काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–२ मा विराटनगरमाथि शानदार जित निकाल्दै सुदूरपश्चिम रोयल्स फाइनलमा प्रवेश गरेको छ । मंगलबार भएको पहिलो क्वालिफायर खेलमा विराटनगर किङ्सलाई ७७ रनले हराउँदै सुदूरपश्चिम लगातार दोस्रो पटक फाइनल प्रवेश गरेको हो ।
सुदूरपश्चिमले जितका लागि दिएको १ सय ५६ रनको लक्ष्य पछ्याएको विराटनगर १४ ओभर १ बलमा सबै विकेट गुमाएर ७८ रनमा समेटियो । विराटनगरका लागि ओपनर फाफ डु प्लेसिसले २९ बलमा ३ चौका र १ छक्कासहित सर्वाधिक ३६ रन बनाए ।
मर्चेन्ट डे लाङ्गले १५ रन र बसिर अहमदले १२ रन बनाउँदा विराटनगरका अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् । साम हिजलेट र नरेन भट्टले खाता समेत खोल्न नसकी पभेलियन फर्किए भने मार्टिन गप्टिलले २ रन, लोकेश बमले ५ रन, नारायण जोशीले १ रन, प्रतिश जिसी र कप्तान सन्दीप लामिछाने समान ३ बनाएका थिए ।
बलिङमा सुदूरपश्चिमका लागि हरमित सिंह, अविनाश बोहरा र स्कट कुगलाइनले समान २/२ विकेट लिए । हेमन्त धामी र कप्तान दिपेन्द्र सिंह ऐरीले समान १/१ विकेट लिएका थिए ।
.jpg)
त्यसअघि टीयु क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ५५ रन बनाएको थियो । सुदूरपश्चिमका लागि ओपनर विनोद भण्डारीले ५२ बलमा ३ चौका र २ छक्कासहित सर्वाधिक ६३ रन बनाए ।
शेल्डन ज्याकसन २० रन, आरिफ शेख २० रन, हर्मित सिंह १४ रन, इशान पाण्डे १३ रन, मुख्तार अहमद १० रन र कप्तान दीपेन्द्रसिंह ऐरी ३ रनमा आउट भएका थिए । मिलन बोहरा ५ रन र स्कट कुगेलेइन १ रनमा अविजित रहे ।
बलिङमा विराटनगरका लागि मार्चन्ट डि लिङ र प्रतिश जिसीले समान २/२ विकेट लिए । सूर्य तामाङ र साम हिटलेटले समान १/१ विकेट लिएका थिए ।
जितसँगै सुदूरपश्चिमले लगातार दोस्रो पटक फाइनलमा स्थान सुरक्षित गरेको छ । पहिलो सिजनमा सुदूरपश्चिम फाइलनमा जनकपुर बोल्ट्ससँग पराजित भएको थियो । यद्यपि, पराजित विराटनगरलाई फाइनल पुग्ने एक मौका भने जिवितै छ ।
भोलि दिउँसो ४ बजे हुने एलिमिनेटर अन्तरगत काठमाण्डु गोर्खाज र लुम्बिनी लायन्सबीचको विजेतासँग विराटनगरले बिहीवार फाइनल प्रवेशका लागि खेल्नेछ । त्यसको विजेताले शनिवार सुदूरपश्चिमसँग फाइनल खेल्नेछ ।