कान्तिपुर कलेजमा ब्याचलर प्रथम वर्षमा अध्ययनरत १९ वर्षका प्रशान्त राउतले गत शनिबार (यहि पुसको २० गते) आत्महत्या गरे । कारण थियो, व्हाट्सअपमार्फत अनलाइन गेम । भोजपुर जिल्ला नगरपालिका वडा नं.५ घर भई हाल गोकर्णेश्वरस्थित सुन्दरीजल बस्ने अम्बर बहादुर राउत र सरिता राउतका एक्ला सुपुत्र थिए, प्रशान्त । उनको मृत्युवरणपछि यतिबेला गोकर्णेश्वरस्थित किरियापुत्री भवनमा शोकमा रहेका बुबा अम्बर र आमा सरिता १३ दिने काम (काजकिरिया)मा बसेको दृष्य हृदयविदारक छ । उनै दम्पतीलाई सान्त्वना दिन यतिबेला आफन्त, साथीभाई, चिनजानको भिड लाग्ने गर्छ । सोही भिडमा रहेका मिडियाकर्मीसँग पनि मृतकका बुबा अम्बरले भक्कानिदै मृत्युको कारणबारे विस्तृत रुपमा जानकारी गराए र यस्तो कारणले अब कसैले मृत्युवरण गर्नु नपरोस भनेर जनचेतना फैलाउन अति आवश्यक रहेको भन्दै आफूमा परेको यो घटना सबैलाई थाहा दिन आग्रह गरे ।
आखिरी किन आत्माहत्या गरे त प्रशान्तले ?, भन्ने जिज्ञासामा शोकमा रहेका अम्बरले घटनाको विस्तृत यसरी सुनाए :–
मेरो बाबु अब आउने फागुन १४ गते २० वर्षको हुन्थ्यो । अहिलेसम्म मेरो बाबु कुनै नराम्रो क्रियाकलापमा हिडेको हामीलाई थाहा छैन । धेरै साथीभाई बनाउने, बारालिएर हिडडुल गर्ने खालको पनि थिएन । सोझो भलाद्मी खालको व्यक्ति थियो । बाबुले यहि पुस १६ गतेबाट एउटा गिरोह टोलीको एप्स पाएछ । त्यो एप्सबाट पैसाको चलखेल गरी बच्चाहरुलाई लोभ्याएर गेम खेलाइदो रहेछ । सुरुमा त्यो एप्स पठाएपछि दुई सय रुपैयाँ उनीहरुले नै बैंक खातामा हालिदिएछन । दुई सय पठाएपछि सस्क्राइभ गर भन्ने र त्यसपछि उनीहरुले अर्को दुई सय थपिदिने गर्दैगर्दै छ/सात हजार पुर्याइदिएछन् । मेरो बाबुको नेपाल बैंक लिमिटेडको खाता थियो, त्यसमा पैसा आउदो रहेछ । त्यसपछि फेरि त्यो पैसा यो क्यूआरमा हाल भनेर उनीहरुले नै माग्दा रहेछन । दिने पनि उनीहरु नै र त्यो जम्मा भएको पैसा फेरि विभिन्न क्यूआरमार्फत माग्ने पनि उनीहरु नै गर्दा रहेछन् । छ/सात हजार रुपैयाँ जम्मा भएपछि त्यो पैसा हाम्रोमा हाल त भनेर फेरि उतै मागेछन् र उताबाट १६ हजार बनाएर पठाएछन् । त्यति जम्मा भएपछि बाबुले सात हजार रुपैयाँ बैंकबाट झिकेर पनि ल्याएछ । जम्मा गरिदिएको पैसा यसमा हाल त भनेर फेरि माग्ने अनि एकछिन बच्चालाई गेमजस्तो पनि खेल्न दिने गर्दा रहेछन् ।
त्यही भित्र सञ्जाल बनाएर एकचोटी एउटाको क्यूआर पठाउने र अर्कोपटक अर्कोको क्यूआर पठाउने गरेर बच्चाहरुको मनमस्तिष्कनै त्यतातिर भुलाइदिने रहेछन् । त्यस्तो गर्दागर्दै यही १९ गते बेलुका एउटा क्यूआर पठाएर ३९ हजार आठ सय रुपैयाँ मागेछन् । अनि मसँग बाबा पैसा छ त तपाईसँग, मैले ३९ हजार हाले भने मलाई ३० प्रतिशत जोडिएर ५१ हजार सात सय रुपैयाँ भएर आउछ भनेर