काठमाडौँ । घरेलु टोली नेपालले आइसिसी टि-२० विश्वकप एसिया छनोटको सेमिफाइनल खेलमा युएईविरुद्ध पहिले फिल्डिङ गर्ने भएको छ । मुलपानी क्रिकेट मैदानमा शुक्रबार युएईले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएसँगै नेपालले पहिले फिल्डिङको निम्तो पाएको हो ।
नेपालले आजको प्लेइङ-११ मा एक परिवर्तन गरेको छ । दीपेन्द्रसिंह ऐरी खेल्दा सन्दीप जोरा बेन्चमा छन् । विजेता टोलीले २०२४ मा अमेरिका र वेस्टइन्डिजमा हुने टि-२० विश्वकप खेल्न पाउने छ । नेपालले आज दीपेन्द्रलाई खेलाउने जोखिम लिएको छ ।
नेपालका प्रमुख अलराउन्डर दीपेन्द्रसिंह ऐरी पहिलो खेल खेल्नुअघि सिंगापुरविरुद्ध सोमबार एंकलमा चोट लागेको थियो । नेपालले टसको समयपछि दीपेन्द्र घाइते भएपछि प्लेइङ-११ परिवर्तन गर्दै विवेक यादवलाई मौका दिएको थियो ।
नेपाल युएईलाई हराउँदै २०१४ पछि पहिलो पटक टि-२० विश्वकप खेल्ने सोचका साथ मैदान उत्रने छ । नेपाल समूह ए को उपविजेता र युएई समूह बी को विजेता बन्दै सेमिफाइनलमा भिड्न लागेका हुन् ।
नेपालले विश्वकप एसिया छनोटको समूह चरणमा सिंगापुरलाई ८ विकेटले, मलेसियालाई ६ विकेटले हराउँदा ओमानसँग पाँच रनले हारेको थियो । युएईले बहराइन र कुवेतलाई समान ५/५ विकेटले हराएको थियो भने हङकङलाई २२ रनले हराएको थियो ।
नेपाल र युएईबीच पछिल्ला दुई वर्षभित्र धेरै महत्वपूर्ण प्रतियोगिताका निर्णायक खेलमा भिडन्त भएको छ । नेपाल र युएईबीच टि-२० आईमा ८ खेल भएका छन् । नेपाल ४ खेलमा विजयी हुँदा ४ खेलमा पराजित भएको छ । पछिल्ला पाँच टि-२० आई खेलमा नेपाल युएईसँग तीन पटक पराजित भएको छ ।
नेपालको प्लेइङ ११ :
रोहितकुमार पौडेल (कप्तान), कुशल भुर्तेल, आसिफ शेख, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, गुलशन झा, सोमपाल कामी, करण केसी, अभिनाश बोहरा, विवेक यादव र सन्दीप लामिछाने