काठमाडौं । नेपालले आइसिसी टि-२० विश्वकप एसिया क्षेत्र फाइनल छनोटको खेलमा युएईलाई हराउँदै विश्वकपमा पुगेको छ । मूलपानी क्रिकेट मैदानमा शुक्रबार भएको सेमिफाइनल खेलमा यूएईलाई ८ विकेटले हराउँदै नेपालले विश्वकपमा स्थान सुरक्षित गरेको हो ।
जितसँगै नेपालले १० वर्षपछि टि-२० विश्वकपमा स्थान बनाएको छ । नेपालले २०१४ मा पहिलो टि-२० विश्वकप खेलेपनि त्यसपछि पुनःखेल्न सकेको थिएन । अघिल्लो पटक विश्वकपमा जानबाट रोकेको यूएईलाई फराकिलो अन्तरले हराउँदै नेपालले बदला पनि लिएको छ ।
युएईले जितको लागि दिएको १ सय ३५ रनको विजयी लक्ष्य पछ्याएको नेपालले १७.१ ओभरमा २ विकेट गुमाएर पूरा गर्यो । नेपालको जितमा ओपनर आसिफ शेखले ५१ बलमा ७ चौका र १ छक्कासहित ६४ रनको अर्धशतकीय इनिङ खेलेका थिए । कप्तान रोहितकुमार पौडेल २० बलमा २ चौका र २ छक्कासहित ३४ रनमा नटआउट रहेका थिए ।
नेपाललाई ओपनर कुशल भुर्तेल र आसिफ शेखले ३ ओभरमा २६ रनको साझेदारी गर्दै राम्रो सुरुवात दिलाएका थिए । स्पिनर निलांश केस्वानीको बलमा ठूलो सर्ट खेलेका कुशल भुर्तेल ८ बलमा २ चौकासहित लङअनमा मोहम्मद वासिमबाट ११ रनमा क्याच आउट भका थिए ।
बासिल हामिदले १०औँ ओभरको तेस्रो बलमा गुलशन झालाई २४ बलमा ३ चौकासहित २२ रनमा बोल्ड आउट गरेका थिए । दोस्रो विकेटका लागि गुलशन झा र आसिफ शेखले ४१ रनको साझेदारी गरेका थिए । युएईका लागि निलांश केस्वानी र बासिल हामिदले समान १/१ विकेट लिएका थिए ।
त्यसअघि, टस जितेर पहिला ब्याटिङ गरेको युएईले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ३४ रन बनाएको थियो । युएईका लागि वृत्य अरविन्दले ५१ बलमा ८ चौका र २ छक्कासहित सर्वाधिक ६४ रन बनाएका थिए । कप्तान मुहम्मद वासिमले १६ बलमा ३ चौका र २ छक्कासहित २६ रनको आक्रामक इनिङ खेलेका थिए ।
युएईका अन्य कुनैपनि खेलाडीले राम्रो प्रदर्शन गर्न सकेनन् । सन्दीप लामिछानेले १०औं ओभरको अन्तिम बलमा आसिफ खानलाई १३ रनमा एलबीडब्लू आउट गरेका थिए । कुशल मल्लको १४औं ओभरको चौथो बलमा ठूलो सर्ट खेलेका एलिशान शराफु १४ बलमा ३ चौकासहित १६ रनमा लङअफमा सोमपाल कामीबाट क्याच आउट भएका थिए ।
कप्तान रोहितकुमार पौडेलको १६औं ओभरको पाँचौं बलमा अली नासिर लङअफमा कुशल भुर्तेलबाट ४ रनमा क्याच आउट भएका थिए । युएईका बासिल हामिद र आयन खान समान १/१ रनमा आउट भएका थिए ।
नेपालका लागि कुशल मल्लले ३ ओभरमा ११ रन खर्चेर सर्वाधिक ३ विकेट लिएका थिए । सन्दीप लामिछानले ४ ओभरमा १ मेडनसहित १४ रन खर्चेर २ विकेट लिए । कप्तान रोहित पौडेलले १ ओभरमा ६ रन खर्चेर १ विकेट लिए । सोमपाल कामीले ३ ओभरमा १५ रन खर्चेर १ विकेट लिएका थिए ।
अब नेपालले उपाधिको लागि आइतबार फाइनल खेल ओमानसँग खेल्नेछ । ओमानले पहिलो सेमिफाइनल खेलमा बहराइनलाई १० विकेटले हराउँदै फाइनलमा स्थान बनाएको हो । फाइनल पुगेका दुई टोलीले २०२४ मा अमेरिका र वेस्टइन्डिजमा हुने टि-२० विश्वकपमा स्थान बनाएका छन् ।