पोखरा । पोखराको नदीपुरमा ८औँ क्लबस्तरीय पुरुष तथा महिला भलिबल प्रतियोगिता हुने भएको छ । पोखरा भलिबल प्रशिक्षण केन्द्रको आयोजनामा हुन गइरहेको प्रतियोगिता यही असोज ९ गतेदेखि १३ गतेसम्म नदीपुरस्थित छन्त्याल समाजको खेल मैदानमा हुने भएको हो ।
प्रतियोगिताका संयोजक मनोज खड्काका अनुसार पुरुषतर्फ बढीमा १२ समुह सहभागी हुने छन् । विजेता पुरुष समुहले एक लाख ३० हजार र उपविजेताले ८० हजार रुपैयाँसहित सिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् । त्यसैगरी, महिलातर्फ स्थानीयसहित करिब १० क्लबले सहभागिता जनाउने अपेक्षा गरिएको बताउँदै विजेता समुहले ५० हजार रुपैयाँ र उपविजेताले ३० हजार रुपैयाँसहित सिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छ ।
पुरुषतर्फ सहभागी समुहले तीन जनासम्म राष्ट्रिय खेलाडी र महिलातर्फ समुहमा दुई जना राष्ट्रिय खेलाडी समावेश गर्न पाइने संयोजक खड्काले जानकारी गराएका थिए । प्रशिक्षण केन्द्रका संरक्षक तथा शारीरिक सुगठनका पूर्व राष्ट्रिय खेलाडी पदम श्रेष्ठले स्थापनाकालदेखि हालसम्म पोखरा भलिबल प्रशिक्षण केन्द्रले भलिबल प्रशिक्षण गराउनुका साथै वर्षेनी प्रतियोगिताको कार्यक्रम गर्दै आइरहेको जानकारी गराए । उनले विगतका वर्षहरुमा भएका प्रतियोगिताबाट बचत रकम दिनदुखी, असहाय, गरिब, वृद्ध तथा अनाथहरुलाई सहयोग गरेको बताए ।
त्यसैगरी, खेलकुदको माध्यमबाट उत्कृष्ट खेलाडी उत्पादन गर्नुका साथै आपसी भाइचारा र सद्भावको विकाश गर्न क्लबस्तरीय पुरूष तथा महिला भलिबल प्रतियोगिता-२०८१ आयोजना गरिएको प्रशिक्षण केन्द्रका अध्यक्ष कुलप्रसाद छन्त्याल (कुशल)ले जानकारी गराए । अन्तराष्ट्रिय रेफ्रि टहलसिंह थापा मगरले प्रतियोगितालाई भब्य रुपमा सम्पन्न गर्न आफुले पूर्ण रुपमा सहयोग गर्ने धारणा व्यक्त गरेका थिए ।
सहआयोजक एफोर जेड ग्राफिक डिजाइन एण्ड प्रिन्टिङ प्रेस र विशेष सहयोगी छन्त्याल ब्रदर्श, नदीपुर रहेको छ । अघिल्लो वर्ष सातौँ वार्षिकोत्सवको अवसरमा आयोजित प्रतियोगितामा पुरुषतर्फ गल्कोट स्पोर्ट क्लव र महिलातर्फ धादिङ स्पोर्ट क्लब विजयी बनेका थिए ।