काठमाडौं । दुबईमा आज शुक्रबारबाट सुरु एसिसी यू-१९ एसिया कप अन्तरगतको पहिलो खेलमा नेपालले पाकिस्तानलाई १ सय ५३ रनको मध्यम लक्ष्य दिएको छ । दुबईको आइसिसी एकेडेमी ओभल-२ मा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले ४७.२ ओभरमा अलआउट हुँदै १ सय ५२ रन बनाएको हो ।
नेपालको लागि उत्तम थापा मगरले ७६ बलमा ३ चौका र २ छक्कासहित सर्वाधिक ५१ रनको अर्धशतकिय ईनिङ खेलेका थिए । दिपेश कडेँल ५९ बलमा २ चौका र १ छक्कासहित ३१ रनमा आउट भएका थिए । दिपेशले छैटौं विकेटका लागि उत्तमसँग ६८ रनको साझेदारी गरेका थिए ।
यस्तै, अर्जुन कुमालले ३७ बलमा ३ चौकासहित २१ रन बनाएका थिए । नेपाललका अन्य कुनैपनि खेलाडिले दोहोरो अंकमा रन बनाउन सकेनन् । नेपालका तिलक भण्डारी ७ रनमा, आकाश त्रिपाठि ६ रनमा, गुलशन झा १ रनमा र कप्तान देव खनाल शुन्यमा आउट भएका थिए ।
पाकिस्तानको लागि तीव्र गतिका बलर मोहम्मद जिशानले ९.२ ओभरमा १ मेडनसहित १९ रन खर्चेर सर्वाधिक ६ विकेट लिएका थिए । अमिर हसनले १० ओभरमा २ मेडनसहित १५ रन खर्चेर २ विकेट लिएका थिए । यस्तै, उबेद शाह र अलि अस्फान्दले समान १/१ विकेट लिएका थिए ।
यूएईमा आज शुक्रबारदेखि पुस १ गतेसम्म चल्ने प्रतियोगितामा नेपालसहित ८ टिम सहभागी छन् । नेपाल, भारत, अफगानिस्तान र पाकिस्तान समूह ‘ए’ मा रहेका छन् । समूह ‘बी’ मा यूएई, जापान, श्रीलंका र बंगलादेश रहेका छन् । यस्तै, आज भारत र अफगानिस्तानबीच पनि अर्को खेल भई रहेको छ ।