बाँके, २३ साउन – झोलुङ्गे पुल नहुँदा पश्चिम सल्यानको बनगाड कुपिण्डे नगरपालिका–१, स्थित नाम्रा गाउँको यातायातसँगको सम्पर्क टुट्ने गरेको छ ।
हिउँदमा चिण्डा भिरेर जसोतसो यातायातको पहुँचमा नाम्रावासी आउँछन् । गाउँको पारिपट्टीबाट छिन्चु–जाजरकोट सडकखण्डमा नियमित गाडी चल्छन् ।
तर नाम्रावासीका लागि वर्षायाममा त्यो यातायात सेवा भने आकाशको फलजस्तै बन्छ, भेरी नदीमा वर्षाले बढाएको पानी सतह नघटेसम्म करीब ६ महिनासम्म नाम्राका स्थानीयवासीका लागि नाकाबन्दी सरहको जीवन गुजार्नुपर्नेहुन्छ ।
उनीहरु राज्यबाट उपलब्ध हुने सेवा सुविधाबाटै वर्षमा करीब पाँच महिना वञ्चित हुनैपर्ने अवस्था आउँछ । त्यो आफूहरुका लागि अन्याय भएको स्थानीयवासीको गुनासो छ । वर्षायाम शुरु भएर पानीको सतह बढ्नासाथ नदीमा डुङ्गासमेत चल्न छाडेपछि उनीहरु घुमाउरो बाटो प्रयोग गरी करीब चार घण्टाको पैदलयात्रा गर्दै सल्लीबजार पुग्नुपर्ने बाध्यता छ । असारपछिको पाँच महिनासम्म कोही सिकिस्त बिरामी भइहाले ‘भाग्यभरोसा’ भन्दै बस्नुपर्ने नाम्रावासीको अवस्था छ ।
आवागमन समस्याकै कारण त्यहाँका बालबालिकाको पढाइ पनि बिथोलिने गरेको छ । गाउँमा प्राविमात्रै भएका कारण निमावि तहदेखि माथिल्लो कक्षा अध्ययनका लागि भेरी नदी नै तरेर विद्यालय जानुपर्ने अवस्था छ, तर वर्षायाममा नदीको उर्लदो भेलमा ज्यान जोखिममा राखेर पढ्न चाहादैनन् नाम्राका विद्यार्थी । सुर्खेतको बालीखोला र नाम्रा गाउँलाई जोड्नका लागि झोलुङ्गे पुल निर्माण अनिवार्य छ ।
नाम्रामा यो समस्या पुस्तौदेखिको हो । एउटा सिङ्गो गाउँ वर्षको आधा समय सम्पर्कविहीन बन्ने अवस्थामा पुग्दासमेत पुल निर्माणका लागि तदारुकता देखाउन नसक्नु राज्यको कमजोरी भएको स्थानीयवासीको गुनासो छ । स्थानीय गंगा प्राविका प्रधानाध्यापक रामप्रसाद शर्मा भन्नुहुन्छ, “एउटा सिङ्गो गाउँ राज्यको उपस्थितिविहीनताको अवस्थामा वर्षौदेखि गुज्रनु लज्जाजनक पनि छ ।”