प्रतिनिधिसभा सदस्य उम्मेदवार (काठमाडौं क्षेत्र नं.१) रिषभ भट्टराईको पारिवारिक पृष्ठभूमि राजनीति नै हो । उनले सुरुसुरुमा आफ्नो बुबा हरिबोल भट्टराईले नेपाली कांग्रेसमा बसेर गरेको नेतृत्व देखेर राजनीतिप्रति आकर्षित भएको तर अहिलेसम्म देश परिवर्तन नभएकाले भने राजनीतिप्रति वितृष्णा जागेको र पछि फेरि हैन अब हामी युवाले देशको लागि केही न केही गर्न तातिनु पर्छ भन्ने लागेरै यसपटक उम्मेदवारी दिएको बताएका छन् । सुरुमा नेपाली काँग्रेसमा संलग्न भएर राजनैतिक यात्रा सुरु गरेको बताउने उनी नेपाली कांग्रेस(बी.पी.)दर्तापछि पार्टीको केन्द्रिय सदस्य हुँदै महाधिवेशनपछि सह–महामन्त्रीसम्म बने । अहिले सांसदमा पार्टीको तर्फबाट आफ्नो पनि नेतृत्व हुने विश्वासका साथ करुवा चुनाव चिन्ह लिएर चुनावी मैदानमा उत्रेका उनै उम्मेदवार भट्टराईसँग गरिएको कुराकानी :
- नेपाली कांग्रेस र नेपाली कांग्रेस(बी.पी.) यि दुई पार्टीबीच मतदाता कत्तिको झुक्किने गर्छन् ?
मत माग्न जाँदा धेरैजना झुक्किनु हुन्छ । धेरैजना बीपी कांग्रेस भनेको छ, फेरि करुवा चिन्ह छ, यो के हो भन्नु हुन्छ । मेरो क्षेत्रका जनतालाई त प्राय थाहा भएको देखे तर कतिपय बाहिरबाट आएका व्यक्तिहरुले भने नबुझेर सोध्नु हुन्छ । अझै पनि धेरै जना भ्रममा पर्नुहुन्छ, कांग्रेस र बीपी कांग्रेस दुबै भिन्नाभिन्नै पार्टी हो या एउटै हो भनेर । र, हामीले घरदैलो गर्ने क्रममा हाम्रो क्षेत्रका धेरैको भ्रम हटाइसकेका छौं । कांग्रेसमा विचलन, विकृति आएपछि २०७४ सालमा हरिबोल भट्टराईको नेतृत्वमा एउटा छुट्टै पार्टी गठन भएको हो भनेर बुझाउनु परिराखेको अवस्था छ ।
- तपाईंको क्षेत्रमा को भन्दा को कम भने जस्तै चिरपरिचित प्रतिस्पर्धात्मक उम्मेदवार हुनुहुन्छ, के आधारले यो क्षेत्र रोज्नु भयो ?
चिरपरिचित ठूला नेता भन्नु भयो तर जनताले कसरी हेर्छन् भन्ने कुरामा म पनि कुनै कम छैन । धेरै भोट आउने मध्ये म पनि एक उम्मेदवार हो । आकलन गर्दा यस क्षेत्रमा सबभन्दा बढी भोट मेरै आउछ । किनभने म यहीको युथ भए, सबैजनालाई व्यक्तिगत तबरले चिन्छु, उहाँहरुले पनि चिन्नु हुन्छ । मतदातालाई म उठेको छु है भन्ने देखाउनु मात्रै परेको छ । अहिलेको घरदैलो जानुअघि हामीले शुभकामना कार्ड र पर्चा बाडेका थियौं । जसले गर्दा पनि धेरैजनाले म यस क्षेत्रबाट उम्मेदवार उठेको छु भन्ने थाहा पाउनु भएको छ । अहिले म घुम्दा उहाँहरुले भट्टराई भाई हैन र ? भनेर उम्मेदवार उठेको थाहा पाइयो, भोट तपाईलाई नै दिन्छौं भन्नु भएको अवस्था छ । त्यही भएर एक से एक प्रतिस्पर्धा उहाँहरु हुनुहुन्छ भन्ने हुँदैन । यसपालिको चुनावमा जनताले परिवर्तन चाहेको छ । परिवर्तन चाहेपछि पुरानो दल, पार्टीहरुदेखि वितृष्णा भएको अवस्था छ । पुरानो दललाई अब जनताले भोट नहाल्ने अवस्थामा पुगिसक्नु भएको छ । नयाँ उठेका मध्ये कसलाई भोट दिने भन्नेमा मात्र मतदाताहरु अलमलमा हुनुहुन्छ र त्यसमा चाहीँ मलाई दिनुस भन्ने गरेको छु र उहाँहरुले मलाई धेरै नै साथ र समर्थन जनाइराख्नु भएको छ ।
- तपाईंलाई यस क्षेत्रका मतदाताले भोट दिनु पर्ने आधार वा कारण के ?
