काठमाडौं । हङकङमा जारी चार देश सम्मिलित महिला टि-२० आई सिरिज अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले जापानलाई पराजित गरेको छ । हङकङ क्रिकेट क्लबको मैदानमा शनिबार भएको खेलमा नेपालले जापानलाई ६७ रनले हराएको हो ।
नेपालले जापानलाई जितका लागि १ सय १४ रनको विजयी लक्ष्य दिएको थियो । जापानले निर्धारित २० ओभरमा सवै विकेट गुमाएर ४६ रन मात्र बनाउन सक्यो । जापानका लागि मेग ओगावाले २९ बलमा २ चौकासहित सर्वाधिक १७ रन बनाइन् ।
यस्तै, सेइका सुमीले १६ बलमा १ चौकासहित १३ रनको योगदान दिइन् । जापानका अन्य कुनै पनि व्याटरले दोहोरो अङ्क समेत छुन सकेनन् । जापानका हिनासे गोटोले ३ रन मात्र बनाइन् । नेपालका लागि स्पिनर संगिता राईले ४ ओभरमा ६ रन दिँदै सर्वाधिक ५ विकट लिइन् ।
यस्तै, पूजा महतोले ३ ओभरमा १ मेडन सहित २ रन मात्र दिएर २ विकट लिइन् भने अश्मिना कर्मचार्यले ३ ओभरमा ९ रन खर्चिदै २ विकट लिइन् । डेब्यु खेल खेलिरहेकी सोनी पाख्रिनले ४ ओभरमा ८ रन मात्र दिइन् तर, कुनै विकट लिन सकिनन् । यस्तै, सुमन विष्ट र रुबिना क्षत्री पनि विकट विहिन रइन् ।
त्यसअघि, टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १ सय १३ रन बनाएको थियो । नेपालका लागि पूर्व कप्तान रुविना क्षेत्रीले ३२ बलमा ५ चौकासहित सर्वाधिक ३८ रनको योगदान दिइन् ।
यस्तै, कप्तान इन्दू बर्माले ३१ बलमा २ चौकासहित २७ रनको योगदान दिइन् । इन्दु र रुविनाले तेस्रो विकेटका लागि ३० बलमा ४८ रनको आक्रामक साझेदारी गरेका थिए । नेपाली ओपनर पूजा महतोले २९ बलमा १ चौकासहित १३ रन बनाइन् ।
यस्तै, अर्को ओपनर सीता राना मगरले २० बलमा १ चौकासहित ९ रन जोडिन् । नेपालका लागि काजल श्रेष्ठले ७ बलमा ३ चौकाको मद्दतमा अविजित १५ रन बनाइन् । अश्मिना कर्माचार्य १ रनमा नट आउट रहिन् ।
जापानका लागि एलिना कुशुदा नाइरनले २ विकेट तथा मेग ओगावा र आयुमी फुजिकावाले समान १/१ विकेट लिएकी थिईन् । नेपाल र जापान जारी सिरिजको उपाधि भिडन्तबाट बाहिरिसकेका छन् । सिरिजमा आयोजक हङकङसँगै नेपाल, तान्जानिया र जापान सहभागी छन् ।
महिला टि-२० आई सिरिजमा नेपाल यसअघि पहिलो खेलमा बुधबार तान्जानियासित २७ रनले पराजित भएको थियो । तान्जानियाले पहिला ब्याटिङ गर्दै निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय १५ रन बनाएको थियो । नेपालले सवै विकेट गुमाएर मात्र ८८ रन बनाउन सक्यो ।
यस्तै, बिहीबार भएको दोस्रो खेलमा नेपाल हङकङसित ९ विकेटले पराजित भएको थियो । नेपालले निर्धारित २० ओभरको खेलमा १८ ओभरमा सवै विकेट गुमाएर ५६ रन मात्र बनाएको थियो । हङकङले ५७ रनको विजयी लक्ष्य ९ ओभरमा १ विकेट गुमाएर पूरा गरेको थियो ।
आइसिसी बरियतामा तान्जानिया १९ औँ स्थानमा, नेपाल २१ औँ स्थानमा, हङकङ २२ औँ स्थानमा तथा जापान ५१ औँ स्थानमा छन् । तान्जानिया र हङकङ उपाधिका लागि खेल्ने छन् भने नेपालले भोलि तेस्रो स्थानको लागि हुने प्लेअफमा जापान विरुद्ध नै खेल्नेछ ।