काठमाडौं । नेपालले आइसिसी टि-२० विश्वकप एसिया फाइनल छनोट क्रिकेटमा सिंगापुरविरुद्ध टस हारेको छ । त्रिवि अन्तर्राष्ट्रिय मैदानमा सिंगापुरका कप्तान अरित्र दत्तले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका छन् ।
उपाधिको प्रमुख दाबेदार नेपाल सिंगापुरलाई हराउँदै प्रतियोगितामा सानदार सुरुवात गर्न चाहन्छ । नेपालको कप्तानी रोहितकुमार पौडेल र सिंगापुरको कप्तानी अरित्र दत्तले गर्ने छन् । नेपालका स्पिनर सन्दीप लामिछाने टोलीमा फर्किदा ललित राजवंशी बेन्चमा बसेका छन् ।
नेपालका दीपेन्द्रसिंह ऐरी, सन्दीप लामिछाने र कुशल मल्ल प्रमुख हतियार हुन् । सिंगापुरका ओपनर सुरेन्द्रन चन्द्रमोहन प्रमुख हतियार हुन् । चन्द्रमोहनको प्रदर्शन टोलीका लागि निकै महत्वपूर्ण हुनेछ । सिंगापुरका तीव्र गतिका बलर जनक प्रकाश, रोहन रंगराजन र अरित्र दत्त पनि घातक बन्न सक्छन् ।
सन् २०१४ मा पहिलो पटक विश्वकप खेलेको नेपालले हङकङ र अफगानिस्तानलाई हराउँदै सनसनी मच्चाएको थियो । हेड टु हेडमा नेपाल र सिंगापुरबीच चार टि-२० आई खेल भएका छन् । जसमा दुई खेल वर्षाको कारण रद्ध भएका थिए । नेपाल र सिंगापुरको समान एक खेलमा जित र हार रहेको छ ।
आइसिसी टि-२० विश्वकप एसिया फाइनल छनोटमा आज पहिलो दिन चार खेल हुनेछन् । मुलपानी मैदानमा बिहान ९ बजे बहराइन र युएईबीच प्रतिस्पर्धा हुनेछ । टियु मैदानमा दिउँसो १:१५ मा ओमान र मलेसियाबीच प्रतिस्पर्धा हुनेछ । मुलपानी मैदानमा दिउँसो १:१५ मा हङकङले कुवेतसँग खेल्नेछ ।
समूह 'ए' मा नेपाल, मलेसिया, सिंगापुर र ओमान रहेका छन् । समूह 'बी' मा युएई, हङकङ, बहराइन र कुवेत रहेका छन् । हरेक समूहका शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् । फाइनल पुग्ने दुई टोलीले २०२४ मा अमेरिका र वेस्टइन्डिजमा हुने टि-२० विश्वकप खेल्न पाउनेछन् ।
नेपालको प्लेइङ ११ :
रोहितकुमार पौडेल (कप्तान), आसिफ शेख (विकेटकिपर), कुशल भुर्तेल, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, सन्दीप जोरा, सोमपाल कामी, करण केसी, गुलशन झा, सन्दीप लामिछाने र अभिनाश बोहरा ।