काठमाडौं । आइसिसी टि-२० विश्वकप एसिया फाइनल छनोट क्रिकेट आज सोमबारदेखि त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान र मूलपानी क्रिकेट मैदानमा सुरु हुँदैछ । आज नेपालले पहिलो खेलमा सिङ्गापुरसँग प्रतिस्पर्धा गर्दैँछ । खेल बिहान ९ बजे त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुरु हुनेछ ।
उपाधिको प्रमुख दाबेदार नेपाल सिंगापुरलाई हराउँदै प्रतियोगितामा सानदार सुरुवात गर्न चाहन्छ । नेपालको कप्तानी रोहितकुमार पौडेल र सिंगापुरको कप्तानी अरित्र दत्तले गर्ने छन् । आज ओपनर कुशल भुर्तेल र आसिफ शेखबाट नेपाल उत्कृष्ट सुरुवात चाहन्छ ।
नेपालका दीपेन्द्रसिंह ऐरी, सन्दीप लामिछाने र कुशल मल्ल प्रमुख हतियार हुन् । सिंगापुरका ओपनर सुरेन्द्रन चन्द्रमोहन प्रमुख हतियार हुन् । चन्द्रमोहनको प्रदर्शन टोलीका लागि निकै महत्वपूर्ण हुनेछ । सिंगापुरका तीव्र गतिका बलर जनक प्रकाश, रोहन रंगराजन र अरित्र दत्त पनि घातक बन्न सक्छन् ।
सन् २०१४ मा पहिलो पटक विश्वकप खेलेको नेपालले हङकङ र अफगानिस्तानलाई हराउँदै सनसनी मच्चाएको थियो । हेड टु हेडमा नेपाल र सिंगापुरबीच चार टि-२० आई खेल भएका छन् । जसमा दुई खेल वर्षाको कारण रद्ध भएका थिए । नेपाल र सिंगापुरको समान एक खेलमा जित र हार रहेको छ ।
आइसिसी टि-२० विश्वकप एसिया फाइनल छनोटमा आज पहिलो दिन चार खेल हुनेछन् । मुलपानी मैदानमा बिहान ९ बजे बहराइन र युएईबीच प्रतिस्पर्धा हुनेछ । टियु मैदानमा दिउँसो १:१५ मा ओमान र मलेसियाबीच प्रतिस्पर्धा हुनेछ । मुलपानी मैदानमा दिउँसो १:१५ मा हङकङले कुवेतसँग खेल्नेछ ।
समूह 'ए' मा नेपाल, मलेसिया, सिंगापुर र ओमान रहेका छन् । समूह 'बी' मा युएई, हङकङ, बहराइन र कुवेत रहेका छन् । हरेक समूहका शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् । फाइनल पुग्ने दुई टोलीले २०२४ मा अमेरिका र वेस्टइन्डिजमा हुने टि-२० विश्वकप खेल्न पाउनेछन् ।
नेपालको टोली :
रोहितकुमार पौडेल (कप्तान), कुशल भुर्तेल, आसिफ शेख, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, सन्दीप जोरा, गुलशन झा, सोमपाल कामी, करण केसी, अभिनाश बोहरा, प्रतिश जि.सी, विवेक यादव, सन्दीप लामिछाने, ललित राजवंशी र विनोद भण्डारी ।
सिंगापुरको टोली :
अरित्र दत्त (कप्तान), रोहन रंगराजन, सुरेन्द्र चन्द्रमोहन, अनिश पराम, मनप्रीत सिंह, जनकप्रकाश, अक्षक रुपक पुरी, थिलिप थिलाप्पन, रमेश कलिमुथु, अनान्था कृष्णा, उत्सव रक्षित, अर्यान रसेल मेनन, अमात्र्य कौल, अर्याविर चौधरी र हर्ष भारद्धाज ।