काठमाडौं । युएईमा जारी एसीसी यू–१९ एसिया कपमा आज नेपाली युवा टोलीले अफगानिस्तानविरुद्ध खेल्दै छ । दुबईस्थित आईसीसी एकेडेमी ओभल–२ मा हुने यो खेल नेपाली समय अनुसार बिहान सवा ११ बजे हुने छ । प्रतियोगिताको सेमिफाइनलमा पुग्ने सम्भावनालाई कायम राख्न आज नेपाललाई जित्नै पर्ने दबाब छ ।
दुवै टिम आज पहिलो जितको खोजीमा हुने छन् । यसअघि प्रतियोगिताको पहिलो खेलमा नेपाल पाकिस्तानसँग ७ विकेटले पराजित भएको थियो । यस्तै, अफगानिस्तान पनि पहिलो खेलमा भारतसँग ७ विकेटले नै पराजित भएको थियो ।
नेपालले २०१५ देखी २०१८ सम्म अफगानिस्तानसँग ५ खेल खेलेको छ । पाँचैं खेलमा नेपाली युवा टोली पराजित भएको थियो । पछिल्लो समय अफगानिस्तान नेपालमाथि हाबी हुँदै आएको छ । नेपालले दशकपछि अफगानिस्तानलाई हराउन सकेको छैन ।
आजको खेलमा कप्तान देव र अलराउन्डर गुलशनको प्रदर्शन निकै महत्वपूर्ण हुनेछ । गुलशन पछिल्लो एक वर्षदेखी सिनियर टोलीमा निरन्तर रहेका छन् । गुल्सनले एसिया कपमा भारत, पाकिस्तान साथै विश्वकप छनोटमा जिम्बावे, वेस्टइन्डिज र आयरल्यान्ड जस्ता देशसँग खेली सकेका छन् ।
नेपालसहित ८ टिम सहभागी प्रतियोगितामा नेपाल, भारत, अफगानिस्तान र पाकिस्तान समूह ‘ए’ मा रहेका छन् । समूह ‘ए’ मा नेपालबाहेक बाँकी तीन वटै देशले आईसीसीबाट टेस्ट राष्ट्रको मान्यता पाइसकेका छन् । समूह ‘बी’ मा यूएई, जापान, श्रीलंका र बंगलादेश रहेका छन् ।
नेपालले समूह चरणको अन्तिम खेल मंगलबार भारतसँग खेल्नेछ । समूह ‘ए’ अन्तर्गत आजै अर्को खेलमा भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ । प्रतियोगिताको फाइलन खेल दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आगामी पुस १ गते हुनेछ ।
नेपालको यू-१९ टोली :
देव खनाल (कप्तान), अर्जुन कुमाल, आकाश त्रिपाठी, दीपक डुम्रे (विकेटकिपर), हेमन्त धामी, गुलशन झा, दीपेश कंडेल, विशाल विक्रम केसी, सुभाष भण्डारी, दीपक बोहोरा, उत्तम थापा मगर (विकेटकिपर), विपिन रावल (विकेटकिपर), तिलक राज भण्डारी, आकाश चन्द र दीपक बोहरा ।