एक त म यहाँको स्थानीय हुँ । प्रतिनिधिसभामा गएपछि नियम कानुन बनाइने कुरामा हाम्रो योगदान हुन्छ । स्थानीयलाई थाहा अर्थात् विश्वास पनि छ, त्यहाँ पुगेपछि हाम्रो प्रतिनिधित्व यसले गर्छ है भन्नेमा । र, यहाँको धेरथोर समस्याहरु पनि छन्, त्यसलाई उजागरी गरी समाधान गर्ने कार्य गर्ने छु ।
- यस क्षेत्रमा विशेष के के समस्याहरु छन् ?
यो क्षेत्र नं.१ मा खानेपानीको ठूलो समस्या छ । यहाँ व्यवस्थित तरकारी बजार छैन । पहिला पहिला जस्तो चोकचोकमा तरकारी राख्न पाइदैन । यो नभएकाले ठाउँठाउँमा तरिकारी बजारको व्यवस्थापन गर्नु पर्ने जरुरी छ । यहाँ लामो समयदेखि सुकुम्बासी समस्या छ । यो समस्यालाई अगाडिदेखिको उम्मेदवारहरुले भोट बैंक मात्र बनाए । चुनावको बेला भोट माग्न जाँदा उहाँहरुलाई तपाईहरुको व्यवस्थापन यही गराइदिन्छु आदि इत्यादि भनेर झुट बोल्दै आउनु भएको छ । भर्खरै मात्र पनि म सुकुम्बासी वस्तीमा पुग्दा थाहा भयो केही उम्मेदवारले त तपाईहरुलाई लालपूर्जा लिलाई दिन्छु भन्नु भएको रहेछ । उहाँहरुले कहाँबाट खोलाको जग्गाको लालपूर्जा लिलाई दिनु हुन्छ ? उहाँहरुले दिलाउदैमा लालपूर्जा दिइने हो र ? त्यस्तो झुठा आस्वासन दिदैँ हिड्नु भइराखेको छ । तर, उहाँहरुलाई मैले मलाई भोट दिनुस या नदिनुस तपाईंहरुलाई त्यस्तो झुठा आश्वासन दिन्न भनेको छु, बोलेको पुर्याउछु भनेको छु । मैले जत्तिको तपाईहरुको समस्या अरु कसैले बुझेको छैन भनेर उहाँहरुले बुझाएको छु । मैले चाहीँ न्यायोचित सामाधान कसरी हुन्छ भनेर तपाईंहरुलाई राखेर कुरा गरेर सम्बन्धित निकायसँग बसेर समाधान गर्ने हो भनेर निर्कोल निकाल्छु भनेको छु । त्यहाँ साच्चिकै कतिपय सुकुम्बासी हुनुहुन्छ भने कतिपय सुकुम्बासीको नाममा हुकुमबासी पनि हुनुहुन्छ । यो छुट्याउनु पर्ने पनि छ । र, उहाँहरुलाई न्यायोचित व्यवस्थापन त्यही हुन्छ वा अन्त कतै लगेर हुन्छ त्यो गर्नुपर्ने जरुरी छ । यसलाई भोट बैंक नबऔं भनेर हामीले भनिराखेका छौं । यस क्षेत्रमा खोलाकै धेरै जग्गाहरु भूमाफियाहरुबाट अतिक्रमण भइराखेको छ । त्यो राज्यको सम्पत्ति राज्यले नै फिर्ता लिनुपर्छ र जनतालाई सहज वा आवश्यक पर्ने पार्कलगायत अन्य चिज बनाउनु पर्छ । शान्तिनगरदेखि त्रिपुरेश्वरसम्म लाइनै अतिक्रमण भएका जग्गाहरु छ । त्यसैले जहाँ जे चाहिएको छ त्यो गर्नु पर्यो भन्ने मेरो मान्यता हो ।
- काठमाडौं क्षेत्र नं.१ का मतदाताबाट तपाई कत्तिको परिचित हुनुहुन्छ र निर्वाचन जित्ने आधार के छ ?
