काठमाडौं । बागभैरवकी हिमानी श्रेष्ठ र कोसेलीकी रिसिका तामाङ दोश्रो वडा अध्यक्ष कप खुला कराते प्रतियोगिताको महिला २० केजीमुनि शनिबार फाइनलमा प्रवेश गरेका छन् ।
चुच्चेपाटीस्थित स्मार्ट प्यालेसमा भएको सेमिफाइनलमा हिमानीले कोसेलीकी सुहाना तामाङ तथा रिसिकाले शिवपुरी डोजोकी कृष्टि तामाङलाई पराजित गरे ।
नेपाल गोजुकाइ कराते डो संघको आयोजनामा भइरहेको प्रतियोगिताको पुरुष २० केजीमुनि बागभैरवका उत्सव श्रेष्ठ फाइनलमा पुगे । उनले सेमिफाइनलमा बालाजुका सौरव मगरलाई हराए । स्वर्णका लागि उत्सवले एमएचएसका साइमन मल्ल र भृकुटिका आशिष आचार्यबीचको विजेतासंग खेल्ने छन् ।
महिला २५ केजीमुनि मनमैजुकी एन्जल तामाङ, अरनिकोकी रोजिना राउत, ठैवकी दिलिसा लामा र कोसेलीकी प्रनिषा कार्कीले सेमिफाइनलमा स्थान सुरक्षित गरे । सोही स्पर्धाको पुरुषमा मनमैजुका निसान कुँवर, मेरिल्यान्डका आलोकराज ठाकुर, नव शान्तिका मिसन तामाङ र शिवपुरीका प्रकाश तामाङले सेमिफाइनलमा स्थान बनाए ।
मित्र पार्क नाय खिं बाजं खलःको सहकार्यमा भइरहेको प्रतियोगिताको महिला एकल कातामा नव शान्तिकी प्रसन्न फुयाँल, भृकुटिकी अंकिता पाण्डे, अरनिकोकी पुनम श्रेष्ठ र मेरिल्यान्डकी एलिना ठकुरी सेमिफाइनलमा पुगे ।
सो स्पर्धाको पुरुषमा विद्यावनका रुविन राई, इन्द्रवतिका सुसन तामाङ, भृकुटि रोहित बस्नेत र नव शान्तिका रोजन ओझाले सेमिफाइनल यात्रा तय गरे ।
.jpg)
प्रतियोगिताको काठमाडौं महानगरपालिका वडा ७ का अध्यक्ष विमलकुमार होडाले एक कार्यक्रमबीच उद्घाटन गरे । सोही अवसरमा ६ जनालाई ब्ल्याकवेल्ट पहिलो डानको प्रमाण पत्र पनि सम्बन्धितलाई हस्तान्तरण गरिएको थियो ।
अपेक्षा थापा मगर, अन्सु गुरुङ, लिना राई, प्रज्ज्वल कार्की, जुनु गुरुङ र विदुषि पोखरेललाई ब्ल्याकवेल्ट पहिलो डानको प्रमाण पत्र प्रदान गरियो । दुईदिने प्रतियोगितामा पुरुष-महिलातर्फ समान ११–११ गरी जम्मा २२ स्पर्धामा २ सय २० खेलाडीको सहभागिता रहेको आयोजक संघका उपाध्यक्ष एवं प्रचार प्रसार उपसमितिका संयोजक अच्युतराज उप्रेतीले जनाएका छन् ।