चितवन, २२ साउन – सात दशक उमेर पार गर्नुभएकी ललिता सापकोटाको दैनिकी साइकलमा तरकारी बिक्री गरेर बित्ने गर्छ ।
भरतपुर महानगरपालिकाको त्रिचोक निवासी ७१ वर्षीया सापकोटाले त्यही व्यापारबाट परिवार पाल्दै आउनुभएको छ । उहाँले तरकारी बिक्री गर्न थालेको ४० वर्ष बित्यो । पुरानो साइकलमा अगाडि टोकरी र पछाडि क्रेट छ । तिनैमा तरकारी राखेर घरघर पुगेर तरकारी बिक्री गर्नुहुन्छ ।
बिहान ४ः३० बजे उठेर दुई किलोमिटर टाढाको नारायणगढ तरकारीमण्डीमा पुग्नुहुन्छ । त्यहाँ थोकमा तरकारी खरीद गरेर भरतपुरमा बिक्री गर्नुहुन्छ । शुरुमा आठ–दश किलोमिटर टाढासम्म साइकलमा तरकारी बिक्री गर्ने गरेपनि अहिले भरतपुरको मुख्य बसोबास क्षेत्रमा नै तरकारी खपत हुने गरेको सापकोटाले बताउनुभयो ।
बिहान ९ बजेसम्म प्रायः तरकारी बिक्री भइसक्छ । त्यसपछि घर पुगेर पुनः घरधन्दा आफैँ गर्नुहुन्छ । सापकोटाले भन्नुभयो “पहिले यहाँ पातला घर थिए, धेरै टाढा टाढासम्म बिक्री गर्न पुग्थेँ । अहिले बूढो भए, नजिकै बिक्री गर्छु ।” नाफा कम राख्ने हुँदा उहाँका नियमित ग्राहक छन् ।
घरमा ७८ वर्षका श्रीमान हुनुहुन्छ । तीन छोरी र एक छोराकी आमा सापकोटोको आफ्नै व्यथा छ । सङ्कटकालमा भारत गएको छोरा अहिलेसम्म फर्किएको छैन । तीन छोरीको विवाह गरेर दिनुभयो ।
सापकोटाले भन्नुभयो “ज्वाइँ मलेशिया जानुभयो ठेगाना छैन, छोरीका आमाछोरा पनि मैले नै पाल्नुपरेको छ ।” आफूसँगै श्रीमान्लाई पालेर चार छोराछोरी पढाउने हुर्काउने गरेको बताउँदै उहाँले यही कमाइबाट सानो घरसमेत जोडेको बताउनुभयो ।
बागलुङबाट बसाइँसराइ आउनुभएकी सापकोटाले पहिलेदेखि नै आफ्ना श्रीमान्को कुनै कमाइ नभएकाले आफैँले नियमित तरकारी बेच्दै आएको बताउनुभयो । अरुसँग मागेर खानेभन्दा आफैँले केही गरेर खानु राम्रो देखेर नै दुःख गरिरहेको सुनाउनुभयो । सापकोटाले भन्नुभयो । “गर्ने अरु छैनन्, नगरी खानु छैन । बूढो भए पनि काम त गर्नै पर्यो ।”