म यस क्षेत्रमा सामाजिक कार्यहरु गर्दै आएको हो । धेरै क्लबहरुमा आवद्ध छु । पार्टीहरुले सामाजिक कार्य गरेको देखाउनको लागि सरसफाई अभियानहरु गर्छन् । तर मैले २०५३ सालमै क्लब खोलेरै सरसफाई अभियान सुरु गरिसकेको थिए । त्यो सरसफाई अभियानमा सबै युथ नै थिए, जुन बेला म सानै पनि थिए । त्यो अभियानबाट स्थानीयहरु यति धेरै खुशी हुनुभयो कि उहाँहरुले त्यतिबेला डोनेशन दिनुभएको थियो । त्यसबेलाको एकपटकको डोनेसनले हामीलाई सरसफाई लगायत अन्य काम गर्न ६ महिनालाई खर्च पुगेको थियो । राम्रो काम गरेको भनेर त्यतिबेला मेरो एफएमहरुले पनि अन्तर्वार्ता लिएको थियो । तर, मेरो बानी काम गर्दै हिड्ने र कसैलाई मैले यो उ गरे भनेर भन्दै हिड्ने थिएन । अलिअलि मैले यो त्यो गरेको छु भनेर त्यतिबेलैदेखि मैले देखाउदै हिड्नु पर्ने रहेछ जुन मैले गरिन त्यसैले पनि अहिले आवश्यक परेको बेला आफ्नो ठाउँदेखि बाहिर परिचित भइन । अहिले जो जो पहिलादेखि मिडियामा देखिनेलाई सबैले सहज रुपमा चिने तर हामी जस्तो यहि ठाउँमा काम गर्दै आएको र काम गर्ने क्षमता भएको, कुन ठाउँमा के समस्या छ भन्ने पनि थाहा भएको र भोलि प्रतिनिधित्व गर्दा नीति निर्माणमा पनि योगदान पुर्याउन सक्छ भन्ने अरुलाई पनि थाहा भएकोलाई उहाँहरुभन्दा कमले चिन्नु हुन्छ । तरपनि म आफै जित्नेमा निर्धक्क छु । किनभने अहिले म आवद्ध धेरै संघ संस्थाको बोर्ड मेम्बरकै रुपमा कार्यरत छु । र, प्राय संस्थाको म्यानजमेन्ट वा फाइनान्स हेर्ने पार्टमा बसेर काम गरिराखेको छु । एउटा सय जना इन्जिनियर संलग्न भएको कम्पनीमा पनि आवद्ध छु, जसले हाइड्रो सेक्टरमा काम गर्छ । यसरी विकासलाई टेवा पुर्याउने क्षेत्रहरुमा संगल्न भएकाले र युवाहरुसँग त्यसरी नै परिचित भएकाले पनि यो निर्वाचन जित्नेमा ढुक्क छु ।
- युवा बेरोजगारीको समस्यालाई कसरी हेर्नु भएको छ ?
