बानेश्वरको गल्लीमा बस्ने
एउटा कुकुर सधैं मानिसको कोलाहलले
बिहान तीन बजे उठ्ने
आज नौ बजे उठेछ ।
ऊ उठ्दा घाम निकै माथि आइसकेको थियो
अबेरसम्म सुत्दा उसलाई अचम्म लागेछ
र उसले आफ्नो वरिपरि नियालेछ
सडकमा एकजना पनि मान्छे नदेखेपछि
ऊ छक्क परेछ र दौडिदै कोटेश्वर पुगेछ ।
त्यहाँ पनि सवारी साधन र मानिस बिनाको सडक देखेपछि
उसलाई लागेछ आज नेपाल बन्द रहेछ
सायद कुनै राजनीतिक दलले गरेको हुनु पर्दछ ।
उसलाई आश्चर्य के लागेछ भने
बन्दमा सवारी साधन मात्र नचल्नु पर्ने
यहाँ त मानिसको आवत जावत नै छैन
ऊ तिनकुनेको बिचमा आएर तलमाथि वरिपरि सबैतिर नियालेछ ।
न हिडिरहेका मान्छे देख्छ, न गुडिरहेको सवारी साधन
नत उडिरहेको हवाइजहाज ।
उसले गौशालातिरको सडकमा केहि प्रहरी माइकिङ्ग गरिरहेको भेड्दछ
‘सावधान ! कोहि घर बाहिर ननिस्किनु होला, आफ्नो सुरक्षा आफै गर्नुहोला ।’
केहि प्रहरीहरु मात्रै रहेको सडक उसलाई बुबाले सुनाएको दन्दकालिन कथा जस्तो लागेछ ।
ओहो ! के भएछ,
डरले हतासमा दौडदै ऊ गौशाला पुगेछ
सधैं भक्तजनहरुको भिड रहने गौशाला
पुरै खालि देख्दा उसलाई आश्चर्य लागेछ
यहाँ पनि चरोमुसो कोहि छैनन्,
हैन ! यो कस्तो किसिमको बन्द हो ?
एक्कासी पशुपतिनाथको मन्दिरबाट आएको अनौठो आवाज सुन्दछ
यो कस्तो आवाज हो ? कोहि चिच्याए जस्तो
ऊ आवाज आएतिर दौडन्छ
बाटामा फूलपाती बेच्ने मानिस पनि छैनन्
मन्दिरका सबै ढोकाहरु पनि बन्द छन्
हैन ! देशमा के भइरहेछ ?
पशुपतिनाथ मन्दिरभित्रबाट आएको आवाजले उसको ध्यान केन्द्रित गर्दछ
‘मैले सुन्दर पृथ्वी बनाए
पृथ्वीमा मनुष्यको श्रृजना गरे
उनीहरुले सुन्दर पृथ्वीलाई कित्ताकाट गरे
मेरो तेरो भनि लडाइ गर्न थाले
शक्तिको होडबाजीमा विभिन्न यन्त्र र अस्त्र बनाए
प्रथम र द्वितिय जस्ता विनाशकारी विश्वयुद्ध मच्चाए
विश्व इतिहासले नभुल्ने हिरोसिमा र नागासाकी घटाए
निर्दोष प्राणीहरुमाथि अत्याचार गरे
नहुने कार्यहरु गर्दै गए, जैविक युद्धको बाटोतिर लागे
र आज कोरोनाजस्तो घातक भाइरसको जन्म दिए
मेरो सुन्दर पृथ्वीलाई तहसनहस बनाए
हिजो त्राहिमाम प्रभु रक्षा गर्नु भन्थे
आज मलाई नै थुनी घरघरमा लुके
हे ! देवी पार्वती तिमी कहाँ छौं ?
ओहो ! तिनलोकका पिता महादेवलाई नै थुनेछन्
त्राहिमाम प्रभु, त्राहिमाम
हैन यो कस्तो भाइरस आएछ
आज महादेव नै कैद छन्
ऊ त्यहाँबाट सुनसान सडक हुँदै
पुष्पलाल रोग अनुसन्धान केन्द्रतिर लागेछन्
अ ! यहाँ चाहिँ अलि मानिसको जमात रहेछ
तर सबैले किन मुख छोपेका होलान
हैन ! खास के चाहिँ भएको रहेछ ?
सबै मलिन र निराश छन्
कोहि रुदै छन्, कोहि कुद्दै छन्
कोहि उपचारको लागि आउँदैछन्
कोहि क्यामरा बोकी यताउता कुद्दै छन्
साच्चै भयानक भाइरस आएजस्तो छ ।
उसले एउटा मानिस क्यामरा अगाडि बोल्दै गरेको सुनेछ
‘अहिलेसम्म तीनजनामा कोरोनाको संक्रमण भेटिएको छ
एउटाको अवस्था अलि गम्भिर रहेको छ
आदरणीय दाजुभाई तथा दिदीबहिनीहरु आफ्नो घरघरमा बस्नु होला
भिडभाडमा नजानु होला, एकले अर्कोलाई छुदा कोरोना भाइरस सर्न सक्छ ...।’
ऊ अब निश्चित भए छ
यो मानिसबाट मानिसमा सर्ने भाइरस हो, जनावरबाट जनावरमा होइन
ऊ ढुक्क भई साँझमा आफ्नो बासस्थान फर्के छ
र दिनभरिको कथा साथीहरुलाई सुनाएछ
भनेछ अब यो सडक हाम्रो हो
यहाँ केहि दिन मानिस आउने छैनन् ।।