बाबुले भन्यो । उताबाट पैसा पठाएको एक मिनेट २५ सेकन्डमा पैसा थपिएर आउछ भनेर मागिएको रहेछ । मैले पनि होला नि त भनेर भएको एउटा सन्तानले पहिलो पटक मागेपछि दिए । त्यो पैसा मेरो बैंकबाट बाबुले आफ्नो खातामा हालेर उतातिर पठायो । त्यो पैसा हालेको एक मिनेट २५ सेकन्डमा आउछ भनेको थियो तर फिर्ता आएन । त्यो नआइसकेपछि उसले बाटो हेर्दै बस्यो त्यसपछि केही समयपछि बिहानको पौने ८ बजेतिर एक लाख २९ हजार हाल तेरो सबै पैसा एकमुष्ठमा जम्मा भएर ८ बजेसम्म आइपुग्छ भनेछ । यसबारे फेरि बाबुले सुनाएपछि मैले एकजना व्यक्तिलाई फोन गरेर यसबारे सोध्दाखेरी उसले यो सबै ह्याकर टोलीहरु, गिरोहहरु हो, दुई जना बच्चाहरुको एउटाको तीन लाख र अर्कोको साढे तीन लाख फसेर मर्नु न बाच्नुको अवस्थामा पुर्याएको छ, छोरालाई तुरुन्तै ब्लक गराउन लगाउनुस भनेपछि म पनि बाहिर फिल्डमा भएकाले बाबुलाई तुरुन्त फोन गरेर त्यो ह्याकर टोली रहेछ, परिचालन गिरोह हो यो कुनै पनि हालतमा पैसा कमाउने माध्यम होइन बाबु त्यसलाई बन्द गरिहाल भने । अगाडीको पैसा गए पनि जाओस बरु म मतलब गर्दिन भन्दाखेरी बाबुले पनि हस बाबा भनेर भन्यो । त्यसपछाडि बन्द गर्यो होला भनेर म बेलुका घर आएर त्यसबारे सोधिखोजी नगरिकन सुतिहाले ।
भोलिपल्ट बिहान पो मामु मैले एकलाख २९ हजार पैसा हाले भने अगाडिको बाबाको पैसा पनि फिर्ता आउथ्यो । एकमुष्ठमा आउछ, पैसा हाल भनिराखेको छ भनेर ममिसँग छटपट छटपट गरिराखेछ । अगाडि बुबाको गएको पैसा फिर्ता दिन पाए हुन्थ्यो, आउथ्यो भन्ने लागेर छटपट गरिराखेको बेलामा उनीहरुले बाबुलाई प्रलोभन देखाइराखेका रहेछन् । बाबुले एउटा सानो सुनको टप पनि लगाइराखेको थियो, अनि उसले त्यो टप देखाउदै मामु यो मेरो टप, मोबाइल, ल्यापटप बेचेर पैसा हाल्न पाए हुन्थ्यो भनेछ । नदिउ भने पनि आमालाई अप्ठ्यारो पर्ने त्रास, दिउ भने पनि बाबालाई नभन्नु है भनेछ, बाबुले । त्यसपछि ममिले उनकै भाउजुलाई भनेर बाबुकै क्यूआरमा एकलाख पठाइदिनु भएछ र अर्को २९ हजार चाहिँ यताउति खोजखाज गरेर दिएछ । अनि त्यो दिन बिहान १० बजेर एक मिनेटमा एक लाख रुपैयाँ र १० बजेर तीन मिनेटमा अर्को २९ हजार रुपैयाँ पठाएछ । त्यसपछि त त्यो ह्याकर टोलीले सर्लकै बाबुलाई ब्लक गरिदिएछ । ब्लक गरिदिएलगत्तै छोरो गएर झुण्डिएछ । यसरी मेरो छोरोले दुई/तीन दिन भित्रमा गिरोह टोलीको जालमा फसेर आत्महत्या गर्नुपरेको अवस्था छ ।
