काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रीमियर लिग (एनपील) को उपाधि लुम्बिनी लायन्सले जितेको छ । शनिबार सम्पन्न भएको फाइनल खेलमा सुदूरपश्चिम रोयल्सलाई ६ विकेटले हराउँदै लुम्बिनी च्याम्पियन बनेको हो ।
गत सिजनको उपविजेता सुदूरपश्चिम यो पटक पनि उपविजेता मै सिमित रह्यो । सुदूरपश्चिमले जितका लागि दिएको ८६ रनको सामान्य लक्ष्य लुम्बिनीले ९ ओभरमा ४ विकेट गुमाएर पूरा गर्याे ।
लुम्बिनीलाई उपाधि दिलाउन दिनेश अधिकारीले १३ बलमा १ चौका र ५ छक्कासहित ४२ रनको विस्फोटक पारी खेले । यस्तै, कप्तान रोहितकुमार पौडेलले १६ रन बनाउँदा डार्सी शर्टले १४ रन जोडे । निरोशन डिक्वेला ११ रन र दिलिप नाथ १ रनमा अविजित रहे ।
बलिङमा सुदूरपश्चिमका लागि हेमन्त धामीले सर्वाधिक २ विकेट लिए । अभिनास बोहरा र कप्तान दीपेन्द्रसिंह ऐरीले समान १/१ विकेट लिएका थिए ।

त्यसअघि, टीयु क्रिकेट मैदान टस जितेर पहिला ब्याटिङ गरको सुदूरपश्चिम रोयल्स १९ ओभर १ बलमा सबै विकेट गुमाउँदै ८५ रनमा समेटिएको थियो । सुदूरपश्चिमका लागि ओपनर इसान पाण्डेले ५१ बलमा १ चौकासहित सर्वाधिक ३३ रन बनाएका थिए ।
यस्तै, कप्तान दीपेन्द्रसिंह ऐरीले १३ रन बनाए भने हरमीत सिंह र स्कट कुगेलिइनले समान १०/१० रन बनाउँदा सुदूरपश्चिमका अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
बलिङमा लुम्बिनीका लागि कप्तान रोहितकुमार पौडेलले ह्याट्रिक सहित ३ विकेट लिए । शेर मल्ल र रुवेन ट्रम्पलम्यानले समान ३/३ विकेट लिँदा तिलक भण्डारीले १ विकेट लिए ।
पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको लुम्बिनी लायन्सले रु एक करोड १० लाख हात पार्यो । उपविजेता सुदूरपश्चिम रोयल्सले रु ५१ लाखमा चित्त बुझायो ।