इतिहासका पानाहरु पल्टाई हेर
रगतले कोरिएको अक्षरहरुमा शहिदका हाँसो भेट्ने छौं ।
रक्तामै शब्दहरुबाट गौरवको गाथा सुन्ने छौं ।
प्रत्येक तस्विरमा विरताको युद्ध देख्ने छौं ।
प्रत्येक पंतिमा स्वभिमान र स्वाधिनता भेट्ने छौं ।
जसले हाँसी हाँसी माटोको सिरान लगाए
उनीहरुको राष्ट्र प्रेम पाउने छौं ।
शब्दको गहिराईमा पस्दै जाउँ, तिम्रो आँखा आँसुले भरिने छ
तिम्रो रगत विरताले उम्लिने छ र शिर स्वभिमानले उच्च हुने छ ।
तिम्रो शिर माथिको आकाश हेर, उडिरहेको बादलमा शहिदको रुप देख्ने छौं ।
दुबै आँखा बन्द गर शहिदको प्रतिबिम्ब पाउने छौं ।
पैताल मुनिको माटो हत्केलामा राखि नियाल
शहिदको रगतले लतपतिएको पाउने छौं ।
तिमी हिड्ने गोरेटो नियाल शहिदका पाइलाहरुको डोब पाउने छौं
प्रभातमा गाउने चरीलाई सुन
विरताको गान सुन्ने छौं ।
सन्ध्यामा रुने न्याउलिलाई सुन
शहिदप्रति समर्पणको रोदन सुन्ने छौं ।
तिम्रो पूर्वको सूर्य उदाउने शिखर
पूर्खाले विरताको गीत गाउँदै हिडेको शिखर हो ।
तिम्रो पश्चिमको सूर्यले सुस्केरा हाल्ने शिखर
पूर्खाले नवरात्री खटेर जोगाएको शिखर हो ।
तिमीले शिर लुकाउने आकाश र तिमी बस्ने भूमि
पूर्खाको रगतसँग साटिएको हो ।
यो माटो,
सीताको जन्मले पवित्र भएको हो ।
बुद्धको बोलीले शान्त भएको हो ।
यो माटो,
भृकुटीको कलाले सजिएको हो ।
विरहरुको गाथाले गुञ्जिएका हो ।
यो माटो,
तिम्रो पूर्खाको रगत हो ।
तिम्रो स्वभिमान हो ।
यो माटो,
तिम्रो शिर उच्च हुने आड हो ।
तिमी जन्मेको कोख हो ।
पूर्खाको रगतले सजिएको यो माटोमा
बैरीले पाइला राख्दा प्रश्न नउठाउने कस्तो पूर्खाको सन्तान हौ तिमी ?
इतिहास बिर्सिएर पराइको इशारामा आफ्नो स्वभिमान बेच्ने कस्तो धर्ती पुत्र हौ तिमी ?
धर्ती मातालाई नङ्ग्याएर पराईको तालमा नाङ्गो नाच नाच्ने, कस्तो सपुत्र हौ तिमी ?
तिमी हेक्का राख
माटो बगि बगर बन्दछ ।
इतिहास बिर्सिए कुपुत्र जन्मन्छ ।
भूमि खुम्चिए स्वभिमान खुम्चन्छ ।
हामी फुटे वैरी धावा बोल्दछ ।
त्यसैले,
तिमी उठ
आफ्नो आत्मालाई सुन
तिमी विर पूर्खाको सन्तान हौ ।
तिम्रो शरीरमा पूर्खाको रगत छ
तिमीलाई आज माटोले खोज्दै छ ।