मेरो उम्मेदवारी भनेको युवाहरुलाई वैदेशिक रोजगारीमा नपठाउन र विदेशमा भएका नेपालीलाई नेपालमा कसरी स्थापित गर्न सकिन्छ भन्नेमा ध्यान जान्छ । धेरै जना विदेश पलायन हुने अवस्थाले गर्दा देशमा कल कारखाना खुल्दा काम गर्ने कोही पनि नपाइने अवस्था पनि विकराल बन्दै गएको छ । त्यसैले स्कील वर्कर कसरी विकास गर्ने र वैदेशिक रोजगारीलाई कसरी रोक्ने भन्ने मेरो पनि योजना छ । हामीले नीति निर्माण लगायतका जति ठूलठूला कुरा गरेपनि अर्थतन्त्र चलायमान बनाउन सकेनौ भने हाम्रा योजनाहरु निरर्थक हुन्छन् । ति कुराहरुलाई टिकाउनको लागि आर्थिक चहलपहल हुनै पर्छ । त्यसको लागि हामीसँग पानी, जुडिबुटी, खनिजलगायत प्राकृतिक श्रोतहरु अथाह छ । हामी जुन न्युनतम बजेट छ, त्यो के मा खर्च गर्दा उपयुक्त हुन्छ, उत्पादक आय के बाट पाउन सकिन्छ भन्ने तिर जानु पर्छ । अर्थतन्त्रलाई कसरी माथि लगेर समृद्धि बन्ने र बाहिर गएका युवालाई ल्याउन र बाहिर जानबाट कसरी रोक्ने भन्नेमा मेरो आफ्नो व्यक्तिगत सोच भनेको हाइड्रोपावरको विकास सबैभन्दा उत्तम हुन्छ । चार–पाँच वर्षको बजेटलाई अरु तिर कम केन्द्रित गरेर हाइड्रोपावरको विकासमा लगायौं भने पानीबाट बिद्युत निकालेर ऊर्जाको विकास गर्न सक्छौ । अहिले पनि ऊर्जामा हामी आत्मनिर्भर हुन सकेका छैनौं । यसलाई बढाउन सक्यौ भने कलकारखाना, उद्योगधन्दाहरु संचालनमा ल्याउन सक्छौं र रोजगारीहरु सिर्जना हुन्छ । विदेशमा विद्युत बेच्न सक्छौ । विद्युत सस्तो बनायौं भने उत्पादनहरु सस्तोमा निर्माण हुन्छ र युवाहरुले रोजगारी पाउछन् । सस्तोमा वस्तु निर्माण गर्न सक्यौं भने हामीले विदेशीहरुसँग प्रतिस्पर्धा गर्न सक्छौं । हाम्रो बजार चहलपहल हुन्छ । त्यो पानी सिचाईँमा पनि प्रयोग गर्न सकिन्छ । हामीसँग श्रोत छ, पानी छ, खेतबारी छ तर बाझा(खाली) छन् । किसानले मल नपाएर जहिले पनि समस्या भइराखेको छ । ऊर्जा राम्रोसँग उत्पादन गर्न सक्यौ भने त हामीले नेपालमै युरिया मल(नाइट्रोजन) उत्पादन गर्न सक्छौं । सक्यौ भने हामी नेपालीले नत्रभने विदेशी कम्पनीहरुलाई ल्याएर भए पनि उत्पादन गर्न सक्छौं । यसरी ऊर्जा क्षेत्रलाई मात्र विकास गरेर व्यवस्थापन गर्न सक्यौं भने यसरी अथाह रिजल्ट दिन्छ । र, मैले नेतृत्व गरे भने ऊर्जालाई पहिलो प्राथमिकता दिन्छु र बेरोजगार पनि आफै हट्दै जान्छ ।
- अन्त्यमा के भन्ने चाहनु हुन्छ र मतादातालाई के सन्देश दिनुहुन्छ ?
विशेष यस क्षेत्रलाई बुझेको युवा म नै हुँ । अहिले सम्पूर्ण नेपालीले आमूल परिवर्तन चाहनु भएको छ । विगत २०६२ पछिको तीन वटा चुनावबाट देशले कुनै परिवर्तन पाएन । जनताले प्रजातान्त्रिक आभास महसुस गर्न पाएनन्, सुविधाहरु पाएनन, राज्यले दिनुपर्ने दायित्व निर्वाह गरेन । ति प्रतिनिधिहरुबाट जनताहरुलाई केही हुँदैन भन्ने भइसक्यो । नेपाली जनताहरु पुरानाबाट हुँदैन भनेर आजित भएर नयाँ नै ल्याउनु पर्छ भन्नेमा पुग्नु भएको छ । त्यही भएर हामी जस्तो युवाहरु आउनु पर्छ भन्ने उहाँहरुको चाहना छ, त्यही चाहनानुसार म सम्पूर्ण देशवासीलाई मत परिवर्तन गर्नुस् अनि मात्र देश परिवर्तन हुन्छ भन्न चाहन्छु । म हेल्थ एजुकेशनमा लागेको २० वर्ष भयो । मलाई अहिले म भन्दा साना र ठूला सबै उमेरका व्यक्तिहरुले साथ र सपोट गरिराख्नु भएको छ । तरपनि यस क्षेत्रका मतदातालाई स्थानीय युवा मैले तपाईहरुकै काम गर्न उम्मेदवारी दिएको छु, मलाई मत दिएर जिताउनुस भन्न चाहन्छु ।