काठमाडौं । हङकङमा जारी चार देश सम्मिलित महिला टि-२० आई सिरिजमा जपानलाई हराउँदै नेपाल तेस्रो भएको छ । नेपालले आइतबार भएको प्रतियोगिताको अन्तिम खेलमा जापानलाई ४५ रनले पराजित गर्दै तेस्रो भएको हो । नेपालले जापानलाई जितका लागि १ सय १६ रनको विजयी लक्ष्य दिएको थियो ।
जापानले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर ७० रन मात्र बनाउन सक्यो । जापानका लागि ओपनर अकारी निहीमुराले ५१ बलमा २ चौकासहित सर्वाधिक २९ रनको योगदान दिए पनि आफ्नो टिमलाई जीत दिलाउन सकिनन् ।
यसैगरी हिनासी गोतोले ३४ बलमा १ चौकासहित १६ रन तथा आहिल्ला चन्डेलले ११ रनको योगदान दिएका थिए । जापानका अन्य व्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् । नेपालका लागि संगिता राई, सीता रानामगर, इन्दु बर्मा, खुशी डंगोल र सोनी पाख्रिनले समान १/१ विकेट लिएकी थिईन् ।
त्यसअघि, हङकङ क्रिकेट क्लबको मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय १५ रन बनाएको थियो । नेपालका लागि ओपनर पुजा महतोले ५१ बलमा ३ चौकाको सहयोगमा सर्वाधिक ४३ रन बनाइन् ।
त्यसपछि, नेपालका मध्यक्रमका ब्याट्सम्यान रोमा थापाले १९ बलमा ३ चौकासहित २२ रन तथा पूर्व कप्तान रुविना क्षेत्रीले १९ बलमा २ चौकासहित २१ रनको योगदान दिइन् । फुजी कवाको बलमा आउट हुनुअघि कप्तान इन्दु बर्माले २१ बलमा १ चौकासहित १२ रनको योगदान दिएकी थिइन् ।
नेपाली ओपनर सीता रानामगर एरिका क्विइनको दोस्रो ओभरको पहिलो बलमा ५ रनमा एलबीडब्लू आउट भएकी थिइन् । जापानका लागि एरिका क्विइन, आयुमी फुजिकावा र एहिल्या चान्डलले समान १/१ विकेट लिएकी थिईन् । सिरिजमा आयोजक हङकङसँगै नेपाल, तान्जानिया र जापान सहभागी छन् ।
महिला टि-२० आई सिरिजमा नेपाल यसअघि पहिलो खेलमा बुधबार तान्जानियासित २७ रनले पराजित भएको थियो । तान्जानियाले पहिला ब्याटिङ गर्दै निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय १५ रन बनाएको थियो । नेपालले सवै विकेट गुमाएर मात्र ८८ रन बनाउन सक्यो ।
यस्तै, बिहीबार भएको दोस्रो खेलमा नेपाल हङकङसित ९ विकेटले पराजित भएको थियो । नेपालले निर्धारित २० ओभरको खेलमा १८ ओभरमा सवै विकेट गुमाएर ५६ रन मात्र बनाएको थियो । हङकङले ५७ रनको विजयी लक्ष्य ९ ओभरमा १ विकेट गुमाएर पूरा गरेको थियो ।
शनिबार भएको समूह चरणको अन्तिम खेलमा नेपालले जापानलाई ६७ रनले हराएको थियो । जापान समूह चरणका तीनवटै खेलमा पराजित भएको थियो । आइसिसी बरियतामा तान्जानिया १९ औँ स्थानमा, नेपाल २१ औँ स्थानमा, हङकङ २२ औँ स्थानमा तथा जापान ५१ औँ स्थानमा रहेका छन् ।