काठमाडौं । फाइनल खेलमा नेपालमाथि रोमान्चक जितसँगै युएईले त्रिदेशीय टि-२०आई सिरिजको उपाधि जितेको छ । शुक्रबार टियु क्रिकेट मैदानमा भएको खेलमा नेपाललाई ४ विकेटले हराउँदै यूएईले सिरिज हात पारेको हो ।
घरेलु टोली नेपालले जितको लागि दिएको १ सय ६३ रनको विजयी लक्ष्य पछ्याएको युएईले १९.५ ओभरमा ६ विकेट गुमाएर पुरा गर्यो । युएईलाई जितको लागि अन्तिम दुई बलमा दुई रन चाहिँएको थियो । बासिल हमिदले १ बल अगावै स्टेटमा छक्का हान्दै युएईलाई रोमान्चक जित दिलाएका थिए ।
बसिल हमिद २२ रनमा र आयान अफजल खान पाँच रनमा नटआउट रहेका थिए । त्यसअघि, कप्तान समेत रहेको ओपनर मुहमद वासिमले २२ बलमा ४५ रन बनाएर यूएईलाई राम्रो सुरुवात दिलाएका थिए । ओपनर आयांश शर्माले २५ रन र वृत्य अरविन्दले २६ रनको योगदान दिएका थिए ।
यूएईका लागि ओपनर मुहमद वासिम र अर्यांश शर्माले ६.४ ओभरमा ७१ रनको साझेदारी गर्दै उत्कृष्ट सुरुवात दिलाएका थिए । एलिशान शराफु १३ रनमा र आसिफ खान ७ रनमा आउट भएका थिए । नेपालका लागि गुल्सन झा र अविनाश बोहराले समान २/२ विकेट तथा कुशल मल्लले १ विकेट लिएका थिए ।
त्यसअघि, टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ६२ रन बनाएको थियो । नेपालका लागि ओपनर कुशल भुर्तेलले २९ बलमा ६ चौका र ३ छक्कासहित सर्वाधिक ५० रनको योगदान दिएका थिए । भुर्तेलको यो टि-२० आई करिअरको छैटौं अर्धशतक हो ।
नेपाललाई ओपनर आसिफ शेख र कुशल भुर्तेलले ५ ओभरमा ४३ रन जोड्दै राम्रो सुरुवात दिलाएका थिए । यूएईका स्पिनर आयन खानले आसिफ शेखलाई ७ रनमा बोल्ड आउट गरेका थिए । आयनले नै कुशल मल्ललाई एक रनमा बोल्ड आउट गरेका थिए ।
कप्तान रोहितकुमार पौडेल १७ बलमा १ चौकासहित १८ रनमा विकेटकिपर अर्यांश शर्माबाट क्याच आउट भएका थिए । दीपेन्द्रसिंह ऐरी १५ बलमा १ चौका र १ छक्कासहित २० रनमा बोल्ड आउट भएका थिए । सन्दीप जोरा १० रनमा क्याच आउट भएका थिए ।
सोमपाल कामी १३ रनमा र गुल्सन झा ५ रनमा आउट भएका थिए । करन केसीले १७ बलमा २ चौका र १ छक्कासहित २३ रन बनाउँदै नेपालको इनिङ्सलाई केही उकासेका थिए । अविनाश बोहोरा शुन्य रनमा अविजित रहेका थिए ।
युएईका लागि आयन खानले ४ ओभरमा १६ रन खर्चेर सर्वाधिक ३ विकेट लिएका थिए । अली नासिरले ४ ओभरमा ३६ रन खर्चेर २ विकेट लिए । जहुर खानले ४ ओभरमा २६ रन खर्चेर २ विकेट लिए भने जुनैद सिद्दिकले ४ ओभरमा ४४ रन खर्चेर १ विकेट लिएका थिए ।
नेपालले त्रिदेशीय टि-२० आई सिरिजमा लिगका चारै खेल जितेको थियो । नेपालले सिरिजको पहिलो खेलमा युएईलाई ७ विकेटले पराजित गरेको थियो भने सिरिजको दोस्रो खेलमा हङकङलाई ६ विकेटले हराएको थियो । त्यस्तै, नेपालले तेस्रो खेलमा हङकङलाई ७९ रनले पराजित गरेको थियो भने लिग चरणको अन्तिम खेलमा यूएईलाई ५ विकेटले हराएको थियो ।
अव सोमबार देखी आइसिसी टि-२० विश्वकप एसिया क्षेत्र छनोटको खेल सुरु हुनेछ । समूह 'ए' मा नेपाल, ओमान, सिंगापुर र मलेसिया रहेका छन् । समूह 'बी' मा हङकङ, युएई, बहराइन र कुवेत रहेका छन् । एसिया क्षेत्र छनोटको फाइनल पुग्ने दुई टोली २०२४ मा हुने टि-२० विश्वकप खेल्न पाउने छन् ।