काठमाडौं । दुबईमा आज शुक्रबारबाट सुरु हुने एसिसी यू-१९ एसिया कपमा नेपाली युवा टोलीले पाकिस्तानसँग खेल्दैछ । खेल दुबईमा रहेको आइसिसी एकेडेमी ओभल-२ मा नेपाली समय अनुसार बिहान ११:१५ मा सुरु हुनेछ । नेपालको कप्तानि देव खनाल र पाकिस्तानको साद बेगले गर्नेछन् ।
पहिलो खेलमै बलियो टोली पाकिस्तानको सामना गरिरहेको नेपाल आज जित निकाल्ने लक्ष्यसहित मैदानमा उत्रिनेछ । उपाधि दावेदार पाकिस्तान पनि पहिलो जित निकाल्ने योजनाका साथ मैदान उत्रिनेछ । यस्तै आज भारत र अफगानिस्तानबीच पनि अर्को खेल हुँदैछ ।
यूएईमा आज शुक्रबारदेखि पुस १ गतेसम्म चल्ने प्रतियोगितामा नेपालसहित ८ टिम सहभागी छन् । नेपाल, भारत, अफगानिस्तान र पाकिस्तान समूह ‘ए’ मा रहेका छन् । समूह ‘बी’ मा यूएई, जापान, श्रीलंका र बंगलादेश रहेका छन् ।
नेपाल र पाकिस्तान दुवै युवा टोलीमा सिनियर टोलीबाट खेलेका खेलाडी पनि छन् । नेपालको टोलीमा १० ओडिआई खेलेका कप्तान देव खनाल र अलराउन्डर गुल्सन झाले सिनियर टोलीबाट खेलिसकेका छन् । पाकिस्तानका स्पिन अलराउन्डर ३ वटा टी-२० आई खेलेका अरफत मिन्हासले पनि सिनियर टोलीबाट खेलिसकेका छन् ।
आजको खेलमा कप्तान देव र अलराउन्डर गुलशनको प्रदर्शन निकै महत्वपूर्ण हुनेछ । गुलशन पछिल्लो एक वर्षदेखी सिनियर टोलीमा निरन्तर रहेका छन् । गुल्सनले एसिया कपमा भारत, पाकिस्तान साथै विश्वकप छनोटमा जिम्बावे, वेस्टइन्डिज र आयरल्यान्ड जस्ता देशसँग खेली सकेका छन् ।
नेपालको यू-१९ टोली :
देव खनाल (कप्तान), अर्जुन कुमाल, आकाश त्रिपाठी, दीपक डुम्रे (विकेटकिपर), हेमन्त धामी, गुलशन झा, दीपेश कंडेल, विशाल विक्रम केसी, सुभाष भण्डारी, दीपक बोहोरा, उत्तम थापा मगर (विकेटकिपर), विपिन रावल (विकेटकिपर), तिलक राज भण्डारी, आकाश चन्द र दीपक बोहरा ।
पाकिस्तानको यू-१९ टोली :
साद बेग (कप्तान), अहमद हुसेन, अली अस्फन्द, अमिर हसन, अरफत मिन्हास (उपकप्तान), आजन अविस, खुबैब खलिल, नजिब खान, नविद अहमद खान, मोहम्मद हियाजउल्लाह, मोहम्मद तयाब आरिफ, मोहम्मद जिशान, शाहजैब खान, उबैद शाह र शामिल हुसेन ।