काठमाडौं । राजधानीमा जारी नेपाल प्रिमियर लिग (एनपीएल)को आजको दोस्रो खेलमा कर्णाली याक्सले पोखरा एभेन्जर्सलाई ७ विकेटले पराजित गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको दोस्रो खेलमा पोखराले दिएको एक सय चार रनको लक्ष्य पछ्याएको कर्णालीले १५ ओभरमा तीन विकेट गुमाएर पूरा गर्यो ।
कर्णालीका लागि गुल्सन झाले अविजित ४९ रन बनाए । यस्तै, चाडविक वाल्टन ४२, बाबर हायातले ७ र विलियम बोसिस्टोले २ रनको योगदान दिए । कर्णालीले अतिरिक्त ६ रन प्राप्त गर्यो । पोखराका लागि विपिन खत्री, सागर ढकाल र कुशल भुर्तेलले समान १/१ विकेट लिए । कर्णालीको यो तेस्रो जित हो । जारी एनपिएलमा ५ खेल खेलेको कर्णाली यसअघि दुई खेलमा पराजित भइसकेको छ ।
त्यसअघि, टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएको पोखराले १६ दशमलव ३ ओभरमा सबै विकेट गुमाएर एक सय तीन रन बनाएको थियो । पोखराको लागि दिनेश खरेलले सर्वाधिक २६ रन बनाए । उनले १९ बलमा एक छक्का र चार चौका समेत प्रहार गर्दै २६ रन बनाएका हुन् । एन्ड्रिज गौसले २५, रेमन रेफरले २०, कप्तान कुशल भुर्तेल र विपिन खत्रीले समान १०/१० रन बनाए ।
यस्तै, दिलीप नाथले ३, माइकल लिस्कले २, नारायण जोशी र आकाश चन्दले समान एक/एक रनको योगदान दिए । पोखराले अतिरिक्त ५ रन प्राप्त गर्यो । कर्णालीको लागि विलियम बोसिस्टोले सर्वाधिक ६ विकेट लिए । यस्तै, कप्तान सोमपाल कामी, विपिन शर्मा र युनिश ठकुरीले समान एक/एक विकेट हात पारेका थिए । पोखराको यो तेस्रो हार हो । जारी एनपिएलमा ४ खेल खेलेको पोखराले एक खेल मात्रै जितेको छ ।