यसरी घटनाबारे जानकारी गराउँदै गर्दा उनी घरिघरि स्तब्ध हुन्थे, भक्कानिन्थे र फेरि मनलाई दह्रो पारेजस्तो गरि जिज्ञासुलाई घटनाबारे जानकारी गराउथे । सँगै शोकमा रहेकी मृतककी आमाको पनि आँखा ओभानो थिएन, उनी बोल्न सक्ने अवस्थामा थिइनन्, रुदारुदा आँखा र अनुहार सुन्निएका थिए । मृतक प्रशान्तका बुबा अम्बरले भक्कानिदै फेरि भने, ‘मेरो एउटै छोरा हो, मैले राम्रो तरिकाले हुर्काउँदा हुर्काउँदै गिरोहको टोलीले गर्दा ज्यान फाल्न बाध्य बनायो । मेरो छोरो हो तर उ मेरो साथी जस्तै थियो । कहिले काहिँ मलाई कुनै संघसंस्थातिर जानु पर्यो भने उसैलाई लिएर जाने गर्थे । उ नेपालमै ब्याचलर गरेपछि जागीर खान्छु, विदेश जान्न बाबा भन्थ्यो । हाम्रो पनि एउटा छोरो विदेशमा गएर केही गर्नुभन्दा नेपालमै बसेर केही गरोस भन्ने सोच थियो । केही दिनको गिरोहको क्रियाकलापले गर्दा मेरो छोरालाई साथी पनि बनाएन, छोरा पनि बनाएन । न त उसले बुबाआमा नै चिन्न सक्यो । उसले आफैले आफूलाई यो संघारमा पुर्यायो, हामीलाई केही थाहा भएन । हामी आमाबुबाले नै छोरा भनेका थियौं तर बाबुले हामीलाई चिन्न सकेन । सायद बाबुले गिल्टीफिल गरेर आत्महत्या गर्यो जस्तो लाग्छ ।’
फजुल खर्चको लागि बुवाआमासँग कहिल्यै पनि पैसा नमाग्ने, खाजा खान दिएको पैसा पनि धेरै खर्च नगर्ने, सिमित बाहेक बाहिर अन्य व्यक्तिहरुसँग खासै हिडडुल नगर्ने अनुशासित रहेका प्रशान्तलाई तीन दिनभित्रमा एकोहोरो बनाएर, प्रलोभन देखाएर गिरोह टोलीले ज्यान लिएको बताउछन्, अम्बर । उनी स्तब्ध हुँदै पुन:भन्छन्, ‘बाबुप्रति श्रद्धाञ्जली अर्पण गर्दै अरु पनि यस्तो शोकमा नपरुन र अरुलाई यो घटना सञ्चार होस भन्ने चाहन्छु । यो गिरोहको टोलीले मेरो छोरालाई त लग्योलग्यो अरुलाई पनि लान्छ, यस्ता क्रियाकलापबाट सचेत गराउन मिडिया, राज्य नै लाग्नु पर्छ ।’
अम्बरले छोराको घटनाका सम्बन्धमा छानबिन गर्न प्रहरी वृत्त बौद्ध, केन्द्रीय अनुसन्धान ब्यूरो(सीआईबी)मा जाहेरी दिएका छन् । उनले छोराले गरेको क्रियाकलापहरु, भएका प्रमाण र मोबाइलसहित प्रहरीलाई बुझाएको बताए । उनले यस घटनालाई सचेतनाको रुपमा अहिलेका बाबुनानीलाई जानकारी गराउन जरुरी रहेको भन्दै यो पाठले अरु बालबालिकालाई पनि मर्न बाध्य नबनाओस र देशव्यापी अर्थात राज्यले नै अनुसन्धान गरेर गिरोहबाट समाधान हुने अभियान चलाओस भन्ने आफ्नो विनम्र अनुरोध रहेको बताए । उनले भने, ‘मेरो छोराको श्रद्धाञ्जली अहिलेसम्म भइराखेको छ, मेरो छोराको यो घटना अन्यमा नपरोस, देशैभरि भइराखेका यस्ता गिरोहका घटनालाई रोकियोस, पत्रकारहरुलाई कृतज्ञ गर्दै यो अवस्था बाहिर ल्याइदिनु हुन अनुरोध गर्दछु । यो गिरोह टोली के हो, कहाँ र कुन देशबाट परिचालित हो, यसलाई राज्यले नै निगरानी गरेर अब अरुलाई बचाउनु पर्छ र यो मेरो घटनाले सबैलाई चेतना दियोस् ।’ प्रशान्तको मृत्युवरणको यस घटनाले जोकोहीलाई स्तब्ध बनाउछ । पछिल्लो समय सामाजिक सञ्जालमार्फत सजिलै पैसा कमाउन सकिने प्रलोभनमा युवाहरु लोभिदै र फस्दै गरेका धेरै घटना बाहिर आएका छन् । यस्ता घटनाप्रति बेलैमा सम्बन्धित निकायले ध्यान पुर्याउन जरुरी छ ।