काठमाडौं, मंसिर २३ । नेपालमा जारी १३औँ दक्षिण एसियाली खेलकुद (साग)को नवौँ दिन आज काठमाडौं, पोखरा र जनकपुर गरी १३ खेलमा प्रतिस्पर्धा हुँदैछ । आज(सोमबार) क्रिकेट, फुटबल, आर्चरी, बास्केटबल, बक्सिङ, फेन्सीङ, जुडो, पौडी, सुटिङ, कबड्डी, स्क्वास, टेनिस र कुस्तीमा प्रतिस्पर्धा हुनेछ ।
महिला फुटबल र आर्चरीका खेल पोखरामा हुनेछन् भने कुस्ती जनकपुरमा हुनेछ । अन्य बाँकी खेल काठमाडौंमा हुनेछन् । महिला फुटबलको फाइनल खेल आज हुँदैछ । पोखरा रंगशालामा हुने फाइनलमा नेपाल र भारतबीच प्रतिस्पर्धा हुनेछ ।
यस्तै क्रिकेट अन्तर्गत पुरुषतर्फको फाइनल खेल पनि आज नै हुनेछ । स्वर्णका लागि श्रीलंका र बंगलादेशले प्रतिस्पर्धा गर्ने छन् । यस्तै कास्य पदकका लागि नेपाल र माल्दिभ्सले प्रतिस्पर्धा गर्ने छन् । कबड्डीतर्फ महिला र पुरुष दुबैको फाइनल खेल हुनेछ । पुरुषतर्फ भारतले श्रीलंकासँग खेल्नेछ । महिलामा नेपाल र भारतबीच खेल हुनेछ । बक्सिङमा विभिन्न स्पर्धाको फाइनल हुनेछ । आर्चरीमा एकल महिला तथा पुरुषको रिकर्भ र कम्पाउण्ड गरी चार वटा स्वर्ण पदकको लागि प्रतिस्पर्धा हुनेछ । कुस्तीमा दुई स्वर्ण पदकका लागि खेल हुनेछ । जुडोमा ७ स्वर्णका लागि प्रतिस्पर्धा हुनेछ । फेन्सिङमा तीन स्वर्णका लागि प्रतिस्पर्धा हुनेछ । जारी प्रतियोगितामा भारत पहिलो र नेपाल दोस्रो स्थानमा कायमै छन् ।
पदक तालिकामा आठौं दिनसम्म भारतले १४५ स्वर्णसहित अग्रता बनाएको छ । ४५ स्वर्णसहित नेपालले भारतलाई पछ्याइरहेको छ ।