काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को लिग चरणको अन्तिम खेलमा कर्णाली याक्सलाई पराजित गर्दै सुदूरपश्चिम रोयल्सले क्वालिफायरमा स्थान बनाएको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुर मैदानमा आज सोमबार बिहान भएको खेलमा सुदूरपश्चिमले कर्णालीमाथी ६ विकेटको जित हात पारेको हो ।
कर्णाली याक्सले दिएको १ सय २ रनको सामान्य लक्ष्य सुदूरपश्चिमले १५.२ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो । यो जितका साथ बुधबार हुने पहिलो क्वालिफायरमा सुदूरपश्चिमले जनकपुर बोल्ट्ससँगको भेट पक्का गरेको छ । सुदूरपश्चिमको जितमा कप्तान दीपेन्द्रसिंह ऐरी र इशान पाण्डेले समान ३८ रन जोडे । इशान नट आउट रहँदा कप्तान दीपेन्द्र नन्दन यादवको बलमा आउट भए ।ओपनर सेफ जेबले ११ रन जोडे । कर्णालीका लागि कप्तान सोमपाल कामी, विपिन शर्मा र नन्दन यादवले समान १ विकेट लिए ।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको कर्णाली याक्सले निर्धारित २० ओभरको अन्तिम बलमा अल आउट हुँदै १ सय १ रनको योगफल तयार गर्यो । कर्णालीका जिशान मक्शुदले सर्वाधिक ३० रन बनाए । उनले ३५ बलमा ४ चौका प्रहार गरे । मक्शुद १८औं ओभरको चौथो बलमा कप्तान दीपेन्द्र सिंह ऐरीको बलमा आउट भए । पाँचौ विकेटका लागि विलियम बोसिस्टो र मक्शुदले ३९ रनको साझेदारी गरे । बोसिस्टोले २४ बलमा १६ रन जोड्दै कप्तान दीपेन्द्रसिंह ऐरीको बलमा आउट भए । चाल्डिक वाल्टन १६ बलमा १४ रन जोड्दै आउट भए । उनलाई सेफ अली जेबको एलबिडबलु सिकारमा परे । ओपनर बाबर हायत ९ बलमा १३ रन जोड्दै आउट भए । दोस्रो ओभरको अन्तिम बलमा बाबर आउट भएका हुन् । लगातार २ चौका प्रहार गरेका बाबरले तेस्रो बलमा समेत ठुलो सटको प्रयास गर्दा अभिनाश बोहोराको बलमा आउट भए ।
पहिलो ओभरको अन्तिम बलमा कर्णालीले ओपनर रित गौतमलाई रनको खाता नखोल्दै गुमाएको थियो । तेस्रो विकेटका रुपमा देव खनाल १२ बलमा ७ रन जोड्दै रन आउट भए । दोस्रो ओभरको पहिलो बलमा स्कट कुग्गेलेइनको बलमा बाबरको प्रहार बचाउने क्रममा बाउन्ड्रिमा नरेन साउद घाइते हुन पुगे । नरेन घाइते भएपछि फिल्डिङमा खडक बोहोरा गएका थिए । कप्तान सोमपाल कामी ९ बलमा ११ रन जोड्दै कुग्गेलेइनको बलमा आउट भए । गुलशन झा २ बलमा २ रन जोड्दै रन आउट भए । सुदूरपश्चिमका लागि हर्मित सिंहले ३, कप्तान दीपेन्द्र र कुग्गेलेइनले समान २ तथा सेफ अली जेब र हर्मित सिंहले समान १ विकेट लिए ।
सुदूरपश्चिमले १२.२ ओभरमा लक्ष्य पूरा गरेमा काठमाडौं गुर्खाजले प्ले अफमा स्थान बनाउने अवस्था रहेको थियो । तर, त्यो सम्भव हुन नसक्दा काठमाडौं प्रतियोगिताबाट बाहिरियो । कर्णाली याक्स नेपाल प्रिमियर लिग एनपीएलको प्लेअफमा पुग्ने चौथो टोली बनेको छ । काठमान्डु गुर्खाज भने लिग चरणबाट बाहिरिएको छ । आज भएको लिग चरणको अन्तिम खेलमा सुदूरपश्चिमले कर्णालीलाई दिएको १०२ रनको लक्ष्य १३ ओभरभित्र पूरा गरेको भए काठमाडौं गुर्खाज प्लेअफमा पुग्ने थियो । तर, सुदूरपश्चिमले १३ ओभरमा लक्ष्य भेट्टाउन नसकेपछि कर्णाली याक्स अब प्लेअफ पुगेको हो ।