काठमाडौं । आयोजक नेपालले यूएईलाई दोस्रो भेटमा पनि हराउँदै अपराजित रहेर त्रिदेशीय टि-२०आई सिरिजको फाइनलमा प्रवेश गरेको छ । मुलपानी क्रिकेट मैदानमा सोमबार भएको लिग चरणको आफ्नो अन्तिम खेलमा घरेलु टोली नेपालले यूएईलाई ५ विकेटले हराएको हो ।
फाइनल पुगिसकेको नेपाललाई यूएईले जितको लागि दिएको १ सय ६५ रनको विजयी लक्ष्य नेपालले १९.२ ओभरमा ५ विकेट गुमाएर पुरा गर्यो । नेपालका लागि ओपनर असिफ शेखले ५० बलमा ६ चौका र २ छक्कासहित सर्वाधिक ६२ रनको अर्धशतकीय इनिङ खेलेका थिए ।
कप्तान रोहितकुमार पौडेल ४२ बलमा ४७ रन जोड्दै १८ औं ओभरमा पेभेलियन फर्केका थिए । सुरुवाती तीन ब्याट्सम्यानलाई सस्तैमा गुमाएर दबाबमा आएको नेपालको इनिङ्सलाई ओपनर असिफ शेखले कप्तान रोहितकुमार पौडेलसँग मिलेर ९९ रनको उत्कृष्ट साझेदारी गर्दै खेल उकासेका थिए ।
त्यसपछि, दीपेन्द्रसिंह ऐरीले १५ बलमा ६ चौकर १ छक्कासहित अविजित ४० रन जोड्दै नेपाललाई जितसम्म पुर्याएका थिए । गुल्सन झा १ रनमा नटआउट रहेका थिए । यूएईका लागि मोहम्मद जवादुल्लाहले दुई विकेट लिए भने अकिफ राजा र जहूर खानले समान १/१ विकेट लिएका थिए ।
त्यसअघि, टस हारेर पहिला ब्याटिङको निम्तो पाएको युएईले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ६४ रन जोडेको थियो । यूएईका लागि बसिल हमिदले १९ बलमा २ चौका र ५ छक्कासहित ४५ रन र वृत्य अरविन्दले ५१ बलमा ४ चौकासहित ४५ रनको योगदान गरे पनि त्यो जितका लागि पर्याप्त हुन सकेन ।
असिफ खानले १७ बलमा १८ रन बनाएका थिए भने खालिद साहले ५ बलमा १२ रन बनाएका थिए । यूएईका अन्य ब्याटरले दोहोरो अंकको स्कोर छुन सकेनन् । नेपालका लागि सोमपाल कामी र अभिनास बोहोराले समान २/२ विकेट लिए भने करण केसी र गुल्सन झाले समान १/१ विकेट लिएका थिए ।
नेपालले यसअघि भएको सिरिजको पहिलो खेलमा युएईलाई ७ विकेटले पराजित गरेको थियो भने सिरिजको दोस्रो खेलमा हङकङलाई ६ विकेटले हराएको थियो । त्यस्तै नेपालले तेस्रो खेलमा हङकङलाई ७९ रनले पराजित गरेको थियो । अब नेपालले यूएई र हङकङमध्ये एकसँग फाइनल खेल खेल्नेछ ।
बुधबार यूएई र हङकङले प्रतिस्पर्धा गर्नेछन् । सिरिजको फाइनल खेल (अक्टोबर २७) कात्तिक १० गते शुक्रबार दिउँसो ११ बजे त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान कीर्तिपुरमा हुनेछ । सिरिजमा अपराजित नेपालको ४ खेलबाट ८ अंक हुँदा यूएईको ३ खेलमा २ अंक रहेको छ भने हङकङ अंकविहिन रहेको छ ।