नेपालगञ्ज, २२ असार - नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता झलनाथ खनालले नेपालमा पूँजीवाद क्रमशः कमजोर हुँदै गएको बताएका छन् ।
मार्क्स द्विशतवार्षिकीका अवसरमा आज यहाँ आयोजना गरिएको ‘माक्र्सवाद, लोकतन्त्र, समृद्धि, सामाजिक न्याय र समाजवाद’ विषयक प्रादेशिक गोष्ठी उद्घाटन समारोहलाई सम्बोधन गर्दै खनालले सो कुरा बताएका हुन्।
उनले भने, “हामी अहिले समाजवादउन्मुख छौँ, नेपालको समाजवादको आफ्नो छुट्टै विशेषता भएकाले त्यसैका आधारमा विकास र समृद्धिको मार्गचित्र तय गर्नुपर्छ ।”
खनालले आफ्नो वर्ग शत्रु र मित्रलाई चिनेर मात्र कम्युनिष्ट आन्दोलनको लक्ष्य पूरा हुने भएकाले अब मुलुकका कम्युनिष्टले गुटगत राजनीति छाड्नै पर्न बताए।
मार्क्सवादी सिद्धान्त सधैँ जीवन्त भइरहने बताउँदै नेता खनालले यही सिद्धान्तका आधारमा कम्युनिष्ट आन्दोलनको दिशा पनि तय हुने गरेको उल्लेख गरे ।
मार्क्स द्विशतवार्षिकी समारोह प्रदेश नं ५ का संयोजक ठाकुर गैरेको अध्यक्षतामा भएको गोष्ठी उद्घाटन समारोहमा नेकपाका नेताहरु घनश्याम भुसाल र सुरेन्द्र कार्कीले मार्क्सवादी सिद्धान्त कहिल्यै पुरानो नहुने बताउँदै यसको सान्दर्भिकता नेपालको राजनीतिमा अझ बढेको छ जिकिर गरेका छन्।
शनिबारसम्म सञ्चालन हुने उक्त गोष्ठीमा प्रदेश नं ५ अन्तर्गत १२ जिल्लाका नेकपालगायत विभिन्न कम्युनिष्ट पार्टीका गरी करीब एक हजार नेता, कार्यकर्ताको सहभागिता रहेको छ ।
गोष्ठीमा सहभागीलाई आज नेपाल कम्युनिष्ट पार्टी मसालका महामन्त्री मोहनविक्रम सिंह र नेपाली काँग्रेसका नेता प्रदीप गिरीले मार्क्सवादी सिद्धान्त र त्यसको सान्दर्भिकताका विषयमा प्रशिक्षण दिएका थिए।