पर राख्दै खेलकुदलाई स्वच्छन्दाता र पारदर्शिताको प्रतिक बनाउने संकल्पमा हातोमालो गरेर अगाडी बढौँ भन्दै, आशन्न एसियाली खेलकुदमा सहभागी हुने सम्पूर्ण खेलसँग सम्बन्धित प्रशिक्षक तथा खेलाडी साथीहरुलाई अग्रिम शुभकामना व्यक्त गर्न चाहन्छु ।