काठमाडौं । नेपाल एसिसी यू-१९ एसिया कप अन्तरगतको पहिलो खेलमा पाकिस्तानसँग पराजित भएको छ । शुक्रबार दुबईको आइसिसी एकेडेमी ओभल-२ मा भएको खेलमा पाकिस्तानले नेपाललाई ७ विकेटले पराजित गरेको हो ।
नेपालले जितको लागि दिएको १ सय ५३ रनको मध्यम विजयी लक्ष्य पछ्याएको पाकिस्तानले २६.२ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो । पाकिस्तानको पहिलो जितमा आजन आविसले ६२ बलमा ८ चौकासहित अविजित ५६ रनको अर्धशतकीय इनिङ खेलेका थिए ।
कप्तान साद बेग ५६ बलमा ५ चौकासहित ५० रनको अर्धशतकीय इनिङ खेलेर आउट भएका थिए । मोहम्मद जिशान ८ बलमा २ चौका र २ छक्कासहित २० रनमा अविजित रहेका थिए । पाकिस्तानको लागि अलराउन्डर तीव्र गतिका बलर जिशानले बलिङमा पनि सर्वाधिक ६ विकेट लिएका थिए ।
नेपालका लागि अलराउन्डर तीव्र गतिका बलर गुलशन झाले ८ ओभरमा १ मेडनसहित ५४ रन खर्चेर सर्वाधिक २ विकेट लिएका थिए । यस्तै, आकाश त्रिपाठीले १ विकेट लिएका थिए ।
त्यसअघि, टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपाल ४७.२ ओभरमा १ सय ५२ रनमा अलआउट भएको थियो । नेपालका लागि उत्तम थापा मगरले ७६ बलमा ३ चौका र २ छक्कासहित सर्वाधिक ५१ रनको अर्धशतकिय ईनिङ खेले पनि जितको लागि पर्याप्त हुन सकेन ।
उत्तम थापा मगरको यू-१९ अन्तर्राष्ट्रिय क्रिकेटमा यो दोस्रो अर्धशतक थियो । यस्तै, नेपालका दिपेश कडेँल ५९ बलमा २ चौका र १ छक्कासहित ३१ रनमा आउट भएका थिए । दिपेशले छैटौं विकेटका लागि उत्तमसँग ६८ रनको साझेदारी गरेका थिए ।
यस्तै, अर्जुन कुमालले ३७ बलमा ३ चौकासहित २१ रन बनाएका थिए । नेपाललका अन्य कुनैपनि खेलाडिले दोहोरो अंकमा रन बनाउन सकेनन् । नेपालका तिलक भण्डारी ७ रनमा, आकाश त्रिपाठि ६ रनमा, गुलशन झा १ रनमा र कप्तान देव खनाल शुन्यमा आउट भएका थिए ।
पाकिस्तानको लागि तीव्र गतिका बलर मोहम्मद जिशानले ९.२ ओभरमा १ मेडनसहित १९ रन खर्चेर सर्वाधिक ६ विकेट लिएका थिए । अमिर हसनले १० ओभरमा २ मेडनसहित १५ रन खर्चेर २ विकेट लिएका थिए । यस्तै, उबेद शाह र अलि अस्फान्दले समान १/१ विकेट लिएका थिए ।
यूएईमा आज शुक्रबारदेखि पुस १ गतेसम्म चल्ने प्रतियोगितामा नेपालसहित ८ टिम सहभागी छन् । नेपाल, भारत, अफगानिस्तान र पाकिस्तान समूह ‘ए’ मा रहेका छन् । समूह ‘बी’ मा यूएई, जापान, श्रीलंका र बंगलादेश रहेका छन् । अब नेपालले दोस्रो खेल आइतबार भारतसँग खेल्नेछ ।