काठमाडौं । झापा १-काठमाडौं कप’ फुटसल प्रतियोगिता मंसिर १ गते शनिबारदेखि हुने भएको छ । झापा-१ सांसद सचिवालय, काठमाडौं तथा नेपाली कांग्रेस झापा-१ काठमाडौं सम्पर्क समिति, काठमाडौँको आयोजनामा हुने उक्त प्रतियोगिता डिएभी स्कुल जावलाखेल, ललितपुरमा हुनेछ । यसअघि असोज १२ गतेका लागि निर्धारित प्रतियोगिता भारी बर्षाका कारण स्थगित भएको थियो ।
प्रतियोगिताको उदघाटन सभामुख देवराज घिमिरेले गर्ने कार्यक्रम छ । प्रतियोगितामा ७ वटा टिम समावेश हुने भएका छन । ३० वर्ष मुनीका खेलाडी सहभागी हुने फुटसल प्रतियोगितामा झापा क्षेत्र नं.१ का ७ वटा टिमबीच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ ।जसमा क्षेत्र नं.१ का साविकका गाविस शान्तिनगर, बाहुन्डाँगी, धाइजन, मेचिनगर, ज्यामिरगढी, दुहागडी र चन्द्रगडीबीच प्रतिस्पर्धा हुनेछ ।
प्रतियोगितामा विजेता हुने टीमले २१ हजार नगदसहित ट्रफी र सम्मानपत्र पाउने छन भने दोश्रो हुने टीमले ११ हजार नगदसहित ट्रफि र सम्मानपत्र पाउने आयोजक संस्था झापा १ काठमाडौं सम्पर्क समितिका प्रमुख प्रज्वल कोइरालाले जानकारी दिए । उक्त अवसरमा झापाका राजनैतिक दलका नेता भर्सेस झापाका कलाकारबीच मैत्रीपूर्ण खेल हुनेछ ।
सो खेलमा राप्रपा अध्यक्ष राजेन्द्र लिङंदेन, कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा, एमाले नेता रवीन कोइराला, एलपी साँवासहितका नेताहरू खेल्ने छन् भने कलाकारकातर्फबाट सीताराम कट्टेल, प्रमोद खरेल, एलिना चौहान, विल्सन विक्रम राई, टीका भण्डारी, प्रकाश सुवेदी, हेमन्त बुढाथोकी लगायत भिड्ने छन् ।
साथै, पेशा व्यवसायी भर्सेस कर्मचारी, झापा क्षेत्र नं.१ क र ख का महिला टीमबीच मैत्रीपूर्ण खेल समेत हुने भएको छ । झापाबाट काठमाडौं आइ बसोबास गर्ने, व्यापार व्यवसाय गर्ने र विद्यार्थीहरुलाई लक्षित गरि उक्त खेलको आयोजना गरिएको छ ।