काठमाडौं । नेपाल चार देशसम्मीलित महिला टि-२० आई सिरिजमा घरेलु टोली हङकङसँग ९ विकेटले पराजित भएको छ । हङकङ क्रिकेट क्लबको मैदानमा लज्जास्पद ब्याटिङका साथ सिरिजमा लगातार दोस्रो हारसँगै नेपालको एक खेल अगावै फाइनल खेल्ने सम्भावना समाप्त भएको छ ।
नेपालले जितको लागि दिएको ५७ रनको सामान्य विजयी लक्ष्य पछ्याएको हङकङले ९ ओभरमा १ विकेट गुमाएर पूरा गर्यो । लगातार दोस्रो जितसँगै हङकङले सिरिजको फाइनलमा तान्जानियासँगको भेट पक्का गरेको छ ।
हङकङको जितमा ओपनर नताशा मिलेसले सर्वाधिक ३० रनको योगदान दिइन् । उनले २३ बल खेल्दै चार चौकाको मद्दतमा अविजित ३० रनको योगदान दिएकी हुन् । त्यस्तै शानजिन शहजादले अविजित २० रन बनाइन् । मारिको हिल ५ रनमा रनआउट भएकी थिईन् । उनलाई नेपालकी कप्तान इन्दु वर्माले रनआउट गराएकी थिईन् ।
त्यसअघि, टस जितेर पहिला ब्याटिङ गरेको नेपालले १८ ओभरमा सबै विकेट गुमाएर ५६ रनको योगफल बनाएको थियो । खराब ब्याटिङ गरेको नेपालको लागि रुबिना क्षेत्रीले सर्वाधिक २५ रन बनाइन् । उनले ३० बलमा ४ चौकाको मद्दतमा २५ रन बनाएकी हुन् ।
रुबिना बाहेक अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् । सीता रानामगरले ९ रन जोडिन भने रोमा थापाले ७ रन बनाइन् । नेपालले पाँच रनको कूल स्कोर जोड्दा चार विकेट गुमाएको थियो । नेपालले पहिलो विकेटका रुपमा ओपनर पूजा महतोलाई आठ बलमा चार रन जोड्दै गुमाएको थियो ।
सम्झना खड्कालाई नेपालले दोस्रो विकेटको रूपमा १ रनमा गुमायो । तेस्रो विकेटका रूपमा नेपालले काजल श्रेष्ठलाई गुमाएको थियो । उनी रनको खाता नै नखोली पेभिलियन फर्किइन् । चौथो नम्बरमा ब्याटिङ समाल्न आएकी नेपाली टोलीकी कप्तान इन्दू बर्मा पनि शून्य रनमै आउट भइन् ।
हङकङका लागि लक्रा साहरले सर्वाधिक ३ विकेट लिइन् भने रुचिथा भेनकातेसले २ विकेट लिइन् । त्यस्तै, बेटृी चान, मरिको हिल र करि चानले समान १/१ विकेट लिएकी थिईन् । यसअघि हिजो भएको पहिलो खेलमा नेपाल तान्जानियासँग २७ रनले पराजित भएको थियो ।
नेपालले अब समूह चरणको अन्तिम खेल मंसिर २ गते जापानसँग खेल्नेछ । श्रृंखलाका सबै खेल हङकङ क्रिकेट क्लबको मैदानमा हुनेछन् । शीर्ष दुई टोली हङकङ र तान्जानिया उपाधिका लागि भिड्नेछन् । पुछारका दुई टोलीले तेस्रो स्थानका लागि प्रतिस्पर्धा गर्नेछन् ।