काठमाडौं । छैटौं एसियाली महिला कबड्डी च्याम्पियनसिपको कांस्य विजेता नेपाली टोलीलाई सोमबार स्वागत गरिएको छ । राष्ट्रिय खेलकुद परिषद्का सदस्य-सचिव टंकलाल घिसिङ, अखिल नेपाल कबड्डी संघकी अध्यक्ष तुल्सी थापा, कबड्डीकी मुख्य प्रशिक्षक पार्वती राई, प्रशिक्षक, खेलाडीलगायतले टोलीलाई त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए ।
इरानको तेहरानमा भएको प्रतियोगिताको समूह चरणमा नेपालले इराकलाई ६८–६ ले पराजित गरेको थियो । नेपालसहित तीन राष्ट्र रहेको समूह चरणको अर्को खेलमा भने नेपाल इरानसंग ४७–१४ ले पराजित हुँदै समूह उपविजेताका रुपमा सेमिफाइनल प्रवेश गर्दै कांस्य पदक पक्का गरेको थियो । सेमिफाइनलमा भारतले नेपाललाई ५६–१८ ले हराएको थियो ।
फागुन २० देखि २४ गतेसम्म भएको प्रतियोगितामा नेपालसंगै बंगलादेश पनि संयुक्त रुपमा तेश्रो भयो । भारत पहिलो र इरान दोश्रो स्थानमा रहे । चीनको हाङझावमा भएको १९औं एसियाली खेलकुदमा पनि नेपाली महिला कबड्डी टोलीले कांस्य जितेको थियो ।
सदस्य-सचिव घिसिङले एसियाली खेलकुदमा कबड्डी टोलीलाई सहभागी गराएकोमा आफूले धेरै आलोचना खेप्नु परेको स्मरण गर्दै भने, ‘१९औं एसियाली खेलकुदमा महिला कबड्डी टोलीलाई सहभागी गराउदा मैले धेरै आलोचना खेप्नु परेको थियो । एसियाली खेलकुदमा नेपालले पदक जितेर इतिहास नै रच्यो । आज फेरी महिला टोलीले एसियाली च्याम्पियनसिपमा पदक जित्दै मेरो निर्णय सही सावित गर्दै सिंगो राष्ट्रलाई गौरवान्वित बनाएको छ । बधाई छ तपाईहरुलाई । अब म टोलीले विश्वकपमा पदक जितेको हेर्न चाहन्छु ।’
सदस्य-सचिव घिसिङले राष्ट्रिय खेलकुद विकास नियमावली-२०७९ मा भएको व्यवस्था अनुसार टोलीको नगद पुरस्कारका लागि सिफारिस गर्ने बताए । टोलीकी कप्तान मानमति विष्टले परिषद्ले कबड्डीलाई गरेको विश्वासकै कारण कबड्डीले एकपछि अर्को सफलता हात पारेको बताउदै राष्ट्रका लागि पदक जित्न सकेकोमा खुशी व्यक्त गरिन् ।
प्रतियोगितामा नेपालसहित भारत, इरान, इराक, बंगलादेश, थाइल्यान्ड र मलेसिया गरी ७ राष्ट्र सहभागी थिए । सहभागीलाई २ समूहमा विभाजन गरी लिग कम नकआउट आधारमा खेल खेलाइएको थियो । खेलाडीमा मानमतिसहित जयन्ती बडू, रविना चौधरी, गंगा घिमिरे, सिर्जनाकुमारी थारु, निशा बोहरा, निशा खत्री, मनीषा जोशी, आस्मा यादव र विनिता पण्डित क्षेत्री रहेका छन् । अफिसियलमा कबड्डी संघका महासचिव अरविन्दकुमार झा, प्रशिक्षकमा हरिना थापा छन् भने नितु गुरुङ निर्णायकको भूमिका निर्वाह गरेकी थिइन् ।