काठमाडौं । जेम्स स्कुलको आयोजनामा संचालन भइरहेको थन्डर बोल्ट्स कप २०२४ अन्तर्गत यु–१८ पुरुष समूहको भलिबल खेलमा माउन्ट ओलिभ स्कुल च्याम्पियन बनेको छ । शुक्रबार भएको फाइनलमा टोलीले नेपाल पुलिस स्कुललाई पराजित गर्यो । फुल्चोकी माविले तेस्रो स्थान हात पार्यो ।
त्यस्तै, बास्केटबलको यु–१८ छात्र र छात्रा दुवैको समूह चरणको खेल सकिएको छ । यु–१८ छात्रको समूह चरणको प्रतिस्पर्धाबाट निस्ट स्कुल, टाइम्स इन्टरनेसनल कलेज, गोल्डेनगेट इन्टरनेसनल कलेज, बर्नहार्ट कलेज, काठमान्डु वर्ल्ड स्कुल, रातो बङ्गला स्कुल, जेभियर इन्टरनेसनल कलेज र एलआरआई स्कुल क्वाटर फाइनलमा प्रवेश गरेका छन् । यु–१८ छात्रातर्फ भने भ्याली पब्लिक स्कुल, बुढानिलकण्ठ स्कुल, काठमान्डु वर्ल्ड स्कुल, रिब्स स्कुल, जेम्स स्कुल, जेभियर इन्टरनेसनल कलेज, नामी कलेज र बर्नहार्ट कलेज आ-आफ्नो खेलमा विजयी भई क्वाटर फाइनलमा प्रवेश गरेका छन् ।
फुटबल खेलतर्फ १२ वर्षमुनि छात्र समूह चरणको खेलमा लिटिल फ्लावर स्कुलले शिखर स्कुलकाविरुद्ध ७–० गोलले पराजित गर्यो । त्यसैगरी, ब्लुम स्कुलले लर्डसलाइट एकेडेमीलाई ३–० को गोलले, जेम्स स्कुलले गोल्डेन स्कुललाई २–० गोल अन्तरले र एपिएफ स्कुलले सेन्ट जेभियर्स स्कुललाई ३–० गोलले हरायो । क्रिकेटतर्फ १८ वर्षमुनि छात्रको समूहचरणको प्रतिस्पर्धामा एलआरआई स्कुलले जेम्स स्कुललाई ४ विकेटले तथा भीएस निकेतन स्कुलले टेक्सस इन्टरनेसनल कलेजलाई ५ रनले पराजित गर्यो ।
त्यस्तै, अर्को खेलमा टेक्सस इन्टरनेसनल कलेजले एलआरआई स्कुललाई ४३ रनले पराजित गर्यो । जेम्स स्कुलको आयोजनामा भइरहेको थन्डर्स बोल्ट्स कपमा विभिन्न १२ खेलमा उपत्यकाभित्र र बाहिरका गरी १४० विद्यालय र ४ हजारभन्दा बढी खेलाडीहरुबीच प्रतिस्पर्धा चलिरहेको छ ।