काठमाडौं । आइसीसी पुरुष टी-२० विश्वकप क्रिकेट प्रतियोगितामा लगातार तेस्रो हार बेहोरेसँगै नेपाल समूह चरणबाट बाहिरिएको छ । आइतबार सम्पन्न खेलमा नेपाल वेस्ट इन्डिजसँग ९ विकेटले पराजित भएको हो ।
नेपाल पहिलो खेलमा इंग्ल्यान्डसँग ४ रनले पराजित भएको थियो भने दोस्रो खेलमा इटालीसँग १० विकेटको हार ब्यहोरेको थियो । यता, लगातार तीन जितसहित वेस्ट इन्डिजले समूह ‘सी’बाट ६ अंक जोड्दै एक खेल अगावै सुपर एटमा आफ्नो स्थान सुरक्षित गरेको हो ।
नेपालले जितका लागि दिएको १ सय ३४ रनको लक्ष्य वेस्ट इन्डिजले १५.२ ओभरमा १ विकेट गुमाएर भेट्टायो । वेस्ट इण्डिजका लागि शाइ होपले अविजित ६१ रन बनाए भने शिमरोन हिटमायरले अविजित ४६ रन बनाएका थिए । त्यस्तै ब्राण्डन किंगले २२ रन बनाएका थिए । बलिङतर्फ नेपालका लागि एकमात्र विकेट नन्दन यादवले लिए ।

त्यसअघि मुम्बईस्थित वानखेडे मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले २० ओभरमा ८ विकेट गुमाएर १ सय ३३ रन बनाएको थियो । नेपालका लागि दीपेन्द्र सिंह ऐरीले ४७ बलमा ३ चौका र ३ छक्कासहित सर्वाधिक ५८ रन बनाएका थिए ।
सोमपाल कामी २६ रनमा अविजित रहेका थिए । यस्तै, लोकेश बमले १३ रन, आसिफ शेखले ११ रन र गुलशन झाले ११ रन बनाउँदा अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन् ।
बलिङतर्फ वेस्ट इन्डिजका लागि जेसन होल्डरले सर्वाधिक ४ विकेट लिए । अकिल हुसेन, म्याथ्यु फोर्डे, समर जोसेफ र रोस्टन चेजले समान १/१ विकेट लिएका थिए । अब नेपालले मंगलबार स्कटल्याण्डविरुद्ध अन्तिम खेल खेल्नेछ ।