काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–२ मा सुदूरपश्चिममाथि शानदार जित निकाल्दै विराटनगर किंग्स क्वालिफायरमा प्रवेश गरेको छ । शनिबारको भएको खेलमा विराटनगरले सुदूरपश्चिम रोयल्सलाई ६ विकेटले हराउँदै क्वालिफायरमा प्रवेश गरेको हो ।
क्वालिफायरमा पुग्नका लागि फराकिलो जित आवश्यक रहेको विराटनगरले सुदूरपश्चिम विरुद्ध विष्फोटक ब्याटिङ गर्दै शानदार जित निकाल्यो । योसँगै प्रतियोगितामा अपराजित सुदूरपश्चिमले पहिलो हार चाखेको छ ।
सुदूरपश्चिमले जितका लागि दिएको १ सय ४७ रनको मध्यम चुनौती विराटनगरले ११ ओभर ५ बलमा ४ विकेट गुमाएर पूरा गर्यो । विराटनरको लागि ओपनर साम हेजलेटले २७ बलमा ३ चौका र ४ छक्कासहित सर्वाधिक ५१ रनको अर्धशतकीय इनिङ खेलेका थिए ।
ओपनर फाफ डुप्लेसिसले १९ बलमा ५ चौका र ४ छक्कासहित ५० रनको विष्फोटक अर्धशतकीय पारी खेले । मार्टिन गप्टिल २२ रन र बसिर अहमद ८ रनमा आउट भए । लोकेश बम ३ रन र प्रतिश जिसी १३ रनमा अविजित रहे । बलिङमा सुदूरपश्चिमका लागि अभिनास बोहराले २ विकेट लिँदा हर्मित सिंहले १ विकेट लिएका थिए ।

त्यसअघि टीयु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ४७ रन बनाएको थियो । सुदूरपश्चिमका लागि आरिफ शेखले ३२ बलमा १ चौका र ३ छक्कासहित अविजित सर्वाधिक ४५ रन बनाए ।
इसान पाण्डेले ३५ बलमा २ चौका र २ छक्कासहित ३८ रन, जोश ब्राउन २४ रन, कप्तान दीपेन्द्रसिंह ऐरी १९ रन र ओपनर विनोद भण्डारी १५ रनमा आउट भएका थिए ।
बलिङमा विराटनगरका लागि कप्तान सन्दीप लामिछानेले सर्वाधिक ३ विकेट लिए । प्रतिश जिसीले २ विकेट लिँदा बसिर अहमदले १ विकेट लिएका थिए । आज दोस्रो खेलमा चितवन राइनोज र पोखरा एभेन्जर्सले दिउँसो ३ः३० बजे प्रतिस्पर्धा गर्नेछन् ।