काठमाडौं । दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत कर्णाली प्रदेशका विभिन्न जिल्लामा अनौपचारिक रूपमा सञ्चालन भएका खेलहरूको पदक तालिकामा बागमती प्रदेश शीर्ष स्थानमा रहेको छ । सहआयोजक कर्णाली प्रदेश भने अहिलेसम्म पदकविहीन छ ।
हालसम्म सम्पन्न विभिन्न खेलका आधारमा बागमतीले १९ स्वर्ण, १२ रजत र १४ कास्य गरी कुल ४५ पदक जितेको छ । प्रतियोगितामा कर्णालीले भने कुनै पनि विधामा पदक जित्न सकेको छैन ।
पदक तालिकामा गैरआवासीय नेपाली सङ्घ (एनआरएन) दोस्रो स्थानमा छ । एनआरएनले १२ स्वर्ण, चार रजत र चार कास्य गरी २० पदक जितेको छ । त्यस्तै, त्रिभुवन आर्मी क्लबले ११ स्वर्ण, २० रजत र १९ कास्य गरी ५० पदक प्राप्त गरेको छ भने नेपाल पुलिस क्लबले आठ स्वर्ण, १५ रजत र १८ कास्य गरी ४१ पदक जितेको छ ।
यसैगरी, गण्डकीले चार स्वर्ण, एक रजत र चार कास्य गरी नौ, कोशीले चार स्वर्ण, एक रजत र एक कास्य गरी छ, सशस्त्र प्रहरी बल (एपीएफ) ले तीन स्वर्ण, एक रजत र एक कास्य गरी पाँच, लुम्बिनीले दुई स्वर्ण, छ रजत र तीन कास्य गरी ११ तथा सुदूरपश्चिमले दुई स्वर्ण, पाँच रजत र दुई कास्य गरी नौ पदक जितेका छन् । मधेस प्रदेशले भने दुई कास्य पदकमात्र प्राप्त गरेको छ । कर्णालीको पदक संख्या शून्य छ ।
राष्ट्रिय खेलकुद परिषद्का अनुसार दसौँ राष्ट्रिय खेलकुदअन्तर्गत मङ्सिर ८ गतेदेखि पौडी, शारीरिक सुगठन, फुटबल, क्रिकेट, बास्केटबल, टेनिस, फुलकन्ट्याक्ट कराते, बक्सिङ र जिम्न्यास्टिकलगायतका खेल अनौपचारिक रूपमा सञ्चालन भइरहेका छन् । तीमध्ये पौडी र शारीरिक सुगठन प्रतियोगिता सम्पन्न भइसकेका छन् ।
टेनिस : शिभाली र स्वस्तिकाको जोडीलाई स्वर्ण
दसौं राष्ट्रिय खेलकुदअन्तर्गत टेनिसको महिला डबल्समा आर्मीका शिभाली गुरुङ र स्वस्तिका विष्टको जोडीले शनिबार स्वर्ण जितेका छन् । ५ स्पर्धा समावेश टेनिसमा पहिलो स्वर्ण टुंगो लागेको हो ।
बर्दियाको गुलेरियामा भएको फाइनलमा शिभाली र स्वस्तिकाको जोडीले बागमतीका प्राज्ना मानन्धर र प्रकृति श्रेष्ठको जोडीलाई ६–० र ६–१ ले पराजित गरे । एपीएफका इन्द्रकला श्रेष्ठ र भगवती विक तथा गण्डकीका आरुषी तुलाचन र आहाना शेरचन तेश्रो भए ।
पुरुष सिंगल्समा गण्डकीले स्वर्ण जित्ने पक्का भएको छ । गण्डकीका प्रदिप खड्का र करनबहादुर थापा फाइनलमा पुगेसंगै गण्डकीको स्वर्ण पक्का भएको हो । सेमिफाइनलमा प्रदिपले आर्मीका प्रणव खनाललाई ६–२ र ७–६ (७–५) तथा करनले बागमतीका निसान श्रेष्ठलाई ६–२ र ६–२ को सेटमा हराए ।
पुरुष डबल्समा आर्मीका राजवीर प्रधान र प्रणवको जोडीले नेपाल पुलिसका निहालजंगबहादुर थापा र दर्शिल श्रेष्ठको जोडीलाई ६–३ र ६–० तथा गण्डकीका प्रदीप र करनको जोडीले बागमतीका निसान श्रेष्ठ र प्रितम परियारको जोडीलाई ६–२ र ६–१ को सेटमा पाखा लगाउदै फाइनलमा स्थान सुरक्षित गरे ।
टेनिसमा आइतबार २ स्वर्णको छिनोफाने हुनेछ । पुरुष डबल्स र मिक्स डबल्सको फाइनल आइतबार हुनेछ । अन्तिम दिन सोमबार पुरुष÷महिला सिंगल्सको फाइनल हुनेछ ।