काठमाडौं । आइसीसी टी–२० विश्वकप अगाडिको दोस्रो अभ्यास खेलमा नेपालले क्यानडालाई हराएको छ । भारतको चेन्नाइमा बिहीबार सम्पन्न खेलमा नेपलले क्यानडालाई ६ विकेटले पराजित गरेको हो । यसअघि नेपालले पहिलो अभ्यास खेलमा युएईलाई ७ विकेटले पराजित गरेको थियो ।
क्यानडाले जितका लागि दिएको १ सय ६२ रनको लक्ष्य नेपालले १८ ओभरमा ४ विकेटको क्षतिमा पुरा गर्यो । नेपालको जितमा आसिफ शेखले अर्धशतकीय इनिङ्स खेले । आसिफ २९ बलमा ६ चौका र ३ छक्काको मद्दतमा ५८ रनको योगदान दिएर रिटायर्ड आउट भए ।
त्यसैगरी सन्दिप जोराले ४४ रन, गुल्शन झाले अविजित ३१ रन, कुशल भुर्तेलले १२ रन तथा दीपेन्द्रसिंह ऐरीले अविजित ९ रन बनाए । बलिङतर्फ क्यानडाका लागि जास्करन सिंह, अजयवीर हुन्डाइ र साद बिन जाफरले समान १/१ विकेट लिएका थिए ।

त्यसअघि टस जितेर पहिला ब्याटिंग गरेको क्यानडाले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ६१ रन बनाएको थियो । क्यानडाका लागि नवनीत धालिवालले सर्बाधिक ४१ रन बनाएका थिए ।
त्यसैगरी श्रेयस मोभ्वाले ३८ रन, कनवरपाल ताथगुरले २५ रन र जसकरण सिंहले २१ रन बनाएका थिए । बलिङतर्फ नेपालका लागि सन्दीप लामिछाने र कुशल भुर्तेलले समान २/२ विकेट तथा सोमपाल कामी र नन्दन यादवले समान १/१ विकेट लिएका थिए ।
अब नेपालले टी–२० विश्वकप अन्तर्गत फेब्रुअरी ८ मा इङल्यान्डविरुद्ध खेलेर विश्वकपको शुरुवात गर्ने छ । नेपालले फेब्रुअरी १२ मा इटाली, फेब्रुअरी १५ मा वेष्ट इण्डिज र फेब्रुअरी १७ मा स्कटल्याण्डसँग खेल्ने छ ।
आईसीसी टी–२० विश्वकप आगामी फेब्रुअरी ७ देखि ८ मार्चसम्म भारत र श्रीलंकामा हुनेछ । नेपालले आफ्ना सबै खेल मुम्बईस्थित वाङखडे स्टेडियममा खेल्ने तालिका छ । नेपालको समूह स्कटल्याण्ड, इङल्यान्ड, इटाली र वेष्ट इण्डिज रहेका छन् ।