काठमाडौं । घरेलु टोली भारतलाई हराउँदै अष्ट्रेलिया छैटौं पटक आईसीसी एकदिवसीय विश्वकप क्रिकेटको च्याम्पियन बनेको छ । अहमदावाद स्टेडियममा आईतबार १ लाख ३० हजार दर्शकको सामुभएको फाइनल खेलमा भारतलाई ६ विकेटले पराजित गर्दै अष्ट्रेलियाले एकदिवसीय विश्वकप क्रिकेट २०२३ को उपाधि हात पारेको हो ।
यसअघि सन् १९८३ र २०११ मा एकदिवसीय विश्वकप उपाधी जितेको भारतले आफ्नो लिग चरणको अपराजित यात्रा जोगाउन नसक्दा तेस्रो पटक विश्व च्याम्पियन बन्न सकेन । अष्ट्रेलियाका फास्ट बलरहरुको चर्को दबावमा परेका भारतीय ब्याटरहरुले फाइनलमा ठूलो स्कोर तयार पार्न सकेनन् ।
भारतले जितको लागि दिएको २ सय ४१ रनको विजयी लक्ष्य पछ्याएको अष्ट्रेलियाले ४३ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो । अष्ट्रेलियाको जितमा ओपनर ट्रविस हेडले १ सय २० बलमा १५ चौका र ४ छक्कासहित १ सय ३७ रनको शानदार शतकीय इनिङ खेलेका थिए ।
यस्तै, मार्नस लाबुसेन ११० बलमा ४ चौकासहित ५८ रनमा अविजित रहेका थिए । एक समय ४७-३ को अवस्थामा पुगेको अष्ट्रेलियालाई छैटौं पटक च्याम्पियन बनाउन चौथो विकेटका लागि मार्नस लाबुसेन र ट्रविस हेडले १ सय ९२ रनको शानदार शतकीय साझेदारी गरेका थिए ।
अष्ट्रेलियाका ओपनर डेविड वार्नर मोहम्मद शामीको दोस्रो ओभरको पहिलो बलमै एज लागेर स्लिपमा विराट कोहलीबाट ७ रनमा क्याच आउट भएका थिए भने जसप्रीत बुमराहको पाँचौ ओभरको तेस्रो बलमा एज लागेर मिचेल मार्श १५ बलमा १ चौका र १ छक्कासहित १६ रनमा विकेटकिपर केएल राहुलबाट क्याच आउट भएका थिए । अष्ट्रेलियालाई जितको लागि २ रन चाहिदा ट्रविस हेड आउट भएका थिए भने ग्लेन म्याक्सवेलले विजयी २ रन जोडेका थिए ।
घरेलु टोली भारतका लागि जसप्रीत बुमराहले २ विकेट तथा मोहम्मद शामी र मोहम्मद सिराजले समान १/१ विकेट लिएका थिए । त्यसअघि, नरेन्द्र मोदि स्टेडियममा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको भारत निर्धारित ५० ओभरमा २ सय ४० रनमा अल आउट भएको थियो ।
भारतका लागी विकेटकिपर केएल राहुलले १ सय ७ बलमा १ चौकासहित सर्वाधिक ६६ रनको अर्धशतकीय इनिङ खेलेका थिए । विराट कोहलीले ६३ बलमा ४ चौकासहित ५३ रन जोडेका थिए । कप्तान रोहित शर्माले ३१ बलमा ४ चौका र ३ छक्कासहित ४७ रन बनाएका थिए ।
भारतका अन्य कुनैपनी ब्याटरले राम्रो गर्न सकेनन् । तिव्र गतिका बलर मिचेल स्टार्कको चौथो ओभरको दोस्रो बलमा शुभमन गिल मिडअनमा एडम जाम्पाबाट ४ रनमा क्याच आउट भएका थिए । प्याट कमिन्सको बलमा एज लागेर श्रेयस ऎर ४ रनमा इंग्लिसबाट क्याच आउट भएका थिए ।
घरेलु टोली भारतले चौथो विकेटका लागि १ सय ९ बलमा ६७ रनको साझेदारी गरेको थियो । भारतले १० ओभरपछी अर्को बाउन्डी ९७ बल पछी प्रहार गरेको थियो । रबिन्द्र जडेजा २२ बलमा ९ रन बनाउदै क्याच आउट भएका थिए भने सुर्य कुमार यादव २८ बलमा १ चौकासहित १८ रनमा आउट भएका थिए ।
अष्ट्रेलियाका लागि तिव्र गतिका बलर मिचेल स्टार्कले १० ओभरमा ५५ रन खर्चेर सर्वाधिक ३ विकेट लिएका थिए । कप्तान प्याट कमिन्सले १० ओभरमा ३४ रन खर्चेर २ विकेट लिएका थिए भने जोश हेजलवुडले १० ओभरमा ६० रन खर्चेर २ विकेट लिएका थिए । एडम जाम्पाले १० ओभरमा ४४ रन खर्चेर १ विकेट लिएका थिए भने ग्लेन म्याक्सवेलले ६ ओभरमा ३५ रन खर्चेर १ विकेट लिएका थिए ।
भारतले लिगमा कुनैपनि खेल हारेको थिएन । अष्ट्रेलिया भने समूह चरणको पहिलो दुई खेलमा लगातार पराजित भएको थियो । समूह चरणको खेलमा भारतले अष्ट्रेलियालाई ६ विकेटले हराएको थियो । अष्ट्रेलियाले पछिल्लो दुई दशकमा तेस्रो पटक भारतलाई नकआउटमा स्तब्ध पारेको हो ।
अष्ट्रेलियाले सन् २००३ को फाइनलमा भारतलाई १ सय २५ रनले हराएको थियो भने २०१५ को सेमिफाइनलमा ९५ रनले हराएको थियो । यसअघि अष्ट्रेलियाले सन् १९८७, १९९९, २००३, २००७ र २०१५ मा एकदिवसीय विश्वकपको उपाधी जितेको थियो । एकदिवसीय विश्वकपमा अष्ट्रेलिया सबैभन्दा सफल टिम हो ।