काठमाडौं । यूएईलाई फाइनलमा हराउँदै नेपालले एसिसी यू-१९ प्रिमियर कपको उपाधि जितेको छ । मंगलबार मलेसियाको बायोमास ओभलमा डकवर्थ लेविस पद्धति (डीएलएस) आधारमा युएईलाई १९ रनले हराउँदै नेपाल च्याम्पियन बनेको हो ।
नेपालले जितको लागि दिएको २ सय ८१ रनको विशाल विजयी लक्ष्य पछ्याएको युएईले ११ ओभरमा २ विकेट गुमाएर ५० रन बनाएको अवस्थामा वर्षाको कारण खेल रोकिएको थियो । त्यसपछि, वर्षाले लामो समय खेल रोकिँदा युएईले २७ ओभरमा १ सय ९८ रनको नयाँ लक्ष्य पाएको थियो ।
यूएईका लागि ध्रुब परेशारलले ४९ बलमा ५ चौका र २ छक्कासहित सर्वाधिक ५९ रनको अर्धशतकीय पारी खेलेका थिए । अर्यांश शर्माले ३७ बलमा ३ चौका र १ छक्कासहित ३२ रन र कप्तान आयन खानले २४ बलमा १ चौका र २ छक्कासहित ३० रन बनाएका थिए । युएईका अन्य ब्याटरले राम्रो गर्न सकेनन् ।
नेपालका लागि आकाश त्रिपाठीले ५ ओभरमा ३६ रन खर्चेर सर्वाधिक ४ विकेट लिएका थिए । त्यस्तै सुवास भण्डारीले ५ ओभरमा ३९ रन खर्चेर ३ विकेट लिएका थिए । आकाश चन्दले ५.५ ओभरमा १ मेडनसहित २९ रन खर्चेर २ विकेट लिए भने हेमन्त धामीले १ विकेट हात पारेका थिए ।
त्यसअघि, टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २ सय ८० रन बनाएको थियो । नेपालका लागि कप्तान देव खनालले ९२ बलमा ९ चौका र ३ छक्कासहित सर्वाधिक १ सय रनको शतकीय इनिङ खेलेका थिए । देवको यो यू-१९ करिअरको तेस्रो शतक हो ।
यो शतकसँगै देव नेपालबाट यू-१९ मा सर्वाधिक शतक बनाउने खेलाडी बनेका छन् । देवले यसै प्रतियोगितामा इरानविरुद्ध १ सय रनको शतकीय इनिङ खेलेका थिए । देवले गत फागुनमा आइसिसी यू-१९ विश्वकप एसिया क्षेत्र छनोटमा कुवेतविरुद्ध १ सय २५ रन बनाएका थिए ।
नेपालबाट अर्जुन कुमालले यू-१९ मा दुई शतक बनाएका छन् । नेपालका अन्य कुनैपनि ब्याटरले यू-१९ मा दुई शतक हानेका छैनन् । आजको फाइनल खेलमा ओपनर अर्जुन कुमालले ७८ बलमा ४ चौकासहित ५५ रनको अर्धशतकीय पारी खेलेका थिए ।
कमजोर सुरुवात गरेको नेपाललाई अर्जुन कुमाल र कप्तान देव खनाल मिलेर तेस्रो विकेटका लागि १ सय ३२ बलमा १ सय २५ रनको शतकीय साझेदारी गरेका थिए । नेपालका ओपनर दीपक बोहरा ५ रनमा र आकाश त्रिपाठी शून्यमा आउट भएका थिए ।
फाइनल खेलमा खेल्ने मौका पाएका विकेटकिपर उत्तम थापा मगरले ६७ बलमा ४ चौका र १ छक्कासहित ५७ रनको अर्धशतकीय पारी खेलेका थिए । दीपक डुम्रे ३० बलमा २ चौका र १ छक्कासहित २८ रनमा आउट भएका थिए । पाँचौं विकेटका लागि उत्तम र दीपकले ५८ रनको साझेदारी गरेका थिए ।
हेमन्त धामी ७ रनमा र विशाल विक्रम केसी ३ रनमा आउट भएका थिए । दीपेश कँडेल ७ बलमा १ चौकासहित १० रनमा अविजित रहेका थिए । युएईका लागि हरित शेठ्ठीले ८ ओभरमा ४५ रन खर्चेर सर्वाधिक ५ विकेट लिएका थिए । कप्तान आयन खानले १० ओभरमा ४३ रन खर्चेर २ विकेट लिएका थिए ।
एसिसी यू-१९ प्रिमियर कपमा नेपाल अपराजित रहँदै च्याम्पियन भएको हो । उपाधिसँगै नेपाल एसिया कपमा पनि छनोट भएको छ । एसिसी यू-१९ प्रिमियर कपबाट नेपालसँगै यूएई र जापानले एसिया कपमा स्थान बनाएका छन् ।
यू-१९ एसिया कप आगामी डिसेम्बरमा पाकिस्तानमा हुनेछ । यू-१९ एसिया कपको समूह ‘ए’ मा नेपालले पाकिस्तान र भारतसँगै यूएईसँग खेल्नेछ । समूह ‘बी’ मा अफगानिस्तान, बंगलादेश, श्रीलंका र जापान रहेका छन् ।