काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा काठमाडौं गुर्खाजले कर्णाली याक्सलाई पराजित गरेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको कर्णालीलाई काठमाडौंले तीन विकेटले पराजित गरेको हो ।
खेलमा काठमाडौं गुर्खाजले टस जितेर बलिङ रोजेको थियो । टसमा काठमाडौंका कप्तान करण केसीले टस जितेर बलिङ रोजेका थिए । यसअघि दुवै टोली पहिलो खेलमा पराजित भएका हुन् । काठमाडौँ पहिलो खेलमा चितवन राइनोजसँग पाँच विकेटले पराजित भएको थियो भने कर्णाली जनकपुर बोल्टससँग आठ विकेटले पराजित भएको थियो ।
टस हारेर पहिला ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरको खेलमा पाँच विकेट गुमाएर एक सय ४९ रनको योगफल बनायो । एक सय ५० रनको विजयी लक्ष्य काठमाडौंले १९ दशमलव तीन ओभरमा सात विकेट गुमाएर पूरा गर्यो । काठमाडौं गुर्खाजका लागि सुमित महर्जनले अविजित ४० रन बनाए । उनले ३७ बल खेल्दै तीन चौका र एक छक्का हाने । यस्तै जेरार्ड एरास्मसले २८ बलमा ३८ रनको योगदान दिए । यसमा उनको तीन चौका र दुई छक्का सामेल थिए । यस्तै कप्तान करण केसीले १० बलमा दुई छक्का र दुई चौकाको मद्दतमा २८ रन बनाए । यसैगरी माइकल लेभिटले १९ बल खेल्दै दुई चौका र एक चौकासहित २२ रन बनाए । बलिङतर्फ कर्णाली याक्सका लागि सोमपाल कामी, नन्दन यादव, गुल्सन झा, जिशन मक्सुद र विपिन शर्माले एक एक विकेट लिए ।
यसअघि कर्णाली याक्सका लागि एक सय ४९ रनको योगफल बनाउने क्रममा शिखर धवनले अद्र्धशतकीय पारी खेले । उनले ५१ बलमा चार चौका र पाँच छक्काको मद्दतमा अविजित ७२ रनको योगदान दिए । यसैगरी चाल्डिक वाल्टनले १५ बलमा पाँच चौकाको सहयोगमा २१, बाबर हायातले १८ बलमा १३ रन, गुलशन झाले १९ बलमा एक चौकाको मद्दतमा १२ तथा जिशन मक्सुदले ११ बल खेल्दै एक चौकाको सहयोगमा १४ रन बनाए । बलिङतर्फ काठमाडौँका लागि जेहार्ड एरास्मसले दुई तथा नाथन स्वटर, दीपेश कँडेल र कप्तान करण केसीले एक एक विकेट लिए ।
काठमाडौंको टोलीमा कप्तान करण केसीसहित भीम सार्की, साहव आलम, शङ्कर राना, रसिद खान, सुमित महर्जन, दिपेश कँडेल, माइकल लेभिट, स्टेफन स्किनाजी (विकेटकिपर), जेरार्ड इरास्मस र नाथन सोउटर छन् भने कर्णालीको टोली कप्तान सोमपाल कामीसहित शिखर धवन, गुल्सनकुमार झा, अर्जुन घर्ती, विपिनप्रसाद शर्मा, भुवन कार्की, नन्दन यादव, चाडविक वाल्टन (विकेटकिपर), देव खनाल, बाबर हायत र जिसन मक्सुद छन् ।