काठमाडौं, १२ साउन – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले विद्युत् सेवा सुरक्षित, भरपर्दो र गुणस्तरीय बनाउनुपर्नेमा जोड दिनुभएको छ ।
सामुदायिक विद्युत् उपभोक्ता राष्ट्रिय महासंघ नेपालको चाँैथो वार्षिकोत्सवको आज यहाँ उद्घाटन गर्दै उहाँले विद्युत् सेवा भरपर्दो हुनुपर्ने बताउनुभयो ।
नांगो तार र काठको पोलका कारण करेन्ट लागेर मृत्यु हुने र घाइतेको संख्या बढिरहेको भन्दै मन्त्री पुनले यसमा गम्भीर बन्न सम्बन्धित निकायलाई निर्देशन दिनुभयो । काठका पोल बिस्थापित गर्न रु तीन अर्ब बजेट आवश्यक रहेको भन्दै उहाँले त्यसको प्रस्ताव छिट्टै मन्त्रिपरिषद्मा लैजाने बताउनुभयो ।
“वर्षायाममा काठको पोलका कारण दुर्घटना धेरै भइरहेको छ, काठका पोल विस्थापित गर्ने बारेमा मैले प्रधानमन्त्रीलाई समेत जानकारी गराइसकेको छु, उहाँले मलाई अनुमति दिइसक्नुभएकाले यो प्रक्रिया छिट्टै अघि बढ्छ”–मन्त्री पुनले भन्नुभयो । उहाँले यसका लागि बजेटको समस्यासमेत नभएको बताउनुभयो ।
मन्त्री पुनले गुणस्तरीय काम भए÷नभएको बारेमा अनुगमन गर्न समेत कर्मचारीलाई निर्देशन दिनुभयो । समयमै काम सक्न अनुगमनलाई प्रभावकारी बनाइनुपर्ने उहाँको भनाइ थियो ।
मन्त्रालयले तीन हजार मेगावाट बिजुली उत्पादन गर्ने गरी १६ आयोजनाको छनोट गरिसकेको जानकारी दिँदै मन्त्री पुनले त्यसमा सहयोग गर्न आग्रहसमेत गर्नुभयो । उहाँले सरकारले छनोट गरेका सबै आयोजनामा नाफा सुनिश्चित हुने दाबी गर्नुभयो ।
महासंघका अध्यक्ष नारायण ज्ञवालीले नेपालमा विद्युत् उत्पादनको लामो इतिहास हुँदाहुँदै पनि एकीकृत ग्रामीण विद्युतीकरण नीति नहुँदा ग्रामीण क्षेत्रमा विद्युतीकरण हुन नसकेको बताउनुभयो ।
ग्रामीण क्षेत्रमा विद्युतीकरण र सबै नागरिकमा विद्युत्को पहुँच पु¥याउन सहकारीको माध्यम र स्थानीय सरकारको सहभागितामा एकद्वार प्रणालीबाट मात्र सम्भव रहेको बताउनुभयो ।