काठमाडौं । न्युजिल्याण्डलाई हराउँदै आयोजक भारत आईसीसी एकदिवसीय विश्वकप क्रिकेट २०२३ को फाइनलमा पुगेको छ । वानखडे स्टेडियम मुम्बईमा बुधबार भएको पहिलो सेमिफाइनल खेलमा न्युजिल्याण्डलाई ७० रनले पराजित गर्दै घरेलु टोली भारत फाइनलमा प्रवेश गरेको हो ।
भारतले जितको लागि दिएको ३ सय ९८ रनको लक्ष्य पछ्याएको न्युजिल्याण्डले ४८.५ ओभरमा सबै विकेट गुमाएर ३ सय २७ रन बनायो । न्युजिल्याण्डका लागि डेरियल मिचेलले १ सय १९ बलमा ९ चौका र ७ छक्कासहित सर्वाधिक १ सय ३४ रनको शतकीय पारी खेले पनि टिमलाई जित दिलाउन सकेनन् ।
यस्तै, न्युजिल्याण्डका कप्तान केन विलियम्सन ७३ बलमा ७ चौका र १ छक्कासहित ६९ रनमा क्याच आउट भएका थिए । केन र मिचेलले तेस्रो विकेटका लागि १ सय ८१ रनको साझेदारी गरेका थिए । ग्लेन फिलिप्स ३३ बलमा ४ चौका र २ छक्कासहित ४१ रनमा आउट भएका थिए ।
न्युजिल्याण्डका अन्य ब्याटरले राम्रो रन बनाउन सकेनन् । घरेलु टोली भारतका लागि मोहम्मद शामीले ९.५ ओभरमा ५७ रन खर्चेर सर्वाधिक ७ विकेट लिएका थिए । यस्तै, जसप्रीत बुमराह, कुलदिप यादव र मोहम्मद शिराजले समान १/१ विकेट लिएका थिए ।
त्यसअघि, टस जितेर पहिला ब्याटिङ रोजेको भारतले निर्धारित ५० ओभरमा ४ विकेट गुमाएर ३ सय ९७ रन बनाएको थियो । भारतका लागि विराट कोहली र श्रेयस ऐयरले शतकीय इनिङ खेलेका थिए । कोहलीले एकदिवसीय अन्तर्राष्ट्रियमा कीर्तिमानी ५० औँ शतक बनाएका थिए ।
कोहलीले सचिन तेन्दुल्करको ४९ शतकको रेकर्ड तोडेका हुन् । कोहलीले १ सय १३ बलमा ९ चौका र २ छक्कासहित सर्वाधिक १ सय १७ रनको शतकिय इनिङ खेलेका थिए । यस्तै, युवा ब्याटर श्रेयस ऎरले ७० बलमा ४ चौका र ८ छक्कासहित १ सय ५ रनको विस्फोटक शतकीय इनिङ खेलेका थिए ।
भारतलाई कप्तान रोहित शर्माले २९ बलमा ४ चौका र ४ छक्कासहित ४७ रन जोड्दै उत्कृष्ट सुरुवात दिलाएका थिए । ओपनर युवा ब्याटर शुभमन गिल ६६ बलमा ८ चौका र ३ छक्कासहित ८० रनमा नट आउट रहेका थिए । त्यसअघि, गिल ७९ रन बनाउँदै ‘रिटायर्ड हर्ट’ भई पेभेलियन फर्किएका थिए ।
भारतको चौथो विकेट खसेपछि गिल पुनः क्रिजमा फर्किएका थिए । केएल राहुल २० बलमा ५ चौका र २ छक्कासहित ३९ रनमा नट आउट रहेका थिए । न्युजिल्याण्डका लागि टीम साउदीले १० ओभरमा १०० रन खर्चेर ३ विकेट लिएका थिए । ट्रेन्ट बोल्टले १० ओभरमा ८६ रन खर्चेर १ विकेट लिएका थिए ।
भारतले २०११ पछी पहिलो पटक फाइनलमा स्थान बनाएको हो । अब भारतले बिहिबार हुने अस्ट्रेलिया र साउथ अफ्रिकाबीचकाे दाेस्राे सेमिफाइनल खेलकाे विजेतासँग उपाधिकाे लागि खेल्नेछ । फाइनल खेल आइतबार हुनेछ ।