काठमाडौं । मलेसियामाथि शनदार जितसँगै आइसिसी टि-२० विश्वकप एसिया छनोटमा नेपालले सेमिफाइनलमा स्थान बनाएको छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा मंगलबार भएको खेलमा घरेलु टोली नेपालले मलेसियालाई ६ विकेटले पराजित गरेको हो ।
मलेसियाले जितको लागि दिएको १ सय ६६ रनको प्रतिस्पर्धात्मक विजयी लक्ष्य पछ्याएको नेपालले १८ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो । नेपालको जितमा कुशल मल्लले ३४ बलमा २ चौका र ७ छक्कासहित सर्वाधिक ६५ रनको अर्धशतकीय इनिङ खेलेका थिए ।
नेपालका लागि ओपनरद्धय कुशल भुर्तेलले २५ बलमा ४ चौका र ४ छक्कासहित ४३ रन र आसिफ शेखले २३ बलमा १ चौका र २ छक्कासहित ३२ रन जोड्दै सहज जितको आधार तय गरेका थिए । आसिफ शेख र कुशल भुर्तेलले पहिलो विकेटका लागि ५.२ ओभरमा ४९ रनको उत्कृष्ट साझेदारी गरेका थिए ।
कप्तान रोहितकुमार पौडेल २ रनमा आउट भएका थिए । सन्दीप जोरा १६ बलमा २ चौकासहित १८ रनमा र विवेक यादव २ रनमा अविजित रहेका थिए । मलेसियाका लागि अमिर अजिमले ३ ओभरमा १८ रन खर्चेर सर्वाधिक ३ विकेट लिएका थिए भने पवन दीपले १ विकेट लिएका थिए ।
त्यसअघि, टस जितेर पहिला ब्याटिङ रोजेको मलेसियाले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ६५ रन बनाएको थियो । मलेसियाका लागि ओपनर सैद अजिजले ४९ बलमा ८ चौका र २ छक्कासहित सर्वाधिक ६८ रनको अर्धशतकीय इनिङ खेलेका थिए ।
मलेसियाले नेपालविरुद्ध उत्कृष्ट सुरुवात गरेको थियो । मलेसियाका ओपनर अहमद जुबैदी र सैद अजिजले ५.५ ओभरमा ५८ रनको साझेदारी गर्दै उत्कृष्ट सुरुवात दिलाएका थिए । तर, त्यसपछिका मलेसियाका ब्याट्सम्यान खासै जम्न सकेनन् ।
अहमद जुबैदीले १६ बलमा ३ चौकासहित २४ रन बनाएका थिए । शार्विन मुनिआन्दी १३ रनमा र अहमद फैज ३ रनमा आउट भएका थिए । स्पिनर सन्दीप लामिछानेले विरनदीप सिंहलाई ४ रनमा एलबीडब्लू आउट गरेका थिए भने मोहम्मद आमिरलाई अभिनाश बोहराले ८ रनमा बोल्ड आउट गरेका थिए । फिर्ती सामले ६ रन र विजय उन्नीले १३ रन बनाएका थिए ।
नेपालका लागि तीव्र गतिका बलर अभिनाश बोहराले ४ ओभरमा २७ रन खर्चेर सर्वाधिक ४ विकेट लिएका थिए । स्पिनर सन्दीप लामिछानेले ४ ओभरमा २२ रन खर्चेर १ विकेट लिएका थिए । गुलशन झाले ३ ओभरमा १८ रन खर्चेर १ विकेट लिए । कप्तान रोहितकुमार पौडेलले २ ओभरमा १८ रन खर्चेर १ विकेट लिएका थिए ।
जितसँगै समूह 'ए' बाट नेपाल र ओमानले सेमिफाइनलमा स्थान बनाएका छन् । नेपाल र ओमानको समान चार अंक भएपनि नेपाल नेटरनरेटका कारण दोस्रो स्थानमा रहेको छ । समूह 'ए' मा नेपाल, मलेसिया, सिंगापुर र ओमान छन् । समूह 'बी' मा युएई, हङकङ, बहराइन र कुवेत रहेका छन् । हरेक समूहका शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् । फाइनल पुग्ने दुई टोलीले २०२४ मा अमेरिका र वेस्टइन्डिजमा हुने टि-२० विश्वकप खेल्न पाउने छन् ।