काठमाडौं । पोखरामा जारी प्रथम केपी ओली कप राष्ट्रिय टि-२० क्रिकेट प्रतियोगिताको उपाधिका लागि विभागीय त्रिभुवन आर्मी क्लव र मधेश प्रदेशले खेल्ने भएका छन् । पोखरा रंगशालाको क्रिकेट मैदानमा आज बिहीबार सम्पन्न पहिलो सेमिफाइनल खेलमा आर्मीले बागमती प्रदेशलाई ४ विकेटले र मधेश प्रदेशले विभागीय क्लव एपीएफलाई ११ रनले पराजित गरेको हो ।
दोस्रो सेमिफाइनलमा मधेशले जितको लागि दिएको १ सय ९८ रनको विशाल विजयी लक्ष्य पछ्याएको एपिएफले २० ओभरमा ९ विकेट गुमाएर १ सय ८६ रन मात्र बनायो । एपिएफका लागि कप्तान प्रदीप ऐरीले ५५ रनको र सन्दीप जोराले ५४ रनको अर्धशतकीय इनिङ खेले पनि विभागीय टिमलाई जित दिलाउन सकेनन् ।
प्रदीप ऐरीले ४२ बलमा ३ चौका र ४ छक्कासहित ५५ रनको र सन्दीप जोराले ३१ बलमा ३ चौका र ५ छक्कासहित ५४ रनको योगदान गरेका थिए । तेस्रो विकेटका लागि प्रदीप ऐरी र सन्दीप जोराले १ सय ६ रनको शतकीय साझेदारी गरेका थिए ।
तर, एपिएफका अन्य ब्याटर नचल्दा सेमिफाइनल खेल जित्न सकेन । लोकेश बमले १५ बलमा ३ चौका र २ छक्कासहित ३२ रन, सुमित महर्जनले १३ रन, आसिफ शेखले ४ रन, पुरन बिकले ४ रन र अरुण ऐरी शून्यमा आउट भएका थिए । भुवन कार्कीले अविजित १४ रन र मौसम ढकालले अविजित १ रन बनाएका थिए ।
मधेश प्रदेशका लागि विशाल पटेलले ४ ओभरमा ३५ रन खर्चेर सर्वाधिक ३ विकेट लिएका थिए । कप्तान हरिशंकर शाहले ३ ओभरमा ३३ रन खर्चेर २ विकेट लिएका थिए । यस्तै, प्रदीप पासवानले ४ ओभरमा ३७ रन खर्चेर २ विकेट लिएका थिए ।
त्यसअघि, पोखरा रंगशालामा टस जितेर पहिला ब्याटिङ रोजेको मधेश प्रदेशले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर विशाल १ सय ९७ रन बनाएको थियो । मधेशका लागि ओपनर अनिल शाहले ३६ बलमा २ चौका र ६ छक्कासहित ५७ रनको उत्कृष्ट अर्धशतकीय इनिङ खेलेका थिए ।
शीर्षक्रमका ब्याटर इमरान शेखले ३२ बलमा ३ चौका र ४ छक्कासहित ५० रनको अर्धशतकीय इनिङ खेलेका थिए । ओपनर तथा कप्तान हरिशंकर शाह १२ बलमा १ चौकासहित १० रनमा आउट भएका थिए । दोस्रो विकेटका लागि अनिल र इमरानले ९२ रनको साझेदारी गर्दै विशाल योगफलको आधार तय गरेका थिए ।
पवन सरार्फ १९ बलमा ४ चौका र २ छक्कासहित ३३ रनमा आउट भएका थिए । रुपेश सिंहले ८ बलमा ३ चौका र १ छक्कासहित २१ रन बनाए । हिमान्शु दत्त ७ बलमा २ चौका र १ छक्कासहित १५ रन तथा विशाल शुश्लिङ र मयन यादवले समान ४ रन बनाएका थिए ।
एपिएफका लागि स्पिनर मौसम ढकालले ४ ओभरमा ४७ रन खर्चेर सर्वाधिक ३ विकेट लिएका थिए । यस्तै, अमरसिंह राउटेलाले ४ ओभरमा ३० रन खर्चेर २ विकेट लिएका थिए । अब मधेश प्रदेशले उपाधिका लागि भोलि शुक्रबार विभागीय क्लव त्रिभुवन आर्मीसँग खेल्नेछ ।
प्रतियोगिताको च्याम्पियन टोलीले रु पाँच लाख, शिल्ड, मेडल र प्रमाणपत्र पुरस्कार प्राप्त गर्नेछन् । यसैगरी उपविजेता टोलीलाई रु दुई लाख ५० हजार, शिल्ड, मेडल र प्रमाणपत्र पुरस्कार पाउनेछन् । प्रतियोगितामा ‘म्यान अफ द सिरिज’ले नगद रु ३० हजार, ‘बेस्ट बलर’ले रु २० हजार पुरस्कार पाउने आयोजक मदन भण्डारी स्पोर्टस् एकेडेमीले जनाएको छ ।