काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीले क्यानडाविरुद्धको तीन म्याचको एकदिवसीय क्रिकेट सिरिज जितेको छ । शनिबार कीर्तिपुर मैदानमा लगातार दोस्रो खेलमा जित निकाल्दै नेपालले क्यानडाविरुद्धको सिरिज हात पारेको हो ।
नेपालले तीन म्याचको एकदिवसीय सिरिज एक खेल अगावै जितेको हो । क्यानडाले जितको लागि दिएको २ सय ८६ रनको लक्ष्य नेपालले ४५ दशमलव १ ओभरमा ६ विकेट गुमाएर पुरा गर्यो ।
कप्तान रोहित पौडेलले ८७ र देव खनालले ७६ रनको शानदार इनिङ्स खेलेपछि नेपालको जित सम्भव भएको हो । नेपालका ओपनर अनिल साहले ५० रनको आक्रमक अर्धशतकीय इनिङ्स खेलेका थिए । साहले २० बलमा ७ चौका र ३ छक्काको मदतले सो रन बनाएका थिए ।
नेपालका अर्का ओपनर आसिफ शेख १० रनमा आउट भएपछि नेपालको इनिङ्स रोहित र देवले सम्हालेका थिए । रोहित र देवले तेस्रो विकेटका लागि १ सय ५० रनको साझेदारी गरेका थिए । त्यही साझेदारी नेपालको जितको आधार बनेको हो ।
भिम सार्कीले २३ र पवन सरार्फले १४ रन बनाएका थिए । कुशल मल्ल र सोमपाल कामी समान ९ रनमा अविजित रहे क्यानडाका हर्ष ठाकर र इश्वरजोत सोहीले समान २ तथा साद बिन जफर र दिलप्रित बाजवाले समान १/१ विकेट लिएका थिए ।
त्यसअघि, टस जितेर पहिले ब्याटिङ गरेको क्यानडाले निर्धारित ओभरमा ९ विकेट गुमाएर २ सय ८५ रन बनाएको थियो ।
क्यानडालाई नवनीत धालीवाल र आरोन जोनसनले पहिलो विकेटका लागि ९४ रनको साझेदारी गर्दै राम्रो सुरुवात दिलाएका थिए । दुवैको उत्कृष्ट साझेदारीलाई डेब्यु खेलाडी आकाश चन्दले तोडेका थिए । उनले नवनीतलाई आशिफ शेखको हातबाट क्याच आउट गराएका थिए ।
जोनसनले ६५ र नवनीतले ४६ रन बनाएका थिए । परगत सिंहले ३८ र निकोलस किर्टनले २० रनको योगदान गरेका थिए । श्रेयश मोभाले ४०, दिलप्रीत बाजवाले १९ र उदय बागवानले नटआउट २० रन बनाएका थिए ।
नेपालका रोहित पौडेल र कुशल मल्लले समान २ तथा सोमपाल कामी, सुर्य तामाङ, आकाश चन्द र पवन सरार्फले समान १/१ विकेट लिएका थिए ।
डब्लूसीएल लिग टूको तयारी स्वरुप नेपालले क्यानडासँग तीन म्याचको एकदिवसीय सिरिज घरेलु मैदानमा खेलेको हो । नेपालले सिरिजको तेस्रो तथा अन्तिम खेल सोमबार खेल्नेछ ।