काठमाडौं, १६ साउन – संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री रवीन्द्र अधिकारीले आगामी दश महिनाभित्र भैरहवाबाट अन्तर्राष्ट्रिय उडान शुरु गरिने बताएका छन्।
फोटो पत्रकार क्लबद्वारा बबरमहलस्थित नेपाल कला परिषद्मा आयोजित तस्बीर प्रदर्शनीको उद्घाटन गर्दै उनले विमानस्थल निर्माणको करीब ६० प्रतिशत कार्य सम्पन्न भइसकेको र बाँकी काम चाँडो हुने जानकारी दिए।
पर्यटन क्षेत्रको विकासमा फोटो पत्रकारिता क्षेत्रको महत्वपूर्ण भूमिका रहेको बताउँदै उनले भने, 'मठमन्दिर, मस्जिद, सम्पदा, प्राकृतिक सुन्दरताको पहिचान गरेर फोटामार्फत विश्वमा प्रचारप्रसार गर्न सकिनेछ।' भिजिट नेपाल–२०२० लाई सफल पार्न फोटो पत्रकारको भूमिका महत्वपूर्ण रहने बताए।
उनले फोटो पत्रकारले पछिल्लो पटक विकास भइरहेको प्रविधि र सामाजिक सञ्जालका बारे चनाखो हुनुपर्ने सुझाव दिँदै राम्रा फोटो खिचेर आफूलाई उत्कृष्ट साबित गर्नुपर्ने बताए।
नेपाल फोटो प्रतियोगितामा छानिएका उत्कृष्ट तस्बीरको प्रदर्शनी यही साउन २१ गतेसम्म चल्नेछ। उक्त कार्यक्रममा नरेन्द्र श्रेष्ठलाई यस वर्षको उत्कृष्ट पुरस्कारस्वरुप नगद रु एक लाख प्रदान गरियो। पुरस्कृत श्रेष्ठले प्राप्त गरेको पुरस्कारबाट उनले खिचेको तस्बीरमा देखिएका मृतक कमल सदाका बुबा फुदन सदालाई रु ७० हजार हस्तान्तरण गरे।
क्लबका अध्यक्ष विकास कार्कीले फोटो प्रतियोगिता अबदेखि निरन्तर हुने बताउँदै ‘साउथ एशिया प्रेस फोटो कन्टेस्ट’ कार्यक्रमको आयोजना गर्ने तयारी भइरहेको जानकारी दिए।