काठमाडौं । सिंगापुरलाई हराउँदै घरेलु टोली नेपालले आइसिसी टि-२० विश्वकप एसिया फाइनल छनोटमा विजयी सुरुवात गरेको छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सोमबार भएको खेलमा नेपालले सिंगापुरलाई ८ विकेटले पराजित गरेको हो ।
जितसँगै उपाधि दाबेदार नेपालले अंक तालिकामा महत्वपूर्ण दुई अंक जोडेको छ । सिंगापुरले जितको लागि दिएको १ सय ४६ रनको विजयी लक्ष्य पछ्याएको नेपालले १६.३ ओभरमा २ विकेट गुमाएर पूरा गर्यो । नेपालका लागि ओपनर कुशल भुर्तेलले ४८ बलमा ८ चौका र २ छक्कासहित सर्वाधिक ७४ रन बनाएका थिए ।
कुशल भुर्तेललेले टि-२० आई करिअरको सातौं अर्धशतक २६ बलमा पूरा गरेका थिए । घरेलु टोली नेपाललाई जितको लागि चार रन चाहिँदा अनन्त कृष्णलाई ठूलो सर्ट खेल्ने धुनमा कुशल लङअफमा क्याच आउट भएका थिए । कप्तान रोहितकुमार पौडेल २४ बलमा २ चौका र २ छक्कासहित ३५ रनमा क्रिजमा रहेका थिए ।
ओपनर आसिफ शेख २६ बलमा २ चौका र १ छक्कासहित २७ रनमा अक्षय पुरीको बलमा बोल्ड आउट भएका थिए । नेपालका लागि पहिलो बल खेलेका कुशल मल्लले छक्का हान्दै खेल सकाएका थिए । सिंगापुरका लागि अनन्त कृष्ण र अक्षय पुरीले समान १/१ विकेट लिएका थिए ।
त्यसअघि, टस जितेर पहिला ब्याटिङ रोजेको सिंगापुरले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ४५ रन बनाएको थियो । सिंगापुरका लागि ओपनर रोहन रंगराजनले ३० बलमा ९ चौका र १ छक्कासहित सर्वाधिक ४६ रन बनाएका थिए ।
डेब्यू खेल खेलेका आर्यवीर चौधरीले २६ बलमा ५ चौकासहित ३७ रन बनाएका थिए । सिंगापुरका कप्तान अरित्र दत्तलाई करण केसीले दोस्रो बलमै शून्यमा बोल्ड आउट गरेका थिए । अलराउन्डर जनक प्रकाश ७ रनमा एलबीडब्लू आउट भएका थिए । विकेटकिपर मनप्रीत सिंहले २६ बलमा ३ चौकासहित २४ रन बनाए । अक्षय पुरी ८ बलमा १ चौका र १ छक्कासहित १३ रनमा नट आउट रहेका थिए ।
नेपालका लागि अभिनाश बोहराले ४ ओभरमा १ मेडनसहित ४४ रन खर्चेर सर्वाधिक ३ विकेट लिएका थिए । गुलशन झाले ४ ओभरमा २१ रन खर्चेर २ विकेट लिए । सन्दीप लामिछानेले ४ ओभरमा १८ रन खर्चेर २ विकेट लिएका थिए । तीव्र गतिका बलरकरण केसीले ४ ओभरमा ३६ रन खर्चेर २ विकेट लिएका थिए । नेपालका अलराउन्डर दीपेन्द्रसिंह ऐरी खेल सुरु हुनुअघि अभ्यास खेलको क्रममा घाइते भएपछि प्लेइङ ११ मा दीपेन्द्रको स्थानमा विवेक यादवले खेलेका थिए ।
अव नेपालले दोस्रो खेल मंगलबार मलेसियासँग र तेस्रो खेल बिहीबार ओमानसँग खेल्नेछ । समूह 'ए' मा नेपाल, मलेसिया, सिंगापुर र ओमान छन् । समूह 'बी' मा युएई, हङकङ, बहराइन र कुवेत रहेका छन् । हरेक समूहका शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् । फाइनल पुग्ने दुई टोलीले २०२४ मा अमेरिका र वेस्टइन्डिजमा हुने टि-२० विश्वकप खेल्न पाउने छन् ।