काठमाडौं । दक्षिण अफ्रिकालाई हराउँदै अष्ट्रेलिया आईसीसी एकदिवसीय विश्वकप क्रिकेट २०२३ को फाइनलमा पुगेको छ । इडेन गार्डेन कोलकातामा बिहिबार भएको दाेस्राे सेमिफाइनल खेलमा दक्षिण अफ्रिकालाई ३ विकेटले पराजित गर्दै अष्ट्रेलिया फाइनलमा प्रवेश गरेको हो ।
जितसँगै एकदिवसीय विश्वकपमा आठौं पटक फाइनलमा स्थान बनाएको अष्ट्रेलियाले अब उपाधिको लागि घरेलु टोली भारतसँग खेल्नेछ । दक्षिण अफ्रिकाले जितको लागि दिएको २ सय १३ रनको विजयी लक्ष्य पछ्याएको अस्ट्रेलियाले ४७.२ ओभरमा ७ विकेट गुमाएर पूरा गर्यो ।
अष्ट्रेलियाका लागि ओपनर ट्रविस हेडले ४८ बलमा ९ चौका र २ छक्कासहित सर्वाधिक ६२ रनको अर्धशतकीय इनिङ खेलेका थिए । यस्तै, अर्का ओपनर डेविड वार्नरले १८ बलमा १ चौका र ४ छक्कासहित २९ रनको आक्रमक इनिङ खेलेका थिए ।
अष्ट्रेलियालाई ओपनर डेविड वार्नर र ट्रविस हेडले पहिलो विकेटका लागि ६.१ ओभरमा ६० रनको साझेदारी गर्दै राम्रो सुरुवात दिलाएका थिए । डेविड वार्नर एडेन माक्ररमको बलमा बोल्ड आउट भएका थिए भने ट्रविस हेड स्पिनर केशव महाराजको बलमा बोल्ड आउट भएका थिए ।
मिचेल मार्श रबाडाको बलमा शुन्यमा क्याच आउट भएका थिए । ग्लेन म्याक्सवेल तबरेज शाम्सीको बलमा ठूलो सर्टको धुनमा एक रनमा बोल्ड आउट भएका थिए । स्टिभ स्मिथ ६२ वलमा २ चौकासहित ३० रनमा आउट भए भने मार्नस लाबुसेन ३१ बलमा २ चौकासहित १८ रनमा आउट भएका थिए ।
अष्ट्रेलियाका जोश इंग्लिस ४९ बलमा ३ चौकासहित २८ रनमा सातौं विकेटको रुपमा बोल्ड आउट भएका थिए । मिचेल स्टार्क ३५ बलमा २ चौकासहित १६ रनमा र प्याट कमिन्स २९ बलमा २ चौकासहित १४ रनमा नटआउट रहेका थिए ।
दक्षिण अफ्रिकाका लागि स्पिनर तबरेज शम्सीले १० ओभरमा ४२ रन खर्चेर २ विकेट लिएका थिए । यस्तै, जेराल्ड कोट्जीले दुई विकेट लिएका थिए भने स्पिनर केशव महाराज, एडेन माक्ररम र कागिसो रबाडाले समान १/१ विकेट लिएका थिए ।
त्यसअघि, टस जितेर पहिला ब्याटिङ रोजेको दक्षिण अफ्रिका ४९.४ ओभरमा २ सय १२ रनमा अलआउट भएको थियो । दक्षिण अफ्रिकाका लागि डेविड मिलरले १ सय १६ बलमा ८ चौका र ५ छक्कासहित १ सय १ रनको शतकीय इनिङ खेले पनि टोलिलाई जिताउनका लागि पर्याप्त हुन सकेन ।
हेनरिक क्लासेन ४८ बलमा ४ चौका र २ छक्कासहित ४७ रनमा आउट भएका थिए । एक समय २४-४ को अबस्थामा पुगेको टोलीलाई मिलर र क्लासेनले पाँचौ विकेटका लागि ९५ रनको महत्त्वपूर्ण साझेदारी गरेका थिए । दक्षिण अफ्रिकाका अन्य ब्याटरको प्रदर्शन भने राम्रो हुन सकेन ।
कप्तान टेम्भा बभुमा मिचेल स्टार्कको पहिलो ओभरको अन्तिम बलमा शुन्यमा विकेटकिपर जोश इंग्लिसबाट क्याच आउट भएका थिए । भारतमा जारी एकदिवसीय विश्वकपमा चार शतक हानेका क्विन्टन डि कक जोश हेजलवुडको छैटौं ओभरको चौथो बलमा ३ रनमा क्याच आउट भएका थिए ।
मिचेल स्टार्कको ११औं ओभरको पाँचौ बलमा एडेन माक्ररम १० रनमा डेविड वार्नरबाट क्याच आउट भएका थिए । अर्को ओभरमा जोश हेजलवुडको बलमा रास्सी भान डर डुसेन ६ रनमा स्टिभ स्मिथबाट क्याच आउट भएका थिए ।
जेराल्ड कोट्जी ३९ बलमा २ चौकासहित १९ रनमा क्याच आउट भएका थिए । जेराल्डले मिलरसँग मिलेर सातौं विकेटका लागि ५३ रनको साझेदारी गरेका थिए । स्पिनर ट्रविस हेडको ३१औं ओभरको चौथो बलमा क्लासेन बोल्ड आउट भए भने लगत्तै अर्को बलमा मार्को यानसन एलबीडब्लू आउट भएका थिए ।
अष्ट्रेलियाका लागि मिचेल स्टार्कले १० ओभरमा ३५ रन खर्चेर ३ विकेट लिएका थिए । यस्तै, प्याट कमिन्सले पनि ३ विकेट लिएका थिए । जोश हेजलवुडले ८ ओभरमा ३ मेडनसहित १२ रन खर्चेर २ विकेट लिएका थिए । स्पिनर ट्रविस हेडले ५ ओभरमा २१ रन खर्चेर २ विकेट लिएका थिए ।
अब अष्ट्रेलियाले उपाधिको लागि अहमदावादमा आइतबार घरेलु टोली भारतसँग खेल्नेछ । आयोजक भारतले पहिलो सेमिफाइनल खेलमा न्युजिल्यान्डलाई ७० रनले हराएको थियो । आईसीसी एकदिवसीय विश्वकपको अष्ट्रेलियाले ५ पटक र भारतले २ पटक उपाधी जितेका छन् । अष्ट्रेलिया र भारतले सन् २००३ को विश्वकप पछी फाइनल खेल्न लागेका हुन् ।