काठमाडौं । आइसीसी पुरुष टी-२० विश्वकप क्रिकेट प्रतियोगिताको पहिलो खेलमा नेपाल इंग्ल्याण्डसँग पराजित भएको छ । आइतबार सम्पन्न भएको खेलमा नेपाल दुईपल्टको विश्वविजेता इङ्ल्यान्डसँग ४ रनले पराजित भएको हो ।
इङ्ल्यान्डले जितका लागि दिएको १ सय ८५ रनको लक्ष्य पछ्याएको नेपालले २० ओभरमा ६ विकेटको क्षतिमा १ सय ८० रन मात्र बनाउन सक्यो । नेपालका लागि दीपेन्द्रसिंह ऐरीले २९ बलमा ६ चौका र १ छक्कासहित सर्वाधिक ४४ रन बनाएका थिए ।
कप्तान रोहितकुमार पौडेलले ३४ बलमा २ चौका र २ छक्कासहित ३९ रन जोडे । यस्तै, ओपनर कुशल भुर्तेलले १७ बलमा ४ चौका र १ छक्कासहित २९ रन बनाउँदा लोकेश बम २० बलमा ४ चौका र २ छक्कासहित ३९ रनमा अविजित रहेका थिए ।
ओपनर आसिफ शेखले ७ रन र आरिफ शेखले १० रन बनाए । बलिङतर्फ इङ्ल्यान्डका लागि लियाम एन्ड्र्यु डसनले सर्वाधिक २ विकेट लिए । यस्तै, विल जाक्स, साम करन, जोफ्रा आर्चर र लुक वुडले समान १/१ विकेट लिएका थिए ।

त्यसअघि मुम्बईस्थित वानखेडे मैदानमा जारी खेलमा टस जितेर ब्याटिङ थालेको इंग्ल्यान्डले २० ओभरमा ७ विकेटको क्षतिमा १८४ रन बनाएको थियो । इङल्याण्डका लागि ज्याकब बेथेलले सर्वाधिक ५५ रन बनाए ।
कप्तान ह्यारी ब्रुकले ५३ रन, विल ज्याक्सले ३९ रन, जोश बटलरले २६ रन बनाएका थिए । बलिङमा नेपालका लागि दिपेन्द्र सिंह ऐरी र नन्दन यादवले समान २/२ विकेट लिए । शेर मल्ल र सन्दीप लामिछानेले समान १/१ विकेट लिएका थिए ।